‘राजनीतिक लडाइँ’ले गरुडामा खानेपानी हाहाकार !

रौतहट । रौतहटको मुख्य आर्थिक केन्द्रका रूपमा परिचित गरुडा बजारमा खानेपानीको समस्या विकराल बन्दै गएको छ । खानेपानी वितरणको जिम्मा पाएका व्यक्ति र स्थानीय सरकार प्रमुखबीचको राजनीतिक द्वन्द्वका कारण गरुडा बजारमा खानेपानीको समस्या दिनानुदिन बढ्दै गएको स्थानीय बताउँछन् ।

गरुडामा करिब २ महिनादेखि पानीमा कहिले धेरै कम पानी आउने त कहिले लेदो आउने समस्या रहेको स्थानीय उपभोक्ता बताउँछन् । तराईमा बढेको अचाक्ली गर्मीमा खानेपानी अभाव हुँदा यहाँका बासिन्दा झन् समस्यामा परेका छन् । पानी आउँदा पनि १ तलामाथिको ट्यांकीसम्म पनि पानी नचढ्ने गरेको स्थानीय बताउँछन् ।

गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकजकुमार जयसवालले पछिल्लो समय लेदो पानी आएको तथा पानीमा प्रेसर नभएको स्वीकार गरेका छन् । वर्षा नभएर गर्मी बढेपछि खानेपानीको समस्या बढेको भन्दै उनले गरुडाको खानेपानी समस्या आफूहरूको नियन्त्रणबाहिर गइसकेको बताए । यही अवस्थामा खानेपानीको समस्या सुल्झाउन नसक्ने भन्दै उनले उस्तै परे खानेपानी आपूर्ति नै बन्द गरिदिने धम्की दिने गरेका छन् ।

जयसवालले उपभोक्ता समितिको नेतृत्व सम्हालेदेखि नै गरुडामा खानेपानी अस्तव्यस्त भएको स्थानीय बताउँछन् । तर, राजनीतिक आड पाएका कारण उनको विरुद्धमा कसैले पनि आवाज उठाउन सकिरहेका छैनन् । यस क्षेत्रमा राजनीतिक रूपमा नेकपा एकीकृत समाजवादीको राम्रै पकड भएको र अध्यक्ष जयसवाल पनि सोही पार्टीका भएकाले स्थानीयले उनको विरुद्धमा आवाज उठाउन नसकेको बताइएको छ ।

यस विषयमा जिज्ञासा राख्दा अध्यक्ष जयसवालले लेदो पानी आइरहेको तथा पानीको प्रेसर पनि नभएको भनी आफूले सम्बन्धित निकायलाई लिखित जानकारी गराइसकेको बताए । तर, उनले भनेको सम्बन्धित निकाय गरुडा नगरपालिका भने यसबारेमा पालिकामा कुनै जानकारी नआएको भनेर पन्छिने गरेको छ । गरुडाका नगर प्रमुख कन्थमनी प्रसाद कलवारले यस विषयमा नगरपालिकालाई कुनै औपचारिक जानकारी नआएको बताए ।

यद्यपि, खानेपानीको समस्या विकराल बन्दै गएको गुनासो आफूले सुनेको भन्दै उनले आइतबार मात्रै केही पदाधिकारीलाई खानेपानी समस्याबारे बुझेको बताए । उनका अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिभित्र चरम बेथिति देखिएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख र नेकपा एसका नेता रहेका अध्यक्षबीच राजनीतिक खिचातानीको असर भने स्थानीयले खानेपानीमा भोगिरहेका छन् । नगर प्रमुख कलवारले भने, ‘समितिमा हरेक वर्ष बाहिरबाट बजेट आउँछ, त्यसको कुनै हिसाबकिताब नगरपालिकामा बुझाइएको छैन ।’ म्याद गुज्रिसकेको समितिले उपभोक्तालाई सताएको मेयर कलवारको आरोप छ ।

१ हजार २०० भन्दा बढी स्थानीय उपभोक्ता तथा विभिन्न कामको सिलसिलामा बाहिरबाट आएर पनि सयौँ मानिस भाडामा बसिरहेको गरुडा बजारमा पानीको समस्या विकराल भएपछि बारी तथा छानामा लगाइने सम्पूर्ण बालीबिरुवा सुकेका छन् । धेरै उपभोक्ताले बजारमा पाइने बोतल तथा जारको पानी किनेर नुहाउन तथा लुगा धुन प्रयोग गरिरहेका छन् । केन्द्र र प्रदेशमा नेकपा एमाले र नेकपा एसबीच गठबन्धन भए पनि तिनै दुई पार्टीको वर्चस्व रहेको गरुडा नगरपालिकामा स्थानीय सरकार र उपभोक्ता समितिबीच बहिस्कारको उग्र राजनीतिले खानेपानी क्षेत्र नै धराशायी बन्ने अवस्थामा पुगेको छ ।

खानेपानीजस्तो आधारभूत र संवेदनशील आवश्यकतामा पहिलेदेखि नै उपभोक्ता समिति गम्भीर हुन नसकेको गुनासो सर्वसाधारणको छ । हरेक वर्ष समस्या हुँदा पनि समाधान नगरी समस्यालाई समितिले झन् बल्झाउँदै गएको र गरुडाको खानेपानी समस्याले विकराल रूप लिएको स्थानीयको आरोप छ ।

चारैतिरबाट असन्तुष्टि बढेपछि समितिका कतिपय पदाधिकारीहरू समस्यालाई समाधान गर्नुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ । समितिले खानेपानीको समस्या समाधान गर्न नसके नगरपालिकाले तत्काल हस्तक्षेप गरी सर्वसाधारणलाई खानेपानीको उचित व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरूको माग छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया