नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको मधेस समिति सर्वसम्मत

धनुषा । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको मधेस प्रदेश समिति सर्वसम्मत चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो मधेस प्रादेशिक अधिवेशनबाट महोतरीको विजयकुमार यादवको नेतृत्वमा तत्काल १४ सदस्सीय प्रदेश कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा पर्साका भैयाराम पटेल, सचिवमा महोतरीका रामशुसिल मिश्र, सहसचिवमा सप्तरीका दिनेश प्रसाद गुप्ता र कोषाध्यक्षमा धनुषाका सुनीलकुमार मिश्र सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा पदाधिकारी नभएका जिल्लाहरूमा दुई सदस्य गरी मधेसका अन्य सबै जिल्लाका सदस्यहरूसमेत गरी सहमतिमा कार्यसमिति चयन गरिएको तथा रौतहटबाट छिट्टै सदस्य थपिने निर्वाचन समितिका संयोजक कांग्रेसका युवा नेता मनोजकुमार चौधरीले बताए ।

कांग्रेस मधेस प्रदेशका उपसभापति तथा मधेस सरकारका पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहको विशेष उपस्थिति तथा संघका केन्द्रीय सभापति योगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्षद्वय विजयबहादुर स्वाँर र हरिनारायण यादव तथा महासचिव केदार पौडेल, जनकपुरधामका मेयर मनोजकुमार साह, धनुषा उपसभापति गणेश झासहितको उपस्थिति रहेको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको चौधरीले बताए ।
२०७९ सालमा कांग्रेसको शुभेच्छुक संगठनको रूपमा आवद्वता पाए पनि संघको मधेस समिति गठन हुन सकेको थिएन ।

प्रतिक्रिया