नेपालमा यस्तो सुशासन र सुरक्षा कहिले होला ?

बेलायतमा कर्मचारीले सेवाग्राहीलाई हप्काएर काम गर्दिन भन्न पाउँदैन । प्रहरीहरु नागरिकसँग ठूलो स्वरले समेत बोल्दैनन् । अपराधी नै रहेछ भने पनि उसलाई मानसिक वा शारीरिक चोटपटक लाग्ने गरी सजाय दिनु अपराध मानिन्छ । चोरले समेत खान नपाएकोले चोरेको हो भनेर प्रमाणित भयो भने उसलाई छुट हुन्छ । बरु राज्यले त्यस्ता चोरहरुलाई खानपाउने ब्यवस्था गरिदिन्छ । नेपालमा त हाम्रा प्रहरी र कर्मचारीका कारणले पनि यो मुलुक उँभो लाग्न नसकेको हो । प्रशासनकै अपमान र अहजताका कारणले भकाभक देश छाड्नेहरु बढेका छन् ।

सरोजदिलु विश्वकर्मा

विदेश नघुमेको, नदेखेका हाम्रा कोही नेता छैनन् । तर पनि देश किन बनेन त ? बरु हाम्रा गाउँघरका घरआँगन र जमिनहरु मात्र होइन, शहरका ठुलाठूला बंगलाहरु पनि खाली हुनथालेका छन् । रोजगारीका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यताले हाम्रो गाउँघर युवाविहिन भएको छ । जमिनहरु बाँझो बस्न थालेका छन् । अमेरिका, युरोप, अष्ट्रेलिया जानेहरु उतै बस्ने र बाबुआमालाई समेत उतै बोलाउने कारणले शहरका घरहरु समेत रित्तिन थालेका छन् ।


बेलायतमा रहँदा हामीले यी विषयहरुमा बिभिन्न कोणमा छलफल गर्यौँ । नेपाली समाज, देशको अर्थतन्त्रदेखि युवा पलायनताका विषयमा गम्भिर छलफल गर्यौं । यतिमात्र होइन, राज्य र नागरिकको चरित्र र दुवैको वीचमा रहेको कर्मचारीतन्त्रको बारेमा केलाएरै छलफल गर्यौं । र, अन्ततः हामी करिवकरिव निष्कर्षमा पुग्यौं– ‘मुलुकको विकासमा फड्को मार्ने मुख्यतः शान्ति, सुरक्षा र सुशासन रहेछ । यी भएपछि नागरिक सन्तुष्टी र राष्ट्रिय समृद्धि सवै हुनेरहेछ । सुशासनभित्र समेत नागरिक सुरक्षा र परिचालनलाई समृद्धिको मूलआधार बनाउनु पर्नेरहेछ ।’ नागरिकलाई आफ्नो देशको सम्पतिको आधार मान्ने र तिनलाई अत्याधिक परिचालन गर्ने देशहरुले नै निक्कै फडको मारेका छन् । यो भ्रमणमा हामीले यही निष्कर्ष निकाल्यौं, जसलाई विषयगतरुपमा यहाँ उल्लेख गरेको छु ।

सामाजिक सुरक्षा


बेलायतको नागरिक भइसकेपछि बढीमा १० वर्षभित्र त्यो नागरिकको आफ्नो घर हुन्छ, घरभित्र उसको सुरक्षित परिवार हुन्छ । ऊसँगकुनै न कुनै काम हुन्छ अथवा ब्यवसाय हुन्छ । कम्तीमा १–२ वटा कार हुन्छन् ब्यवसाय घाटामा गयो भने कतिपय अवस्थामा ऋृण सहुलियत वा मिनाहा पनि हुन्छ । काम हुँदै भएन भने वा हुन नसक्ने अवस्थामा उसलाई जीवनआधारको न्युनतम रकम सरकारले दिन्छ । कोरोना महामारीको समयमा सरकारले प्रत्येक परिवारलाई न्युनतम मासिक ६ सय पाउन्ड दिएको थियो । बेरोजगार छ भने बाच्नका लागि भत्ता उपलब्ध गराउँछ । बच्चा जन्मियो, बच्चाको हेरचाह सबै काउन्सिलहरुले गर्दछन् । शिशुको पोषणको लागि र आमाको स्वास्थको लागि सरकारले मासिक न्युनतम् ३ सय पाउन्ड सहयोग उपलब्ध गराउँछ । प्रत्येक साता नर्सहरु आएर आमा र बच्चाको स्वास्थ परिक्षेण गरिरहेका हुन्छन् । ६५ वर्ष उमेर पछि जुनसुकै नागरिकलाई जीवननिर्वाह भत्ता दिइन्छ अथवा ३५ वर्ष लगातार कर तिरेपछि सर्वसधारण नागरिकले समेत पेन्सन पाउँछन् ।
खेलकुद, स्वास्थ र शिक्षा अधिकांश निःशुल्क छ । स्वस्थ हावापानी वा शारीरिकरुपमा फिट रहन प्रत्येक ५–७ मिनेटको पैदल यात्रामा हरियाली पार्कहरु, ब्यायामशालाहरु, शौचालयहरु भेटिन्छन् । सामान्य पानी पलाउने मुहान र कुलोहरुलाई समेत संरक्षण गरिएको छ । धाराको पानीलाई शुद्ध पारेर प्रत्येकको नागरिकको घरघरमा पुर्याइएको छ । खाली जमिनमा घर बनाउँदा ६० प्रतिशत हरियाली छाड्नै पर्छ । आवसीय क्षेत्रमा घर बनाउँदा २० प्रतिशत नगरपालिकाका लागि छाड्नु पर्छ । हामी साम्यवादको कल्पना गर्ने कम्युनिष्टहरुले खोजेको सामाजिक सुरक्षाका लागि राज्यले गर्नुपर्ने सम्पूर्ण दायित्व राज्यले निभाएको छ ।

मानव सुरक्षा


कुनैपनि नागरिकले सम्मानसाथ बाच्न पाउनुपर्छ बाच्नका लागि खानपाउनु पर्छ, सहजसँग हिडडुल गर्नुपर्छ र शान्तिसँग बस्न पाउनु पर्छ भन्ने बेलायतको पहिलो शर्त हो । यी मानवअधिकारका आधारभूत सर्तहरु पनि हुन् । मानवअधिकार उपभोगको प्रत्यक्ष अभ्यास बेलायतमा देखिन्छ । कोही पनि दुर्घटनामा घाइते नहोस् भनेर सोही अनुसारको सडकको ब्यवस्थापन गरिएको छ । चीसो नलागोस् भनेर सोहीअनुसारका घरभवनहरु निर्माण गरिएको छ । मानिस भएपछि कम्तिमा दैनिक २२ सय क्यालोरी खानपाउनु पर्छ, बेलायती शासकहरुले यो बुझेका छन् । काम छैन वा कुनै नागरिकले खान पाएन भने त्यो सरकारका लागि लज्जाको विषय बनेको छ । काउन्सिलहरुले घर नहुनेहरुका लागि आवास र कोठा चाहनेहरुका लागि कोठाभाडासमेत उपलब्ध गराउँछ ।


बेलायतमा कर्मचारीले सेवाग्राहीलाई हप्काएर काम गर्दिन भन्न पाउँदैन । प्रहरीहरु नागरिकसँग ठूलो स्वरले समेत बोल्दैनन् । अपराधी नै रहेछ भने पनि उसलाई मानसिक वा शारीरिक चोटपटक लाग्ने गरी सजाय दिनु अपराध मानिन्छ । चोरले समेत खान नपाएकोले चोरेको हो भनेर प्रमाणित भयो भने उसलाई छुट हुन्छ । बरु राज्यले त्यस्ता चोरहरुलाई खानपाउने ब्यवस्था गरिदिन्छ । भवन बनाउँदा वखतसमेत कुनै बाटो हिड्ने बटुवालाई सानो चोट लाग्छकी भनेर सर्तकता अपनाइएको हुन्छ । नागरिकको जीवनको सुरक्षाका लागि सडक, वस तथा रेलस्टेशन, भवनहरु अपांगमैत्री छन् । हरेक शहरमा रेल पुगेको छ । त्यसपछि लोकल बस र नीजि कारहहरु घरघरमा पुग्ने गरी शहरको डिजाइन गरिएको छ । पानी, विजुली, ग्यास, खाद्यान्नजस्ता सरकारको सुविधा घरभित्रका भौतिक संरचनासम्म जोडिएका हुन्छन् । कोही मानिस नअलमलिउन् भनेर हरेक स्थानमा सूचनाहरु राखिएको छ । बच्चाहरुलाई घरमा होस या सडकमा एक्लो छाड्दा, रुवाउँदा बाल हिंसा मानिन्छ । नेपालमा त हाम्रा प्रहरी र कर्मचारीका कारणले पनि यो मुलुक उँभो लाग्न नसकेको हो । प्रशासनकै अपमान र अहजताका कारणले भकाभक देश छाड्नेहरु बढेका छन् ।

जनपरिचालन


जनपरिचालन अर्थात सिभिक मोविलाइजेसन भन्नसाथ कम्युनिष्ट शब्द र यो भनेको कुनै पार्टीले आफ्ना कार्यकर्ताहरुलाई पार्टी निर्माणमा लगाउने भनेर हामीले बुझ्ने गरेका छौं । तर बेलायत लगायतका युरोप र अमेरिकी मुलुकहरुमा नागरिकलाई उत्पादनमा लगाउने कुरा जनपरिचालन हो । अर्थात कुनै पनि नागरिकहरु कामविना बस्न हँुदैन । कामविना देशमा बस्नुको औचित्य हुन्न । त्यसैले राज्यले हरेक नागरिकलाई कुनै न कुनै काम दिन्छ । काम दिनका लागि काउन्सिल (नगरपालिका)हरुले सहजीकरण गरिदिन्छन् । बेरोजगारहरुले नगरपालिकाको कुनै निकायमा पुगेर तोकिएअनुसारको फारम भरेपछि बढीमा ३ महिनापछि कुनै न कुनै काम मिलिहाल्छ । यदि कामअनुसारको सीप रहेन छ भने प्राविधिक स्कुलहरु हुन्छन्, त्यहाँ गएर सीपसिक्ने अवसर समेत प्राप्त हुन्छ । काम सिकेपछि जागिर मिल्छ, जागिर मिलेपछि उसले ट्याक्स तिर्छ । ट्याक्सले देशको अर्थतन्त्रमा सहयोग गर्दछ भन्ने राज्यको मानसिकता हुन्छ ।

सुशासन


सामान्य सेवाको कामदेखि पासपोर्ट वा भिसा लगाउनु पर्ने वा घरजग्गा किन्नुपर्ने कामका लागि सरकारी कार्यालय धाइरहनु पर्दैन । वेवसाइटमा केके गर्ने भनेर सूचना दिइएको हुन्छ । सो अनुसार सेवाग्राहीहरुले अनलाइनमै कुनै कामको आग्रह गर्दछन् वा हुलाकमार्फत सक्कली कागजपत्रहरु पठाउँछन् । निश्चित दिनपछि सेवाग्रहीलेचाहेको काम सम्पन्न भएर त्यति हुलाकमार्फत आफ्नो घरको ढोकामा आइपुग्छ । कर्मचारीले कागजपत्र यो पुगेन त्यो पुगेन भोली आऊ पर्सी आऊ भनेर सेवाग्राहीलाई दुःख दिदैनन् । बरु कुनै डकुमेन्ट पुगेन वा काम हुननसक्ने भएमात्र कर्मचारीले फोनमार्फत सूचना दिन्छन् । कसैले लाइन बसेर समय बर्वाद गर्नुपदैन ।


कर्मचारीको कुर्सी लञ्चटाइमभन्दा बाहेक एक मिनेट पनि खाली हुन्नन् । प्रशासनको यो सुविधाले समेत नागरिकहरु उत्साही बनेर काम गर्छन् र मेरो देश, मैले कर तिर्नुपर्छ भनेर गर्व गर्छन् । नेताहरु सामान्य हुन्छन्, अनौपचारिक हुन्छन् । कार्यक्रममा सामान्यरुपले आएर आफ्ना कुराहरु राख्छन् अनि कार्यक्रम सकिएपछि सँगै बसेर वियर वा वाइन पिउँछन् । पद सकिएको भोलीपल्ट उसले राज्यको सबै सुविधा त्याग्छ र सामान्य नागरिकसरह जागिर खोज्दै हिड्छ । कतिपय त वेटर वा रेलवे स्टेशनहरुमा सिग्नल देखाउने काम गरिरहेका हुन्छन् । बेलायतको सरकारी सेवामा कसैले झुठो बोल्न पाइदैन । हरेक कुरामा डिजिटल प्रशासन प्रणाली छ । यतिसम्मकी प्राकृतिक श्रोतसाधन, सुर्यको प्रकाश, स्वच्छ हावा, स्वस्थ पानी हरियाली पर्यावरण, चीसोमा तातो र तातोमा चिसो सवैको पहुँचमा हुनुपर्छ भन्ने सरकारले बुझेको छ ।

आर्थिक नैतिकता


विकसित मुलुकहरु पुँजीलाई स्टक राख्दैनन्, सन्ततीको लागि साँच्दैनन्, पुँजीलाई चलायमान बनाउँछन् । पुँजीको परिचालनले कामहरुको सिर्जना हुन्छ, कामले रोजगारी प्रदान गर्छ, रोजगारी भएपछि नागरिकहरु कर तिर्न उत्सुक हुन्छन्, आफूलाई बढी भएको सम्पति अरुको हितमा प्रयोग गर्दछन् । करमा छली गर्न र घुस खानु त महाअपराध नै हो । नेपालका हामी अधिकांश नागरिकहरु नै नैतिकहिन छौं, आफूलाई पुगिसकेपछि पनि लोभ लालच र जतिसक्दो अरुको खोसेर छोरा–नाती पुस्ताका लागि साँच्न खप्पिस छौं । कर तिर्न मान्दैनन् बरु कर छल्नका लागि अनेक प्रयेत्न गरिरहेका हुन्छन् श्रम गर्नुलाई घृणा गर्छन् । अरुको थोरै होस् मेरो चै सबैभन्दा धेरै होस्, म अघाऊँ अरु भोकै मरे मरुन् भन्ने सोच छ । हामी मध्येबाटै अझ नैतिकहिन पात्र सत्तामा पुग्ने गर्दछन् । तिनले राज्यका संरचनाहरु चलाउँदा न यहाँ सुशासन छ नत नागरिक सुरक्षा । वरु भ्रष्टाचार र अराजकता जताततै संस्थागत बन्दैछ ।

दिगो शान्ति


बेलायतको समृद्धिको अर्को आधार दिगो शान्ति हो । आफ्ना नागरिकबीचमा द्धन्द छैन । असन्तुष्टिको आन्दोलन गर्ने फुर्सद पनि कसैलाई छैन । प्रत्येक मानिसहरु अरुलाई सम्मान दिएर हिंसालाई शुरुमै नकार्दछन् । ‘धन्यवाद र सरी’ हामीलाई सामान्य लाग्छ । तर वेलायतमा यी दुवै शब्दले विशिष्ठस्थान पाएका छन् । दिनमा सय चोटीभन्दा बढी यता शब्दहरु प्रयोग गरेर अरुसँग आत्मियता साट्छन् । मानिस र मानिसको सम्वन्धको विषयमा मीठो सांस्कृतिक सम्वन्ध हुनुपर्छ भन्ने कुरा धन्यवाद र सरी शब्दले प्रष्ट्याएको छ । सबैले बरावरी ढंगले बाच्नपाउनु पर्छ भन्ने चेतना छ । सामान्य गालीगलौज गर्ने धम्क्याउनेहरुलाई सूचना आएको १० मिनेटभित्र कारवाहीको दायरा ल्याइन्छ । धनी–गरिव वा ठूलोघर वा सानो अथवा गाउँ र शहरवीच अथवा तँ सानो र म ठूलो जातको भन्ने अहमता छ । मानिस भएपछि उसलाई प्रेम गर्नुपर्छ सम्मान दिनुपर्छ भन्ने संस्कृति छ । यसले हिंसालाई प्रवेश हुनै दिदैँन ।

प्रतिक्रिया