एनआइसी एसिया बैंकको बदमासी : राष्ट्र बैंकलाई ‘चक्मा’ दिँदै, खराब कर्जा घटाउँदै !

अन्य शीर्षकबाट ऋण दिएको देखाएर ब्याज असुली

बिनाधितो प्रोफेसनल कर्जाका लागि नियमित आम्दानीको स्रोत पुष्टि हुने कागजात आवश्यक पर्छ । तर, एनआइसी एसियाले यो प्रावधानको दुरुपयोग गर्दै कर्जा ‘इभरग्रिन’ बनाउन आम्दानीको स्रोत पुष्टि हुने कागजातबिनै पनि ऋण प्रवाह गरिरहेको स्रोतको दाबी छ ।

काठमाडौं । बैंकको खराब कर्जा बढिरहेको भए पनि एनआइसी एसिया बैंकले पछिल्लो समय राष्ट्र बैंकलाई समेत झुक्याएर फर्जी हिसाब मिलाउने गरेको विवरण सार्वजनिक भएको छ ।
राम्रै वित्तीय अनुशासनमा बसेका बैंकहरूको समेत खराब कर्जा ४ प्रतिशतभन्दा माथि भएका बेला राष्ट्र बैंकको गम्भीर निगरानीमा चलेको यो बैंकले फर्जी हिसाब देखाएर चालु आवको ९ महिनामा खराब कर्जा ३ दशमलव ०८ प्रतिशतमात्रै रहेको देखाएको पाइएको हो ।

औद्योगिक तथा व्यापारिक क्षेत्र, घरजग्गा कारोबार, सेयर बजारमा देखिएको शिथिलताले समग्र बैंकिङ क्षेत्रमा रिकभरीको समस्या निम्तिएको समयमा सबैभन्दा बढी धितो लिलामी गरी धेरैलाई घरबारविहीन बनाएको एनआइसीको भने खराब कर्जा कम देखाइएको छ । आफ्नो खराब कर्जा कम रहेको देखाउन एनआइसी एसिया बैंकले अन्य शीर्षकबाट ऋण प्रवाह गरेर ब्याज असुली गर्ने गरेको स्रोतले बताएको छ ।

बैंकमा धितो राखिएका सम्पत्ति बिक्री नभइरहेको अवस्थामा खराब कर्जाको हिस्सा बढ्दै गएकाले एनआइसी एसियाले खराब कर्जालाई राष्ट्र बैंकले तोकेको मापदण्डभित्रै सीमित राख्न अन्य शीर्षकबाट ऋण प्रवाह गरेर ब्याज असुली गर्ने गरेको स्रोतले बतायो । बैंकले आफ्ना ऋणीलाई बिनाधितो ‘प्रोफेसनल लोन’ मिलाएर खराब कर्जालाई असल कर्जाका रूपमा लेखांकन गरेको बताइन्छ ।

कर्जाको ब्याज तिर्न असमर्थ ऋणीको नाताका अन्य कुनै व्यक्ति वा कम्पनीका कुनै कर्मचारीको नाममा प्रोफेसनल लोन (जागिरे कर्जा) प्रवाह गरिएको स्रोतले बतायो । यो कर्जाअन्तर्गत बैंकको ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्म ५ वर्ष अवधिका लागि कर्जा सुविधा उपभोग गर्न पाउँछन् ।

स्रोतले भन्यो, ‘एउटै ग्राहकको सुविधाका लागि फरक–फरक व्यक्तिका नाममा ८० लाख रुपैयाँसम्मको कर्जा रकम उपलब्ध गराइएको छ । यस्तो रकम सम्बन्धित ऋणीलाई उपभोग गर्न नदिई पुरानो कर्जाको ब्याज भुक्तानी गर्न प्रयोग गरिएको छ ।’

जागिरे कर्जा वा पेसागत कर्जाका लागि नियमित आम्दानी हुने वा तलबी कर्मचारी हुनु आवश्यक हुन्छ । आफ्नो आम्दानीको नियमित स्रोत पुष्टि गर्न सक्ने व्यक्तिले बिनाधरौटी १३ महिनाको तलब बराबरको रकम वा १५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति बराबरको रकम आवधिक कर्जाका रूपमा उपभोग गर्न सक्छन् ।

तर, एनआइसी एसियाले यो प्रावधानको दुरुपयोग गर्दै कर्जा ‘इभरग्रिन’ बनाउन आम्दानीको स्रोत पुष्टि हुने कागज प्रमाणबिनै पनि ऋण प्रवाह गरिरहेको स्रोतको दाबी छ ।

यसअघि कोरोना महामारीको समयमा आफ्ना ऋणीले कर्जाको ब्याज भुक्तानी गर्न नसकेपछि एनआइसी एसियाले महिला उद्यमी कर्जाको आवरणमा ऋणीलाई सस्तो दरमा कर्जा उपलब्ध गराएर पुरानो कर्जाको ब्याज उठाएको थियो । महिला उद्यमशीलता प्रवद्र्धनका लागि राष्ट्र बैंकले ५ प्रतिशत वार्षिक ब्याजदर सुविधामा यो कर्जाको अवधारणा ल्याएको भए पनि बैंकले यस्तो कर्जा सुविधाको दुरुपयोग गरेको आरोप छ ।

खराब कर्जामा आएको बढोत्तरीले नै एनआइसी एसिया बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक अवस्थामा छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार एनआइसी एसिया बैंकको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँले घटेको छ ।

चैत मसान्तसम्म एनआइसी एसिया बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड ८१ लाख ७० हजार रुपैयाँ छ । यो अवधिमा बैंकको खराब कर्जा बढेर १.७६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७४ प्रतिशतमात्रै थियो ।

ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा

उसो त खराब कर्जामा चुर्लुम्म डुब्दै गर्दा एनआइसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कुल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरूको तुलनामा उच्च हो ।

आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्बभन्दा बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको शरणमा जानु आफैँमा जोखिमपूर्ण अवस्था हो ।

त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँमाथिको ननबैंकिङ एसेट्स (धितो) छ । पटक–पटक लिलामीमा जाँदासमेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ ।

अन्धाधुन्ध खोलिएका शाखा पनि घाटामा

विगतमा अन्धाधुन्ध खोलिएका शाखाहरू लगातार घाटामा गएका छन् । धेरैजसो शाखाले आफ्नो खर्चसमेत चलाउन नसक्ने अवस्था रहेको बुझिएको छ । बैंकको आकार ठुलो बनाउने तीव्र दौडमा रहेको यो बैंक अहिले विगतमा आफूले अँगालेको रणनीति फेल भएको स्वीकार गर्न थालेको छ ।

आक्रामक बजार विस्तारमा उत्रिन एनआइसी एसिया बैंकले सबैभन्दा बढी शाखा विस्तारमा जोड दियो । तर, अहिले तिनै शाखा बैंकलाई घाँडो भएका छन् । एनआइसी एसिया नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा धेरै शाखा भएको बैंक हो । अहिले बैंकसँग ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित एकाइ छन् । शाखा र कर्मचारी बढी हुँदा बैंकको सञ्चालन खर्च अत्यधिक छ ।

विगतमा अन्धाधुन्ध खोलिएका शाखाहरू लगातार घाटामा जान थालेपछि एनआइसी एसियाले देशभर रहेका कम्तीमा ५० शाखा र दर्जनभन्दा बढी एक्सटेन्सन काउन्टर बन्द गर्न पाऊँ भनेर नियामक नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो । निवेदन मात्रै होइन, बैंकका उच्च व्यवस्थापनले राष्ट्र बैंकका अधिकारीहरूसँग शाखाहरू घाटामा गएका कारण संस्थालाई नै गाह्रो परेको भन्दै स्वीकृति दिन अनुनय विनय गरे पनि, राष्ट्र बैंक भने शाखा बन्द गर्न नदिएको बुझिएको छ । नियमअनुसार शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ।

सुशासनमा कमजोर

एनआइसी एसिया बैंक शाखा सञ्जालका हिसाबले ठूलो भए पनि बैंकिङ सुशासनका मामलामा दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । राष्ट्र बैंकले दिएको नीति–निर्देशन लत्याएको भन्दै एनआइसी बैंकमाथि पटक–पटक कारबाहीसमेत भइसकेको छ ।

काठमाडौँका एक व्यवसायी एनआइसी एसिया बैंकसँग ऋण लिएर कारोबार सकेसम्म नगर्न सुझाव दिन्छन् । उनी घन्छन्, ‘एनआइसी एसिया अरू बैंकभन्दा खराब छ, आर्थिक मन्दी यस्तो छ, कथम् कदाचित व्यापार नभएर एक किस्ता तिर्न छुट्यो भने तारन्तार फोन आउँछ, उस्तै परे घरमा गार्ड पठाइन्छ, धितो लिलामीमा आउने हो कि ! भन्ने डर हुन्छ ।’

बैंकबाट सुरुमा ११ प्रतिशतको ब्याजदर भनेर सम्झौता भएको कर्जा पछि १७ प्रतिशतसम्म बनाइएको उनले बताए । त्यस्तै, यसअघि एक ग्राहकलाई एनआइसीको विराटनगर शाखाले ९.९२ प्रतिशत ब्याजदरमा ऋण दिएको भए पनि ब्याजदर बढेर १५.७० प्रतिशत पुगेको भन्दै एक ऋणीलाई पत्र काटेको थियो ।

कोरोना महामारीका बेला अचाक्ली ब्याज बढाएर सर्वसाधारण ऋणीलाई दुःख दिएपछि राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआइसीलाई पत्राचार गर्दै जबाफसमेत माग गरेको थियो । एनआइसी एसिया बैंकले अन्धाधुन्ध कर्जा विस्तार गर्ने र सर्वसाधारणको गतिलो धितो लिलाम गर्न हतार गर्ने गर्दा भावी दिनमा यसले बैंकिङ प्रणालीमाथि नै गम्भीर जोखिम आउन सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ । मोटो रकम तलब लिन सिइओ रोशन न्यौपानेले गतिलो धितो हत्याउन हदैसम्म गएर ऋणीहरूलाई च्याप्ने गरेको आरोपसमेत लागेको छ ।

एनआइसी एसियामा सिइओका रूपमा सशीन जोशी हुँदासम्म ठिकठाक रहेको बैंकमा पछिल्लो समय कान्छा सिइओका रूपमा रोशन न्यौपाने भित्रिएदेखि अराजकता मौलाएको कर्मचारी नै बताउँछन् । उनले सञ्चालक समितिको मुडअनुसार आफ्ना योजनाहरू प्रस्तुत गर्ने र उनीहरूलाई खुसी पार्न ऋणीहरूको मर्का नबुझी हदैसम्म दबाब दिएर ऋण असुल्ने नीति लिने गरेको बैंककै एक कर्मचारी बताउँछन् ।

एनआइसी एसिया बैंकले लगातार २ वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न पाएको छैन । नेपाल राष्ट्र बैंकले पुँजी पर्याप्त नदेखिएको भन्दै एनआइसीलाई लाभांश बाँड्न रोकेको हो । त्यस्तै, नेप्से कारोबारमा दिनप्रतिदिन यसको सेयर मूल्य घट्दै जाँदा सेयरधनीहरूमा आगामी दिनमा बैंकको कार्यसम्पादन र नाफाप्रति अविश्वास देखिएको छ ।

ऋण दिने बेला ग्राहक तान्न जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने एनआइसी एसिया यसअघि पनि ग्राहकलाई सामान्य मौकासमेत नदिई घरजग्गा लिलामी गरेर हडप्दै आएको आरोपमा विवादमा तानिएको थियो । राष्ट्र बैंकको आँखा छल्न र ग्राहकलाई झुक्याउनका लागि ब्याजदर १० प्रतिशतभन्दा कम कायम गरे पनि उसले अर्को महिना नै ब्याजदर बढाउँदै आएको छ ।

प्रतिक्रिया