नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी (तस्विरहरु)

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए । दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

उनीहरुबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आइपुगेका हुन् । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौंबाट प्रस्थान गर्ने तालिका छ ।– रासस

प्रतिक्रिया