निर्भीक रूपमा मधेसमा लगानी गर्न मुख्यमन्त्री यादवको आग्रह

सिरहा । निर्भीक रूपमा मधेसमा लगानी गर्न मुख्यमन्त्री सरोजकुमार यादवले आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ लहानले आयोजना गरेको लाहान एक्सपोको समापन समारोहमा मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।

उनले मधेस प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीलाई आह्वानसमेत गरे । निर्धक्क भएर लगानी गर्न उनको आग्रह थियो । उद्योग व्यवसायका लागि उपयुक्त भूमि मधेस प्रदेशमा लगानी गर्न सुझाव दिए ।

मधेस प्रदेशमा गरिने लगानीको सुरक्षा लगायतको विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मधेस विद्रोहको उदगमभूमि लहान मधेस सरकारका लागि पूजनीय भूमि रहेको उल्लेख गर्दै उनले लहानको विकासका लागि गौरवको योजना दिन स्थानीय सरकारलाई आग्रह गरे ।

मधेस सरकारले सहिद संग्रहालयका लागि तीन करोड रुपैयाँ उपलब्ध गराइसकेको हुँदा जग्गा उपलब्ध भएपछि र डिपिआर तयार पछि अपुग हुने रकमसमेत तत्काल उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

लहानबासीको मागलाई सम्बोधन गर्दै बलान नदी नियन्त्रणको काम सुरु भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री यादवले यसै आर्थिक वर्षमा बलान नदी नियन्त्रणको काम सम्पन्न हुनेसमेत बताए ।
लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास कुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोहमा प्रदेशसभा सदस्य ललिता दास विद्रोही, जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, लहान नगरप्रमुख महेशप्रसाद चौधरी, उपप्रमुख रामचलित्र महतो, उद्योगपति पशुपति मुरारकासहितका वक्ताले सम्बोधन गरेका थिए ।

चैत्र ३० गते सुरु भएको महोत्सव सोमबार सप्पन्न भएको हो । महोत्सवमा नेपाल, बंगलादेश, भारतका १६० व्यापारिक प्रतिष्ठान सहभागी भएको आयोजकले जनाएका छन् ।
लहान एक्सपोमा सहभागी हुनुअघि मुख्यमन्त्री यादव प्रदेश सरकारको लगानी जारी वलान नदी नियन्त्रण कार्यको स्थलगत निरिक्षणसमेत गरेको मुख्यमन्त्रीको सञ्चार सचिवालय मधेस प्रदेशले जनाएको छ ।

प्रतिक्रिया