सिंगो देश ‘खामोस’ छ

राजनीति भ्रष्टाचार गर्नका लागि होइन । आफ्ना नाता, कुटुम्ब र चिनजानका मान्छेहरूको हितको काम गर्नका लागि होइन । नैतिकता त्यागेर दल बदलिँदै, गुट बदलिँदै मन्त्री बन्न राजनीति होइन । राजनीति सहकारी पीडितको उद्धार गर्न, मिटरब्याजी पीडितलाई न्याय दिन, जनतामाथि लादिएका करहरू कम गराउन, हिंसा रोक्न, भाइचारा र सहकार्यलाई बढावा दिन गर्ने हो । खै त यस्तो राजनीति गरेको ?

दीनेश रायमाझी

मैले मात्रै हो कि अरूले पनि हो यस्तो महसुस गरेको ? राजनीतिक मान्छेहरूले भूतप्रेतका कुरा, देवीदेवताका कुरा, स्वर्ग र नर्कका कुराहरू धेरै र कामका कुरा, महँगीका कुरा, उद्योग र कृषिका कुरा, सिँचाइ बिउवीजनका कुरा, बाटो छिटो बनाउने कुराहरूको बारेमा अत्यन्तै कम कुरा गरेको देखिन्छ । केही मिठा कुरा त गरन गाँठे । काम त दिन सकेनौँ, शिक्षा र स्वास्थ्य राम्रो दिन सकेनौँ । जनताको जीवनस्तर माथि उठाउन त सकेनौँ ल ठिकै छ । जनतालाई सुन्दा धैर्य लाग्ने, आशा जगाउने केही मिठो कुरा त गर यार । यस्तो पनि हुन्छ, बोलीबाट पनि जनतालाई राहत नदिने ? कामको निर्माण गर्नेछौँ भन, महँगी घटाउनेछौँ भन, किसानको आम्दानी बढाउनेछु भन । अनि शिक्षा र स्वास्थ्यमा सबै नेपालीको पहुँच स्थापना गर्नेछु भन त जनता कति खुसी हुनेछन् । यति कुरा पनि सिकाउनुपर्ने ?

हामीले पहिले पहिले हाम्रो गन्तव्य तय गर्नुपर्छ भन्थ्यौँ । तर, अहिले गन्तव्यभन्दा पनि हाम्रो ‘फेट’ बढी महत्त्वपूर्ण बनेर आएको छ । राजा वीरेन्द्रले देशलाई एसियाली मापदण्डमा पु¥याउने कुरा गरेका थिए । नेपाललाई शान्ति क्षेत्र घोषणा गराउने कुरा गरेका थिए । कृष्णप्रसाद भट्टराईले नेपाललाई सिंगापुर बनाउने कुरा गरेका थिए । कतिले स्विट्जरल्यान्ड बनाउने कुरा गरे । प्रचण्ड, माधव र ओलीहरू समाजवाद ल्याउने कुरा गरिरहेका छन् । यो भनेको हाम्रो भाग्य बनाइदिने कुरा हो । यस्तो कुराले जनतालाई भविष्यको बारेमा एककिसिमको मिठो कल्पनामा बाँच्न सिकाउँछ र वर्तमानबाट उसलाई टाढा पु¥याउने काम गर्छ । यो कुरा राजनीतिक मान्छेहरूको निम्ति फाइदाजनक हुन्छ । किनभने यस्तो भएपछि जनता भविष्यको कल्पनामा डुब्न, रमाउनतिर लाग्छ र उसले आफूले वर्तमानमा भोगिरहेको समस्याप्रति चिन्ता गर्न बिर्सिदिन्छ ।

खासमा अहिले सडकमा आक्रोशको आगो बल्नुपर्ने थियो, जनताले सडकका रेलिङहरू भाँचिरहेको हुनुपर्ने थियोे । ठाउँठाउँमा राँके जुलुस, कोणसभा, चक्काजाम भइरहेको, आमहड्ताल भइरहेको हुनुपर्ने थियो । शिक्षकहरूले, डाक्टर र नर्सहरूले, हातमा कालो ब्यान्ड, विद्यार्थीहरूले ग्यासको सिलिन्डर बोकेर सडकमा नाराजुलुस गरिरहेका हुनुपर्ने थियोे । तर, सडक सुनसान छ, किसान मजुदुरहरू सबका सब चुपचाप छन्, विद्यार्थी र शिक्षक पनि मौन छन् । मानौँ देश सबैथोकले परिपूर्ण छ । जताततै रोजगारै रोजगार छ, महँगी त छँदै छैैन । गरिबले के खाने, के लाउने, कसरी छोराछोरीलाई पढाउने, बिरामी पर्दा कसरी उपचार गराउने ? खेती कुन पैसाले लगाउने ? उब्जाएको बाली कहाँ लगेर बेच्ने ? मानौँ यी कुनै समस्या नै होइनन् । तर, यस्ता कुराहरूप्रति सिंगो देश ‘खामोस’ छ ।

राजनीति जनताको निम्ति गर्ने हो । राजनीति भनेको जनतालाई सुख दिन, देशलाई समृद्ध बनाउन जे जे काम गर्नुपर्ने हो त्यो त्यो काम गर्ने हो । बाटो बनाउनु, सिँचाइका लागि नहर बनाउनु, रोजगारी सिर्जना गर्नु, महँगी घटाउनु, छात्रवृत्ति प्रदान गर्नु, उद्योग कलकारखाना खोल्नु, खेलमैदान बनाउनु, जनताको हित हुने ऐनकानुनहरू बनाउनु, संशोधन र परिमार्जन गर्नु, नागरिकको सुरक्षाको प्रत्याभूति गर्नु यहि त हो राजनीति । तर यस्तो राजनीति खै त गरेको ? राजनीति भ्रष्टाचार गर्नका लागि होइन । आफ्ना नाता कुटुम्ब र चिनजानका मान्छेहरूको हितको काम गर्नका लागि होइन । नैतिकता त्यागेर दल बदलिँदै, गुट बदलिँदै मन्त्री बन्न राजनीति होइन । राजनीति सहकारी पीडितको उद्धार गर्न, मिटरब्याजी पीडितलाई न्याय दिन, जनतामाथि लादिएका करहरू कम गराउन, हिंसा रोक्न, भाइचारा र सहकार्यलाई बढावा दिन गर्ने हो । खै त यस्तो राजनीति गरेको ?

खोक्रो नाराले, खोक्रो आश्वासनले जनताको समस्याको सम्बोधन गर्दैन बरु यस्तो कुराले त जनताको मनमा नेताहरूप्रति नकारात्मक भावना पैदा गराउने काम गर्छ । अहिले त्यस्तै परिदृष्यहरू देखा परिरहेका छन् । नेताहरू प्रति नकारात्मक भावना पैदा हुनु लोकतन्त्रको निम्ति राम्रो संकेत होइन । अहिले विभिन्न किसिमका आरोप लागेकाहरू, नासाले गाईको मूत्रको परीक्षण गर्छ भन्नेहरूको पछाडि जनता लाग्न थालेको जुनदृश्य देखा परिरहेको छ त्यो यस्तै नकारात्मक भावनाको वाइप्रोडक्ट्स् हुन् ।

बेलैमा सचेत नहुने हो र आफूलाई सुधार नगर्ने हो भने गलतलाई गलत बाटोमा जानबाट रोक्न मुस्किल पर्न सक्छ । यस्तै यस्तै कुराहरूले नै हो देशलाई अतिवादतिर हिँडाउने, जेलेन्स्कीहरूको अभ्युदय हुने । देशमा नियम छ, कानुन छ, संविधान छ । कानुनको नजरमा सबै समान छन् । तर सरकार किन यतिधेरै लाचार छ कि एक व्यक्तिसँग कानुनको भाषामा कुरा गर्न असमर्थ छ वा कुरा गर्ने हिम्मत गर्न सक्दैन ? आन्तरिक वा बाह्य के त्यस्तो शक्तिको छत्रछायामा छन् उनी जसका अगाडि राज्य नतमस्तक हुन बाध्य छ ?

यात्राको क्रममा सुनेको कुरा उल्लेख गरेर बिट मार्छु । व्यक्तिगत महत्वाकांक्षा नहुने व्यक्ति शायदै कोही होलान् । भनेपछि राजनीतिक मान्छेहरूमा यस्तो नहुने प्रश्न नै रहेन । एक जनाले कुरा झिके महत्वाकांक्षाको पनि मेल हुने रहेछ । ओलीलाई फेरि एकपटक प्रधानमन्त्री बनेर दुई–दुईपटक संसद् विघटन गरेबापत उनको राजनीतिक करियरमा लागेको ठूलो दाग मेटाउनु छ । प्रचण्ड आफ्नो जीवनको अन्तिम कालखण्ड देशको राष्ट्रपति बनेर आनन्दका साथ गुजार्न चाहान्छन् । यसको खाका दुबै जनाको दिमागमा छ । ओलीको त होइन तर प्रचण्डको कांग्रेसको बुइँ चढेर राष्ट्रपति बन्ने सपना गगन थापाहरूले उडाइदिए ।

ओली बाहेकका बाँकी अरूले प्रचण्डलाई राष्ट्रपति बनाउन सक्दैनन् र प्रचण्डको सहायताबिना ओली पनि प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन । स्वार्थको यही मिलनले नयाँ गठबन्धन जन्म दिएको हो । माधव नेपाल त मात्र धुपौरे हुन् जो जित्नेले जितौरी दिएभने खुसी हुँदै थाप्ने । दाउ लिएर खालमा बस्ने हिम्मत पनि छैन र हारे हारिएला भनेर रिस्क लिने क्षमता पनि छैन । यत्ति कुरा के हुँदै थियो अर्कोले फ्याट्ट भन्न भ्यायो, हेर्नुस्, न ओली प्रधानमन्त्री बनाइनेछन् न त प्रचण्ड नै राष्ट्रपति बन्न सक्नेछन् । किनभने त्यो दुबैले दुबैलाई असहयोग गर्नेछन् । कतिसम्म बेइमानी हुनसक्छ र त्यो लामो समयसम्म टिक्दैन भन्ने कुराको ताजा प्रमाण त दुईतिहाइ बराबरको शक्ति भएको कम्युनिस्टको सरकार गल्र्याम्मै ढलेको ताजा घटना छँदै छ त । इमानदारीको राजनीति गरे हुन्न र जनताको निम्ति मिठो कुरा गरे हुन्न र ? अर्थात केही मिठो बात गर, विपनाको बात गर… मरेर जानु त छँदै छ ।

प्रतिक्रिया