‘सुदूरको घटनाले गठबन्धन केही हुँदैन’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्ता गठबन्धनका २ शीर्ष नेताबीच भेट भएको हो । उनीहरूबीच भेटवार्ता हुँदै गर्दा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए । त्यसपछि तीनै जनाबीच केहीबेर संवाद भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका विषयमा सत्ता गठबन्धनमा समस्या देखिन थालेपछि भएको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । संवादका क्रममा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको विषयका लिएको ‘स्ट्यान्ड’बारे पनि कुरा भएको बताइएको छ ।

१५ गते हुने उपनिर्वाचनको प्रचारका लागि इलाममा रहेका ओली काठमाडौँ आउनासाथ प्रचण्डलाई भेट्न पुगेका हुन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले समग्र राजनीतिक परिस्थितिको समीक्षा गरिएको बताए । प्रदेशमा देखिएका सामान्य समस्याले केन्द्रमा गठबन्धनमा खटपट नआउने उनले बताए ।

अहिलेको भेटघाट सामान्य भएको भन्दै लामिछानेले सबै राजनीतिक विषयका सामान्य समीक्षाका लागि मात्रै भेट गरेको बताए । ‘केन्द्रमा भएका कारणले प्रदेश पनि प्रभावित भएका त हामीले देखिरहेका छौँ । तर प्रदेशका कारणले केन्द्र केही हुने भन्ने छैन ।’

वैकल्पिक सरकारको प्रयास भएको विषयमा सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘त्यो विषयमा मलाई थाहा छैन । त्यस्तो केही होइन । म यहीँ थिएँ । पूर्वप्रधानमन्त्री ओलीजी आइसक्नुभएपछि हामी छलफलमा बसेका हौँ । खास केही एजेन्डामा होइन ।’

प्रतिक्रिया