इलाममा कांग्रेसका खड्काले लिए सुरुवाती अग्रता, एमालेका सुहाङ दोस्रो

काठमाडौं । शनिबार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन मतगणनाको प्रारम्भिक परिणाम आउन सुरु भएको छ । आइतबार सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना जारी छ । हालसम्मको गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

त्यसैगरी दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्वाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू भने प्रारम्भिक मतपरिणाममा चौथो स्थानमा छन् ।

इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ । अहिले वडा नम्बर १ को मतगणना गरिएको हो।

आइतबार बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो ।

हालसममको कुल मत : १५३९

डम्बर खड्का (कांग्रेस)– ६५७

सुहाङ नेम्वाङ (एमाले)– ५३४

डकेन्द्रसिंह थेगिम (स्वतन्त्र, मुढा)– १८७

मिलन लिम्बु (रास्वपा घण्टी)– ११५

आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि करिब १२ बजेबाट मतगणना सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन् ।

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन् । उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन् ।१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया