भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अनुसार आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ ।
शाखाका अनुसार अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेका सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रका आधारमा दिने तयारीमा सरकार जुटेको छ ।

यसका लागि सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीको विवरण संकलन तीव्र पारिएको छ भने राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक प्रणाली हुने हुँदा भत्ता वितरणमा भएको अनियमितता अन्त्य हुने विश्वास सरकारको छ । अहिले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको भन्दै नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो ।

प्रतिक्रिया