आम नागरिकको सूचना पाउने अधिकार कुण्ठित गर्दै कृषि ज्ञान केन्द्र धनुषा

सूचना लुकाउन वेबसाइट बन्द

मधेस ब्युरो । आमनागरिकको सूचना पाउने अधिकारलाई कृषि ज्ञान केन्द्र धनुषाले कुण्ठित गरिरहेको पाइएको छ । केन्द्रको वेबसाइट बन्द हुँदा सेवाग्राही मर्कामा छन् । आमनागरिकलाई सहज तरिकाले सूचना पाउन् भन्ने उद्देश्यले यस्ता वेबसाइट बनाइएका हुन् । तर, कृषि ज्ञान केन्द्र धनुषाको वेबसाइट महिनौँदेखि बन्द हुँदासमेत कार्यालय प्रमुख राजेन्द्र यादवले कुनै चासो दिएका छैनन् ।

राज्यले गोप्य राख्नेबाहेक सबै सूचनाहरू आमनागरिकले सहज रूपमा प्राप्त गर्न पाउनु नागरिकको संवैधानिक अधिकार हो । यही अधिकार कार्यान्वयन गर्दै नागरिकमा सूचनाको पहुँच सहज बनाउन प्रत्येक कार्यालयले आफ्नो वेबसाइटमार्फत सूचनाहरु सार्वजनिक गर्ने गरेका छन् । कार्यालयहरूले आफ्नो वेबसाइट नियमित अपडट गरिरहेका हुन्छन् ।

कार्यालयले नियमित सम्पादन गर्ने काम, सेवा प्रवाह, वार्षिक, मासिक तथा त्रैमासिक कार्यप्रगति प्रतिवेदन, बजेट तथा कार्ययोजनासमेत वेबसाइटमा अपडेट गर्ने गरिएको छ । तर, पछिल्लो केही समयदेखि कृषि ज्ञान केन्द्रले आफ्ना वेबसाइट अपडेट नगरी बन्द गरेर छाडेका छन् । कतिपय सूचनाहरू नागरिकलाई अति आवश्यक हुन्छन् ।

ती सूचना पाउनका लागि इन्टरनेटको सुविधा भएका नागरिकहरुले आवश्यकताअनुसार मोबाइलबाटै सूचनाहरू हेर्न चाहन्छन् । तर, त्यही सुविधाबाट वञ्चित गरियो भने आक्रोशित हुनु स्वभाविक हो । बढ्दो प्रविधिको सदुपयोग गर्दै हरेक सरकारी कार्यालयले अनलाइनको माध्यमबाट कार्यालयको सेवा प्रदान गरिरहेका छन् ।

मधेस प्रदेशकै मालपोत, जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका सरकारी तथा गैरसरकारी कार्यालयले अनलाइनकै माध्यमबाट सेवा प्रवाह गरिरहेका छन् । यी सबै कार्यालयको आआफ्नै वेबसाइट सञ्चालनमा छन् । ती सबै कार्यालयले आफ्नो कार्यालयको हरेक गतिविधि, सूचना वेबसाइटबाट प्रवाह गर्दै आएका छन् ।

मधेस प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा रहेको कृषि ज्ञान केन्द्रले कार्यालयको हरेक गतिविधि आफ्नो आधिकारिक वेबसाइटबाट प्रवाह गरिरहेका छन् । यी सबै जिल्लामा रहेको कृषि ज्ञान केन्द्रको वेबसाइट अपडेट गरी सञ्चालनमा रहेको छ । तर, कार्यालयको गतिविधी र सूचना लुकाउन कृषि ज्ञान केन्द्र धनुषाले आफ्नो कार्यालयको आधिकारिक वेबसाइट बन्द राखेको छ । कार्यालयको वेबसाइट बन्द भएपछि सेवाग्राहीले सहज रूपले सूचना पाउन नसकिएको गुनासो गरेका छन् ।

वेबसाइट सञ्चालन गर्न आएको बजेटसमेत कार्यालय प्रमुख सहितका कर्मचारीले मिलेर हिनामिना गर्दै आएको स्थानीय सेवाग्राहीले आरोप लगाएका छन् । कार्यालयका कर्मचारीको बदमासीको कारण वेबसाइट सञ्चालनमा नआएको स्थानीयले गुनासो गरेका छन् । यता कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी रामचन्द्र यादवले केन्द्रको वेबसाइट बन्द रहेको स्वीकार गर्दै मेन्टिनेन्सका लागि भनेको भन्दै छिट्टै नै वेबसाइट पुनः सञ्चालनमा आउने जानकारी गराए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया