गर्मी लागेसँगै सुकुमबासी बस्तीमा त्रास !

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको महसुस हुन्छ । शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठुला रूख कतिबेला घरको छानामाथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ । वषौँदेखि सुकेका रूख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन । गर्मी मौसममा हुने आगलागीको जोखिम पनि सुकुमबासी बस्तीमा उत्तिकै रहेको उनी बताउँछिन् ।

‘गर्मी मौसममा हावाहुरीले रूख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन् । त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ,’ उनी भन्छिन्, ‘गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।’ देशभर आगलागीका घटना भएको समाचारले शारदालाई चिन्ता थप्ने गरेको छ । वर्षौंदेखि पुनस्र्थापनको पर्खाइमा बसेकी शारदा जस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा छन् ।

टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुमबासी आज पनि आफूहरूको पुनस्र्थापन हुन्छ भन्ने आशामा छन् । टीकापुर नगर विकास समितिको मातहतमा रहँदा सो क्षेत्र जंगल थियो । क्याम्पसको नाममा हस्तान्तरण भएको केही समयमै ३०० बिघा जग्गा अतिक्रमणमा परेपछि बर्सेनि स्थानीयले रूखको फेदको बोक्रा निकालेर रूख सुकाउने काम गरेका कारण आज उजाड बनिसकेको छ । अहिले शिविरको बस्तीमा सुकेका रूख ठिंग्रिङ ठडिएका छन् ।

शिविरमा हरिया रूख नभए पनि सुकेका रूख कतिबेला ढल्ने हुन भन्ने पत्तो हुँदैन । कतैबाट आगोको झिल्को शिविरमा पर्नेबित्तिकै सबै खरानी हुने स्थिति छ । गर्मी मौसममा आउने हावाहुरीले त्यसरी सुकेका रूख ढल्ने र घरमुनि खसेर यसअघि कैयौँ धनजनको क्षति भइसकेको छ ।

सोही शिविरमा १६ वर्ष बिताएकी विन्दु परियारको पीडा पनि शारदाको भन्दा फरक छैन । ‘हावाहुरी आउँदा घरबाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातको समयमा कता भाग्ने ?,’ विन्दु भन्छिन्, ‘अन्त कतै जाउँ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ । आजभोलि त हावाहुरीभन्दा आगलागीको त्रास बढी हुने गरेको छ ।’ सरकारले आफूहरूको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उनको बुझाइ छ ।

एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अनुसार २०७६ सालमा हावाहुरीका कारण रूख घरमाथि ढल्दा १ जनाको ज्यान गयो । रातको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट ग¥यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ । ज्यान हत्केलामा राखेर, मृत्युसँग लडेर बाध्यताको बसाइ बस्नुपरेको उनको भनाइ छ ।

‘सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन । हामी सुकुमबासीलाई अझै सुकुमबासी बनाउन कैयौँ लागिपरेका छन्,’ उनी दुखेसो पोख्दै भन्छन्, ‘प्राकृतिक विपत्तिले दिने दुःख मात्रै होइन, मानिसहरूले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।’

शिविरमा घरहरू माटो र खरले निर्माण भएका छन् । माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी तथा आगलागीमा मात्रै नभई वर्षाको बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । बर्खा हुँदा अधिकांश घर डुबानमा पर्छन् । घर डुबानमा पर्नेमात्र नभई अधिकांश घर भत्किन्छन् ।

‘हिउँदमा घर निर्माण गर्दा एक बर्खा टिक्छ कि टिक्दैन भन्ने चिन्ता हुन्छ, अर्कातिर किराफट्यांग्राको त्रास त्यस्तै हुन्छ,’ स्थानीय रेशम चौधरी भन्छन्, ‘कहिले सरकारले हाम्रो व्यवस्थापन गर्ला भनेर कुरेर बसेको दशक हुँदा पनि हाम्रो व्यवस्थापन अझै हुन सकेको छैन ।’

उनले आज पनि राज्यले सुकुमबासीलाई जग्गाको मालिक बनाउने आशा जीवित रहेको बताए । त्यतिमात्र होइन, शिविरमा स्वच्छ खानेपानी छैन । स्वच्छ खानेपानीको उपलब्धता नहुँदा संक्रामक रोग फैलिन सक्ने जोखिम बढ्दै जाने स्थानीय बताउँछन् ।

वर्षौंदेखि जग्गा पाउने आशामा बसेका सुकुमबासीले राष्ट्रिय भूमि आयोगको फारम पनि भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरूले जग्गाको निस्सासमेत प्राप्त गरिसकेका छन् । उनीहरूले बसोबास गरिरहेको जग्गा पाउनुपर्ने माग पनि गर्दै आएका छन् ।

उक्त जग्गा क्याम्पसका नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ । ‘दशक लामो समयदेखि यही जग्गामा हामीले सुखदुःख नभनेर बसेका छौँ, कैयौँ आफन्तलाई कैयौँ प्राकृतिक विपत्तिमा गुमाउनुको पीडा हामीसँग छ,’ स्थानीय डम्बर विश्वकर्मा भन्छन्, ‘हामी यसै ठाउँमा बस्छौँ, सरकारले बसेको स्थानलाई आधार बनाएर लालपुर्जा दिनुपर्छ ।’

नगरपालिकाको वडा–१ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विक बताउँछन् । ‘फारम भर्नेदेखि निस्सा वितरणसम्मको काम हामीले सकेका छौँ, त्यसपछि जग्गाको नापजाँच गर्ने र उहाँहरूलाई जग्गा उपलब्ध गराउने काममा नगरपालिकाले प्रक्रिया अगाडि बढाउँछ ।’ सुकुमबासीले अतिक्रमण गरेको ३०० बिघा जग्गाको दाबी गर्दै टीकापुर बहुमुखी क्याम्पसले वडा कार्यालयमा दाबी पेस गरेको छ ।

प्रतिक्रिया