बाग्मतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

काठमाडौँ । सोमबारदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषामा नेपाल र तामाङ भाषालाई पनि समावेश गरेको छ । गत २२ असोजमा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । त्यसैलाई सोमबारबाट औपचारिकता दिइएको हो ।

राजपत्रमा प्रकाशित भएको १८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् सोमबारदेखि ऐन कार्यान्वयन गरिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सोमबार काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको हो । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अंगीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।

भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम ४ भाषामा लेखिने उनले बताए । उनका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अंग्रे्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ ।

प्रतिक्रिया