‘मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा’

oplus_2

जनकपुरधाम । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले मुलुकले लिएको नीतिकै कारण मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा पुगेको बताएका छन् ।

धनुषा निर्माण व्यवसायी संघ जनकपुरधामको नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सरकारले भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीहरू धरापमा पर्दै गएको बताए । सरकारले आरोप मात्रै लगाउने तर मुलुक निर्माणको जिम्मा पाएका व्यवसायीहरूको अवस्थामाथि ध्यान नदिँदा व्यवसायीहरूको अवस्था दयनीय बन्दै गएको बताउँदै उनले निर्माण व्यवसायीको हकहितका लागि पटकपटक आवाज उठाउँदै आएको बताए । उनले आफ्नो कार्यकालमा सातचोटी सार्वजनिक खरिद नियमावाली संशोधन गरिएको र आउने २८ गते निर्माण व्यवसायी मधेस प्रदेशको साधारणसभामा प्रदेशले केन्द्रसँग समन्वय गरी जिल्लाका व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्नसमेत उनले आग्रह गरेका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एडी लामाले नेपाल सरकारले समयमा भुक्तानी, समयमै डिजाइन नबन्ने र समयमै जग्गा प्राप्ती नहुँदा निर्माण व्यवसायीहरूको अवस्था खराब भएको बताए । उनले टेन्डर भर्दा सार्वजनिक मूल्य समायोजनको फाराम भर्न आग्रह गर्दै फाराम नभर्दा व्यवसायीहरूलाई पछि घाटा हुदै आएको बताए । उनले भने, ‘विलोमा हालेर व्यवसायीहरू सिद्धिने गरेका छन् साथीहरूलाई टे«निङको आवश्यकता छ, तपाईंहरू माग गर्नुस् हामी व्यवस्था गर्छौं ।’ पटकपटक आन्दोलन गर्दा सरकारसँग भएको सम्झौताको एक बुँदा मात्रै पालना भएको उनले जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय महासचिव रोशन दहालले निर्माण व्यवसायी धाराशायी अवस्थामा पुग्नुको मुख्य कारक आफँै रहेको बताए । उनले भने, ‘धराशायी अवस्थामा पुग्नुको कारण हामी आफैँ हो, टेन्डर कोर्ने काम आफैँ गर्छौं, रेट घटाएर काम गर्छौं, यसमा कसैको दोष छैन, सुझबुझका साथ भर्दा नपरे पनि हामी सुखी रहन्छौँ तर घाटा लगाएर काम गर्नुहँुदैन ।’ सार्वजनिक खरिद नियमावलीअनुसार खरिद गर्दा किताबको अध्यउन गर्न आग्रह गर्दै उनले राम्रो काम गरेपछि डराउनुपर्ने अवस्था नरहने बताए । उनले बोलपत्र भर्दा दफा उपदफाको राम्रोसँग पढेर भर्न आग्रह गर्दै तालिमको आवश्यकता आफूहरूले पूरा गर्ने बताएका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले साना निर्माण व्यवसायीहरूको पीडा आफ्नै केन्द्रले नबुझिदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले उपभोक्ता समितिका कारण हामी मारमा पर्दा पनि केन्द्रले यसको समाधानका लागि केही पहल नगरेको आरोप लगाएका थिए । उनले भने, ‘उपभोक्ता समितिको दायरा सानो गर्नुका साथै हाम्रो हक अधिकारका लागि माग उठाउनुहोस् ।’ जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले निर्माण व्यवसायीको जुन अहिलेको अवस्था छ त्यसको जिम्मेवार आफैँ रहेको बताए । टेन्डर लिँदा आवश्यकताभन्दा कम रेटमा लिने र पछि पछुताउने पद्धति अन्त्य गरी त्रुटि सच्चाएर अगाडि बढ्न अध्यक्ष महासेठले आग्रह गरेका थिए । उनले निर्माण व्यवसायीको हरेक हकहितको लडाइँमा जनकपुरधाम उद्योग वाणिज्य संघ सदैव साथ रहनेसमेत प्रतिवद्धता जनाएका थिए ।

निर्वाचन समितिका अध्यक्ष कामेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अशोक चौधरी, उपाध्यक्ष जयप्रकाश पप्पु, महासचिव रुपेश सिंह मुन्ना, सचिव मनोज कुमार साह, कोषाध्यक्ष लक्ष्मण यादव लगायतका सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रतिक्रिया