फिल्मका लागि मांसाहारी बनेकी मानुषी

नयाँदिल्ली । बलिउड स्टारहरू फिल्ममा आफ्नो क्यारेक्टरका लागि शारीरिक परिवर्तनसँगै आफ्नो बानी परिवर्तन गर्न पछि हट्दैनन् । यो सूचीमा मानुषी छिल्लरको नाम पनि परेको छ । हालै रिलिज भएको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बाट मानुषी शाकाहारीबाट मांसाहारी बनिन् । मानुषीले एक अन्तर्वार्तामा आफूले यस्तो गर्नुपरेको कारण बताएकी छिन् ।

जूम वेबसाइटलाई दिएको अन्तर्वार्तामा मानुषीले भनिन्, ‘म जीवनभर शाकाहारी रहेकी छु । मलाई सधँै ननवेज नखाने सोच थियो तर मैले ‘बडे मियाँ छोटे मियाँ’ साइन गरेँ । त्यसपछि मलाई कोभिड भयो । म धेरै डराएको थिएँ किनभने म आफ्नो तौल घटाउन चाहन्नथेँ किनभने मैले ‘बडे मियाँ छोटे मियाँ’ को लागि मांसपेशीहरू निर्माण गर्नुपर्ने थियो ।’

मानुषीले थप भनिन्, ‘त्यसपछि मेरो बुबा जो एक डाक्टरसमेत हुनुहुन्छ उहाँले मलाई मासु खाने सल्लाह दिनुभयो । यस अवधिमा बाबाले मेरो खानपानमा निकै ख्याल गर्नुभयो । मैले उहाँलाई सधैँ कुखुराको मासुजस्तो स्वाद नलाग्ने चीज बनाइदिनु भन्थेँ । खानाको टेबुलको छेउमा बसेर मलाई जबरजस्ती खाना ख्वाइदिनुहुन्थ्यो ।’
मानुषीले भनिन्, ‘बडे मियाँ छोटे मियाँ’ को अधिकांश छायांकन जोर्डन, स्कटल्यान्ड, लन्डनमा भएको थियो र स्कटल्यान्डमा तरकारीको धेरै विकल्प थिएन र मेरो लागि प्रोटिनको सजिलो स्रोत मासु थियो ।’

११ अप्रिलमा रिलिज भएको ‘बडे मियाँ छोटे मियाँ’ मा मानुषीबाहेक अक्षय कुमार र टाइगर श्राफले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा मानुषी अक्षय कुमारको अपोजिटमा देखिएकी छन् । ३५० करोडको बजेटमा बनेको फिल्मले खासै प्रतिक्रिया पाएको छैन । फिल्मले ११ दिनमा मात्रै ५५ करोड कमाएको छ ।

प्रतिक्रिया