नयाँ वर्षमा आउँदै यी फिल्महरु

काठमाडौं । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।

वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहेका छन् । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।

‘यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ’, अभिनेता राईले भने, ’यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पुरा भयो । यो कथा धेरैसम्म पुर्याउनु थियो ।’

डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता बिपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताए । ‘हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौँ’, उनले भने, ‘वर्तमान समयलाई दस्तावेज गरेका छौँ । यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ ।’

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ ।
निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उनको दाबी छ । बैशाख महिनाको पहिला्े दिन तीनै नेपाली चलचित्रको शो भरिभराउ भएकाले कूल तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ ।

नयाँ वर्षकै अवसरमा पार्दै चलचित्र ‘यो मन त मेरो नेपाली हो’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरलाई नेपालको झन्डा र शान्तिको प्रतीक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राखिएको छ। पोस्टरमा कलाकारहरू बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराल, रोशन श्रेष्ठ र आयुषा समाललाई राखिएको छ ।

नेपाली भाषाको इतिहासलाई बुझाउने जनाइएको यो चलचित्रलाई नर प्रधान (मित्र)ले निर्देशन गरेका छन् । यसमा नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको पनि अभिनय रहेको छ। हालसम्म रिलिज मिति भने तोकिएको छैन । पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सौरभ लामाको छायांकन, दीपक शर्माको सगीत, शिवंम अधिकारीको लेखन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यसैबिच, अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पार्दै प्रदर्शनरत नेपाली चलचित्र ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ । स्वप्निल स्मृतिको शब्द रहेको यस गीतमा पवन गिरीको स्वर रहेको छ भने झुमा लिम्बुको सगीत रहेको छ । गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ । भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ ।

प्रदर्शनको दोस्रो दिन शनिवार बिहानैदेखि यस चलचित्रले हाउस फूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ । रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ । यसमा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया