नगरप्रमुखको विरोध गर्ने उपप्रमुखसहितको जम्बो टोली भारत गएपछि आलोचना

रौतहट । रौतहटको गरुडा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको टोली भारत भ्रमणमा गएपछि नकारात्मक टिप्पणी हुन थालेका छन् । नगरपालिकाका नगरप्रमुख कन्थमणि प्रसाद जायसवाल र प्रतिपक्षीको भूमिकामा रहँदै आएकी उपप्रमुख पुनम कुमारी चौधरीसहितको जनप्रनिधिहरुको जम्बो टोली पाँचदिने भ्रमणको लागि मंगलबार भारत प्रस्थान गरेका हुन् ।

नगरप्रमुख जायसवालले सामाजिक सञ्जालमा आफ्ना नामको फेसबुक अकाउण्टबाट भ्रमण टोलीमा सहभागी भएका जनरतिनिधि तथा नजिकका समर्थकहरुको फोटो शेयर गर्दै पाँच दिनको धार्मिक तीर्थ यात्रामा हरिद्वारदेखि आयोध्यासम्म लेखेर साझा गरेपछि टिप्पणी हुन थालेको हो ।

नगरप्रमुख जायसवालले पाँच दिवसीय धार्मिक यात्राले धार्मिक पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्थाको बारेमा जानकारी पाउने अवसर प्राप्त हुने दाबी गरेका छन् । गरुडा नगरपालिकाको प्रमुखमा प्रत्यासी युवा नेता दिपक यादवले नगरपालिकाका जिम्मेवार व्यक्ति सामूहिक रुपमा एकै पटक पाँच दिने भारत भ्रमणमा जानु आम जनताप्रतिको उत्तरदायित्वलाई भुल्नु भनी प्रतिक्रिया दिएका छन् ।

धार्मिकस्थलको भ्रमण गर्नु राम्रो कुरा भए पनि सामूहिक रुपमा पक्ष र विपक्षको जम्बो टोली जानु भनेको राज्यको रकम भ्रष्टाचार गर्नु नै रहेको दिपक यादवले टिप्पणी गरेका छन् । नगरप्रमुखको चर्को विरोध गर्ने जनप्रतिनिधिहरुले मेयरसँगै भ्रमणमा सहभागी हुनु नै भ्रष्टाचारको विषयलाई सामसुम गरी अघि बढ्ने योजना नै भएको नेता यादवले दाबी गरेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको अवस्थामा पनि धार्मिक तीर्थ स्थलको अवलोकन भ्रमण गर्न भन्दै सबै जनप्रतिनिधिहरु भ्रमणमा जानु गैरजिम्मेवार कार्य रहेको गरुडा नगरपालिका– ५ निवासी शैलेन्द्र यादवले बताएका छन् । उनले नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य भ्रमणमा गएपछि कुनै दुर्घटना भए जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।

नगरपालिकामा कार्यरत रहेका कर्मचारीलाई समयमा तलब दिन आनाकानी गर्ने नगरप्रमुखले भ्रमणको लागि के कुन स्रोतबाट रकम ल्याएको भनी सार्वजानिक गर्नुपर्ने स्थानीय वडा नम्बर ६ निवासी रबिन्द्र यादवले माग गरेका छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य प्रत्यासी सन्तोष साहले आफ्नो नगरमा भएको धार्मिकस्थलको विकास गर्नेतर्फ चासो नदेखाउने गरुडा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो समर्थकको साथ भारतको तीर्थस्थल भ्रमणको लागि जानु जनताका करको रकम दुरुपयोग गर्ने नियत रहेको भन्दै आलोचना गरेका छन् ।

नगरप्रमुख चौधरीसहित वढाध्यक्ष अम्बिका सहनी, रामबाबु चौधरीलगायतका १० जनाले नगरप्रमुख जायसवालले नगरपालिकाको रकम अनियमितता गरेको, खर्चको विवरण सार्वजानिक नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरेर एक महीनासम्म नगरपालिकाको कामकाज अवरुद्ध परेका थिए ।

नगरप्रमुखको बजेटको लागि चर्को विरोध गर्ने उपप्रमुख चौधरीले मेयरसँगै धार्मिक तीर्थ यात्रामा सहभागी भएको देखिँदा चर्को आलोचना भइरहेको छ । भ्रमण टोलीमा नगर उपप्रमुखको पक्षका १४ जनासहित करीब ७० जना सहभागी भएको आलोचकहरुको दाबी छ ।

प्रतिक्रिया