‘मोस्ट वान्टेड सिरियल किलर’ पक्राउ

मधेस ब्युरो । रौतहट प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘सिरियल किलर’ शेख नुरुल्लाहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । रौतहटका २ चर्चित हत्याकाण्डका ‘मास्टर माइन्ड’ मानिएका र प्रहरीको सर्वाधिक खोजीमा रहेका नुरुल्लाहलाई प्रहरीले भारततिर भाग्न लागेको अवस्थामा सीमा क्षेत्रबाट मध्यराति २ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै रौतहटको देवाही गोनाही नगरपालिका–१ का ५२ शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो । नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुर बेलबिछवा चोक नजिक नेपाल–भारत सीमावर्ती क्षेत्र भएर भारततर्फ जाने क्रममा आइतबार बिहान २ बजे पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

२०८० जेठ ११ गते मध्यराति साढे १२ बजेतिर देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका थिए ।

तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेशकुमारलाई पक्राउ गरेको थियो । दुवै जना कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र निजका भाइ खलिउल्लाह फरार थिए ।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । हत्याका मुख्य आरोपी नै फरार रहेको अवस्थामा प्रहरीले खोजी गरिरहेको थियो ।
आरोपी नुरुल्लाहसहितका व्यक्तिहरू सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घरसम्म ओहोरदोहोर गरिरहेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा आइतबार बिहहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले जानकारी गराइन् ।
यसैगरी २०७७ भदौ ३ गते राति ९ बजे माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको खाना खाइरहेकै अवस्थामा गोली हानी हत्या भएको थियो । उक्त हत्याकाण्डमा पनि नुरुल्लाहको प्रमुख भूमिका रहेको भनिएको थियो । देवाही गोनाही नगरपालिका–१ का तत्कालीन वडाध्यक्षसमेत रहेका शेख नुरुल्लाहसहित ७ जना मिलेर घटना घटाएको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीले नुरुल्लाहसहित ७ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रहरीको खोजीमा रहेका नुरुल्लाह २०७८ साउन २२ गते शुक्रबार दिउँसो १ बजे नाटकीय शैलीमा रौतहट जिल्ला अदालतमा उपस्थित भएर तत्कालै २ लाख धरौटीमा रिहा भएका थिए ।
पुजारी हत्यामा अदालतबाट रिहा भए पनि तैयब हत्याकाण्डपछि फरार रहेका नुरुल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीले ठुलो सफलता पाएको चर्चा जिल्लामा छ ।

पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता तथा डिएसपी गिरीले जानकारी गराइन् । पक्राउ परेका नुरुल्लाहका भाइ खलिउल्लाह अझै फरार रहेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको कार्यभार सम्हालेपछि पहिलोपटक अन्तक्र्रिया कार्यक्रममा देखिएका एसपी दिलीप घिमिरेले रौतहटलाई आपराधिक क्रियाकलापबाट मुक्त जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू हाजिर भएपछि जिल्लाको ‘मस्ट वान्टेड’ सूचीमा रहेका शेख नुरुल्लाह पक्राउ परेको र पक्राउसित सम्बन्धित चुनौती सकिएको तथा कानुनी कारबाही अगाडि बढाउने जानकारी गराए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया