सकियो उपनिर्वाचन : नतिजा आज

काठमाडौं । १ प्रतिनिधिसभा सदस्य र १ प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रतिनिधिसभाको इलाम–२ र प्रदेशसभा बझाङ(क) मा शनिबार उपनिर्वाचनका लागि मतदान भएको थियो ।

उपनिर्वाचनमा १४ वटा स्थानीय तहका १ लाख ७७ हजार ५३७ मतदाता रहे पनि करिब १ लाख मतदाताले मात्र निर्वाचनमा भाग लिएको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ का १४९ र बझाङका ९३ वटा मतदान केन्द्रमा मतदान भएको निर्वाचनका लागि १७ सय कर्मचारी र ३३ सय प्रहरी परिचालन भएका थिए । इलाममा १२ दल र ७ जना स्वतन्त्र गरी १९ उम्मेदवार छन् भने बझाङमा ११ जना उम्मेदवार छन् ।

यसअघि इलाम–२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो भने प्रदेशसभा सदस्य रहेका बझाङ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएपछि यहाँ पनि उपनिर्वाचन भएको हो ।

मतदाताको सहभागिता औसत, नतिजा आज

उपनिर्वाचनका निर्वाचन आयोगले तय गरेका मतदाताको सूचीमा इलाम–२ मा १ लाख १५ हजार ८८९ र बझाङ (क) मा ६१ हजार ६४८ मतदाता भए पनि शनिबार भएको मतदानमा औसत मतदाताको मात्र उपस्थिति देखियो ।

यी दुवै ठाउँमा ४ मंसिर, २०७९ मा भएको चुनावकै सरह मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका छन् ।

उपनिर्वाचनका लागि इलाम नगरपालिकाका ११ वटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ३ वटा वडाका १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार इलामका ११ वटा वडाका ३२ हजार ४४१ जना मतदातामध्ये २० हजार ६६५ अर्थात् ६३.७० प्रतिशतले मतदान गरेका छन् भने देउमाई नगरपालिकाका २७ हजार ९६९ मतदातामध्ये १५ हजार ९८० जनाले मतदान गरेका छन् ।

त्यस्तै, फाकफोकथुम गाउँपालिकाका १६ हजार ३०२ मतदातामध्ये ९ हजार ६०४, माङ्सेबुङ गाउँपालिकाको १२ हजार ५६३ मतदातामध्ये ७ हजार २०३, चुलाचुली गाउँपालिकाका १८ हजार ५४५ मतदातामध्ये ११ हजार १९८ र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको ८ हजार ९६ मतदातामध्ये ४ हजार ६३४ ले मतदान गरेका छन् ।

यस क्षेत्रको मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ । सिटी हलको एउटा कोठामा तारजाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार पारिएको छ । गणनास्थलमा ११ वटा सिसी क्यामेरासमेत जडान गरिएको छ ।

प्रत्येक घन्टाको मतगणनाको परिणाम सार्वजनिक गर्नका लागि इलाम चोक बजारको डिस्प्लेलाई समेत तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ४९.१२ प्रतिशत मत खसेको छ । ७४ वटै मतदानका ९४ वटा मतदान केन्द्रमा ६१ हजार ७४८ मतदाता थिए । जसमध्ये आधाभन्दा कमले मात्र मतदान गरेका हुन् । यहाँ ३० हजार ३२८ जनाले मतदान गरेका हुन् । मंसिर ४, २०७९ को निर्वाचनभन्दा यो संख्या ३.८६ प्रतिशत कम हो ।

४ मंसिर, २०७९ मा इलाम–२ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ (क) प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । आयोगका अनुसार दुवै क्षेत्रको मतपरिणाम आज बेलुकासम्म आइसक्नेछ ।

रोचक बन्दै प्रतिस्पर्धा

उपनिर्वाचनका लागि इलाममा १९ उम्मेदवार मैदानमा होमिएका छन् । जसमा १२ जना राजनीतिक दलबाट र ७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रारम्भिक आकलनअनुसार इलाममा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच प्रतिस्पर्धा हुने देखिन्छ । २०७९ को निर्वाचनमा सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले हराएका थिए ।

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ११ जना उम्मेदवार मैदानमा छन् । तर, यहाँ विशेष गरी कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र नेकपा एमालेका दमनबहादुर भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७९ को प्रदेशसभा निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहले ३ हजार ३६९ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गरेका थिए ।

प्रतिक्रिया