सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारीकाे दाबी पेश, एमालेको पनि समर्थन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीलाई एमालेले समर्थन गरेको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री उम्मेदवार अघि सारेको हाे ।

तर नेकपा एमालेले सोडारीलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएको थियो । अन्ततः बिहीबार पछिल्लो समय एमाले उनैलाई समर्थन गर्न सहमत भएको बताइएको छ । एमालेकै समर्थनमा समाजवादीका सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

सुरुमा सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान थियो । तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनकै कसरत गरेपछि एमाले पनि समर्थन गर्न बाध्य भएको हो । संविधानको धारा १६८ (२) अनुसार सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेकाे एकीकृत समाजवादीका सांसद नरेश शाहीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेको बताइएको छ ।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा इच्छा नदेखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गरेको बताइएको छ । प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको दोस्रो पटकको म्याद आज सकिँदै छ । प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रो पटक दाबी पेशका लागि दिएको समय आज साँझ ५ बजे सकिन लागेको हो ।

एउटै नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्ष र रेशम चौधरी पक्ष दुवैबाट मुख्यमन्त्रीमा दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गरेर ती दुवैको दाबी अस्वीकृत गरी पुनः दोस्रो पटक दाबी पेश गर्न दलहरुलाई समय दिएका हुन् । यसअघि मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दल सुदूरपश्चिमले पनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया