नेपालमा इन्ड्राइभको आधिकारिक रुपमा सेवा सुरु

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिइन् ।

‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’, उनले भनिन् । उनले केही समयपछि चालक र यात्रुको बिमा पनि गरिने बताइन् । राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत उनले जानकारी दिइन् ।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौं, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।

कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ । इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’– रासस

प्रतिक्रिया