नाउपाको ‘घरझगडा’ र नेकपा एसको ‘ट्विस्ट’पछि संकटमा सुदूर

एकीकृत समाजवादी आफैँ एमालेबाट टुक्रिएर बनेको पार्टी हो । अहिले प्रदेशमा भए पनि स्थान पाउन सक्ने आशामा ‘तुक’बिनाका अनेक हत्कण्डा अपनाउँदै छ । यसले प्रदेशसभालाई नै संकटमा लाँदै छ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अहिले दोहोरो नेतृत्वको भुमरीमा घुमिरहेको छ । पार्टी एउटा, तर पार्टीको नेतृत्वमा २ जनाको दाबी । त्यो पनि पति र पत्नीको । घरझगडाझैँ देखिने नाउपाको नेतृत्व विवादले अहिले सुदूरपश्चिम सरकार नै अन्योलमा छ । सुदूरमा अहिले दलहरूका २ वटा गठबन्धन सरकार बनाउन सक्रिय छन् । केन्द्रमा भएको गठबन्धनलाई यहाँका दलहरूले स्वीकार गरेका छैनन् । एकातिर कांग्रेस, नेकपा एकीकृत समाजवादी, राप्रपा र नाउपाका रेशम चौधरी पक्षधरहरू एउटा गठबन्धनमा छन् भने नेकपा माओवादी केन्द्र, नेकपा एमाले, स्वतन्त्र सांसद र नाउपाकी रञ्जिता श्रेष्ठ पक्षधर सांसदहरू एउटा गठबन्धनमा छन् ।

लोकेश ढकाल, राजनीतिक विश्लेषक तथा कांग्रेस नेता

एकीकृत समाजवादी आफैँ एमालेबाट टुक्रिएर बनेको पार्टी हो । अहिले प्रदेशमा भए पनि स्थान पाउन सक्ने आशामा ‘तुक’बिनाका अनेक हत्कण्डा अपनाउँदै छ । यसले प्रदेशसभालाई नै संकटमा लाँदै छ । – लोकेश ढकाल, राजनीतिक विश्लेषक तथा कांग्रेस नेता

नाउपाका सांसदहरू भने दुवै गठबन्धनमा बाँडिएका छन् । सुदूर सरकार गठनमा निर्णायक मानिएको दल नै २ भागमा विभाजित हुँदा सुदूरमा अहिले राजनीतिक संकट उत्पन्न भएको छ । यसको झल्को आइतबार राम्रैसँग देखियो । २ वटा गठबन्धनबाट मुख्मन्त्रीका लागि २ जना आ–आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखसमक्ष पुगे । तर, दुवै जना एउटै पार्टीका सांसद थिए । नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । उनी कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा दाबी पेस गर्न दिउँसो २ बजे प्रदेश प्रमुख कार्यालय पुगे ।

त्यसको केहीबेरमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा नाउपाका अर्का सांसद कैलाशकुमार चौधरीले पनि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरे । एउटै पार्टीबाट २ जनाको दाबी र दुवैले बुझाएको समर्थनको सूचीमा एउटै दलका सांसद देखिएपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति नै ‘होल्ड’ गरेका छन् । आवश्यक कानुनी परामर्शमा जुटेका प्रदेश प्रमुख मियाँ आवश्यक परे हस्ताक्षर सनाखत गराउने पक्षमा छन् ।

नागरिक उन्मुक्तिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षबीचको विवादका कारण एकै दलबाट २ जनाको मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्रीमा दाबी पेस गर्ने लक्ष्मणकिशोर रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार रञ्जिता पक्षधर हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा आइतबार सर्वोच्चको आदेशसँगै ५२ सदस्य छन् । कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई केही दिनअघि उनकै पार्टीले पदमुक्त गराएको थियो । तर, आइतबार सर्वोच्च अदालतले प्रदेश सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय आदेश कार्यान्वयन गर्न रोक लगाएसँगै उनको पद सुरक्षित भएको छ ।

सुदूरमा सरकार गठन गर्नका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिममा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यस्तै कांग्रेसका १८ र राप्रपाका १ सांसद छन् भने तारा जोशी स्वतन्त्र सांसदका रूपमा छिन् ।

नाउपा अध्यक्ष श्रेष्ठको पक्षमा अहिले २ र संरक्षक चौधरीका पक्षमा ५ सांसद छन् । पार्टीभित्रको आन्तरिक किचलोपछि रञ्जिता र रेशम पक्षबीच सुदूरपश्चिममा प्रतिष्ठाको लडाइँ चलिरहेको छ । कांंग्रेससँग माओवादीको गठबन्धन टुटेसँगै सुदूरमा प्रदेश प्रमुखले बहुमत सदस्यसहित आइतबारसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार दुवै पक्षबाट दाबी पेस भएको हो । केन्द्रको सत्ता समीकरणमा भएको फेरबदलसँगै सुदूरपश्चिममा नाउपा नेतृत्वको सरकार बन्ने सहमति भएको थियो ।

रञ्जिताको एक्सनमा सर्वोच्चको लगाम

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

नाउपाभित्र आन्तरिक विवाद बढेपछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र सभामुखलाई पठाएकी थिइन् । रञ्जिताकै पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले २६ चैतमा गिरी प्रदेशसभा सदस्यबाट पदमुक्त भएको सूचना निकालेको थियो ।

रेशम चौधरी पक्षका गिरीसहित ५ सांसद मुख्यमन्त्री कमलबहादुर शाहको सरकारमा गएका थिए । रञ्जिताले सरकारबाट फिर्ता आउन दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै राज्यमन्त्रीसमेत रहेकी गिरीलाई कारबाही गरेकी थिइन् । स्पष्टीकरण सोध्दा पनि जबाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरेकी थिइन् ।

आफू पदमुक्त भएसँगै गिरीले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले गिरीलाई जनताको प्रतिनिधित्व गर्ने कार्यमा असर पुग्न जाने ठहर गर्दै इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदमुक्त भएको सूचना प्रकाशित गर्ने सभामुखको निर्णय र त्यससम्बन्धी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै गिरीलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यको हैसियतमा रहेका काम गर्न रोक नलगाउन पनि अन्तरिम आदेश दिएको छ ।

जब माधव नेपाल बिच्किए

सुदूरप्रदेशको सरकार गठनमा उत्पन्न भएको समस्या हेर्ने हो भने २ मुख्य कारक तत्व देखिन्छ । एउटा नाउपाभित्रै भइरहेको विवाद हो भने अर्को एकीकृत समाजवादीको दोहोरो चरित्र । एकीकृत समाजवादी केन्द्रको गठबन्धनमा माओवादी र एमालेसँगै छ । तर, सुदूरपश्चिमको सरकार गठनमा भने कांग्रेससँग मिसिएको छ ।

हुन त एकीकृत समाजवादीले सुदूरमा आफूले पनि मुख्यमन्त्री पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएको थियो, तर त्यस्तो अवस्था नदेखिएपछि केन्द्रको गठबन्धनलाई बेवास्ता गर्दै सुदूरमा आफ्नो अलग भूमिका प्रस्तुत गर्याे ।

केन्द्रीय सत्ता गठबन्धनमा प्रदेश सरकारबारे भागबन्डा हुँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने सहमति भएको थियो । सोही सहमतिअनुसार एकीकृत समाजवादीले अन्य प्रदेशमा एमाले, माओवादी र जनता समाजवादी नेतृत्वको सरकारलाई साथ दिएको थियो । तर, सहमतिविपरीत आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नाउपालाई दिने सहमति गरेपछि एकीकृत समाजवादीले सुदूरमा आफ्नो फरक भूमिका देखाएको हो ।

सुदूरमा देखिएको नाटकीय राजनीतिक फेरबदललाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसका नेता लोकेश ढकाल अहिलेका राजनीतिक दलहरूले राजनीतिको नीति, सिद्धान्त र नियमलाई नै लत्याएर सत्ता केन्द्रित राजनीति मात्र गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले देखिएको त केवल राजनीतिक अराजकता मात्र हो ।’

मुख्यमन्त्री नपाएको झोँकमा गठबन्धनलाई नै लत्याएको एकीकृत समाजवादीलाई त उनले ‘तुकबिनाको पार्टी’को संज्ञा दिए । ‘एकीकृत समाजवादी आफैँ नेकपा एमालेबाट टुक्रिएर बनेको पार्टी हो,’ ढकालले भने, ‘प्रदेशमा टिक्नका लागि भए पनि अनेक हत्कण्डा अपनाउँदै छ । त्यसको प्रतिफल भविष्यमा राम्रो नदेखिन सक्छ ।’

प्रतिक्रिया