बजेट चलाउने अधिकार नपाएका महिलाको सामूहिक आवाज

जनकपुरधाम । महिला र दलित महिला वडा सदस्यहरूले महिलालाई बजेट चलाउने अधिकार दिनका लागि सामूहिक आवाज उठाएका छन् ।
माण्डवी नामक गैरसरकारी संस्थाले रौतहटको चपुरमा ‘शी लिड्स’ (महिला नेतृत्व कार्यक्रम) अन्तर्गत आयोजना गरेको निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१६ की दलित महिला सदस्य शान्तिदेवी दासले महिलाले बजेट चलाउने र बजेटबारे बुझ्ने अधिकार अझै पाउन नसकेको बताइन् ।

मिथिला नगरपालिका–११ की दलित महिला सदस्य बिन्दुभित्री कोटीले पनि बजेटमा सहभागिता हुन नसकेको भन्दै महिला सशक्त भइरहेको परिवेश देख्न नसक्ने जमात अझै हावी रहेको बताइन् । महोतरी बर्दिवास नगरपालिका–३ की सदस्य सपना राणा र सर्लाही बरहथवा नगरपालिका–९ की ज्ञानु लामासहित मधेसको पर्सा, सिरहा र सप्तरी बाहेककी ५ जिल्लाकी महिला वडा सदस्यहरू आफूहरूलाई बहुमत पु¥याउने हस्ताक्षरकर्ता मात्र बुझिने गरेको बताए ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले राष्ट्रिय सभा र प्रतिनिधिसभामा महिला र पुरुष प्रतिनिधिले उठान गर्ने विषय र मुद्दाहरूमा आकाश पातालको भिन्नता हुने गरेको भए पनि सञ्चार माध्यम र पत्रकार महिलाभन्दा पुरुषको कोड र मुद्दालाई प्राथमिकता दिने गरेको दृष्टान्त सुनाइन् । दबाइएर राखिएको महिला सहितका जमातलाई सञ्चारजगतले प्राथमिकता र सकारात्मक रूपमा नलिएसम्म परिवर्तन जटिल रहेको उनको तर्क थियो ।

प्रतिक्रिया