‘होस्टेल ३’ बन्ने

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्ने भएका छन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । चलचित्रको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।

यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन । उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन् ।

यसअघि २०७६ सालमा निर्माता रावल आफैँले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए । विविध कारणले उनले चलचित्र बनाएनन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ भने निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला, सह निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए । यी दुवै चलचित्र ‘टिनएज ड्रामा’मा आधारित थिए । घरेलु बक्स अफिसमा दुवै चलचित्र सफल भएका थियो । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए । उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने संकेत गरे ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । पहिलोपटक चलचित्र निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशकदेखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन् । उनका चर्चित भिडियोहरूमा पुस्पन प्रधानको चर्चित गीत ‘बाबुको जुङो’, राजेश राइको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ आदि रहेका छन् । उनले स्वर दिएको गीत ‘एक दिन त जाने हो संसार छोडेर’ निकै चर्चित छ ।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्सको प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । चलचित्रका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए । यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखिएको निर्देशकले बताए ।

प्रतिक्रिया