नवलपरासीमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका– १६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो ।

प्रहरीले कँहारलाई आज बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिक– ६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमतीबिच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्ष अगाडि विवाह भएका उनीहरुका दुई छोरा छन् ।

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग ६ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए ।

सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।– रासस

प्रतिक्रिया