‘ब्रेक थ्रू’

बहुचर्चित नागढुंगा सुरुङ मार्ग सोमबार छिचोलिएको (ब्रेक थ्रू) छ । ५१ महिना अघिदेखि निर्माण थालनी गरिएको यो सुरुङ मार्गको ब्रेक थ्रू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भव्य समारोहका बीच गरिएको छ । थानकोटको बस्नेतछापदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङ मार्गको लम्बाइ साढे दुई किलोमिटर छ । सुरुङ मार्ग बनेसँगै सडकको लम्बाइ करिब ६ किलोमिटर छोटिएको छ । २२ अर्ब रुपैयाँ लागतको यो परियोजन निर्माणका लागि जापान सरकारले निःशुल्क प्राविधिक सहयोग तथा साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ । नेपालका अन्य आयोजनाका तुलनामा यो आयोजना निर्माणको अवधि खासै धेरै लम्बिएको देखिएन । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का लगाइएकोमा कोराना महामारी तथा स्थानीय जनताको समस्या समाधानमा ढिलाइ गरिँदा थप नौ महिना समय लागेको छ । सुरुङ ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम गत फागुन २३ गते तय भएको थियो । समय नजिकिँदै जाँदा स्थानीयले खानेपानी, सिँचाइ लगायतका माग राखेर एक महिना काम ठप्प पारे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि चैत ६ गतेबाट पुनः निर्माणको काम सुरु भएको थियो । ब्रेक थ्रू को काम सम्पन्न भए पनि अन्य पूर्वाधार निर्माण बाँकी रहेका कारण सुरुङ मार्गमार्फत यातायातका साधन गुड्न अझै १० महिना लाग्ने आयोजनाले जनाएको छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

ब्रेक थ्रू समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नागढुंगा सुरुङ मार्ग सुचारु हुनासाथ नेपालले आर्थिक संमृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे । हाम्रो देशका नेताहरूले दिने अभिव्यक्ति धेरैजसो हचुवा हुने गरे पनि नागढुंगा सुरुङ मार्गका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति यथार्थ हो । यो सुरुङ मार्ग नेपालको सडक यातायात विकासको नयाँ फड्को हो । राजधानी काठमाडौं र पश्चिम नेपालबीच ढोका खुलेको हो । अहिले गुर्जुधारादेखि सिस्नेखोलासम्मको साविकको सडक दुरी आठ किलोमिटर लामो छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि साढे दुई किलोमिटरमा झर्नेछ । तर, ६ किलोमिटर मात्रै छोटिनु पनि सामान्य उपलव्धी होइन । खासगरी धादिङको सिस्ने खोलादेखि नागढुंगा भन्ज्याङसम्मको करिव तीन किलोमिटर उकालो र घुम्ति सडक खण्डमा हुने सवारी जामले धेरै ठूलो सास्ती दिने गरेको छ । यो तीन किलोमिटर खण्ड छिचोल्न करिव एक घण्टा लाग्ने गरेको छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि यो सास्तीमा पूर्णविराम लाग्नेछ । दैनिक लाखौँ जनता ओहोरदोहोर गर्ने सडकको एक घण्टा यात्रा छोटिनु भनेको देशका लागि धेरै ठूलो समयको बचत हो । यसैगरी दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्ने सडकको दुरी ६ किलोमिटर छोटिनु भनेको पनि धेरै नै पेट्रोलियम बचत हुनु हो । वातावरण प्रदुषण नियन्त्रणमा धेरै ठूलो योगदान पुग्नु हो । साथै धादिङ जिल्लाको धुनीबेँशी नगरपालिका क्षेत्र पनि राजधानी काठमाडौं सहरकै एउटा अंश बन्नु हो । धुनिबेँशी नगरपालिकाको क्षेत्रफल करिब करिब काठमाडौं उपत्याका जत्तिकै छ ।

भूमिगत सडक निर्माणद्वारा दुरी छोट्याउन सकिने संभावनाका ठाउँहरू नेपालमा धेरै छन् । तर यति ठूलो संभावना हुँदा हुँदै पनि भूमिगत सडक निर्माणमा हाम्रो मुलक भरखर बामे सर्दैछ । यसको पहिलो कारण आर्थिक हो । किनकी भूमिगत सडक निर्माणको लागत धेरै नै महँगो पर्छ । नेपालमा अहिले निर्माणाधिन सुरुङ सडक मार्गहरूको लागत प्रतिकिलोमिटर १० अर्ब रुपैयाँको हाराहारीमा छ । नेपालजस्तो पहाडी मुलुकका लागि सुरुङ मार्ग बरदान जस्तै हो । सुरुङ मार्ग अर्थात भूमिगत सडक निर्माण गर्दा जग्गा जमिन मासिँदैन । वातावरणीय विनास पनि खासै हुँदैन । एउटा उपत्याका तथा बेँसी क्षेत्रलाई अर्को उपत्यका तथा बँेसीक्षेत्रसँग जोड्न भिराला पहाड खोतलेर सयौं घुम्ती तथा मोड भएका उकाला सडक निर्माण भइरहेका छन् । जसका कारण वन विनास, जग्गा जमिनको विनास, भूक्षय, सडक दुर्घटनाजस्ता समस्या निम्तिने गरेका छन् । तर, भूमिगत सडकले यी सबै समस्याबाट मुक्ति दिन्छ । पहिलो कुरा त उउटा उपत्यका र अर्को उपत्यकालाई निकै छोटो दुरीमा यातायातले जोड्न सकिने भएकोले समय र इन्धनको धेरै ठूलो बचत हुन्छ । दोस्रो कुरा वन विनास, जग्गा जमिनको विनास, भूक्षयको संभावना हुँदैन । भूमिगत सडक सिधा हुने भएकोले दुर्घटनाको संभावना न्यून हुन्छ । सवारी साधन भिरबाट पल्टने समस्या रहँदैन ।

प्रतिक्रिया