अमेरिका पठाइदिन्छु भन्दै मानव तस्करीमा संलग्न एक जना पक्राउ

काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनी भन्दै चार जना पीडितबाट पटक–पटक गरी रु एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

निजले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकामा त्यहाँको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुनः दिल्ली पुर्‍याई होटलमा बन्धक बनाइएको र पीडितहरुले रु ३९ लाख बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रनाम ढकालले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उनले बताए ।– रासस

प्रतिक्रिया