ठमेल क्षेत्रका लागि नयाँ वर्षको नयाँ उपहार

काठमाडौंको ठमेल तथा दरबार मार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई विशेष खुशी ल्याउँदै नयाँ वर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते देखि ठमेल तथा दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गरिएको छ । अहिलेसम्म ठमेल क्षेत्र बिहान ५ बजेदेखि राती १० बजेसम्म मात्रै खुला रहने गथ्र्यो । विशेष पर्यटकीय क्षेत्र भएकोले २४ सै घण्टा खुला गर्नु पर्ने माग व्यवसायीहरुले राख्दै आएका थिए । तर शान्ति सुरक्षा व्यवस्थापनमा चुनौति उत्पन्न हुने भन्दै व्यवसायीहरुको यो माग प्रति नेपाल प्रहरी सकरात्मक हुन सकिरहेको थिएन ।

यस अघि बामदेव गौतम गृहमन्त्री तथा केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि ठमेल क्षेत्र २४ सै घण्टा खुलाउने पहल भएको थियो , तर यो पहल सफल हुन सकेन । यस पटक गृहमन्त्री रवि लामिछाने सकरात्मक रहेकोले ठमेलका पर्यटन व्यवसायीको माग पुरा भएको हो । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८०’ जारी गरिएको छ । व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ । ठमेल र दरबारमार्ग क्षेत्रलाई रातभरी सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ ।

नेपाल आउने पर्यटकमध्ये करिव ४० प्रतिशत ठमेल पुग्ने गरेको अनुमान छ । ठमेल क्षेत्रमा मात्रै करिव १० हजार पर्यटन व्यवसायीहरु छन् । करिव एक लाखले रोजगारी पाएको मोटामोटी आनुमान छ । २४ सै घण्टा खुला गर्दा आठ–आठ घण्टा तीन सिफ्टमा काम गर्नु पर्ने भएकोले थप ५० हजारले प्रतक्ष रोजगारी पाउने व्यवसायीहरुको दावी छ । यातायात व्यवसायीहरुले पाउने रोजगारी छुट्टै छ । हस्तकलाको कुल निर्यातमध्ये लगभग ४० प्रतिशत सामान यसै क्षेत्रबाट विदेशिने गरेको व्यवसायीहरुको भनाई छ । ठमेल क्षेत्रलाई रातभरी खुला गरिनु प्रसंसनीय छ । तर जाडो सिजनमा बेलुका पाँच बजे पछि र गर्मी सिजनमा बेलुका आठ बजे पछि राजधानी काठमाडौं उपत्याकामा सार्वजनिक यातायातका साधनहरुको सुविधा छैन । जसका कारण संझाँझै सटर बन्द गरेर निवास फर्कन व्यवसायीहरु वाध्य छन् । राजधानी काठमाडौं उपत्याकाको चक्रपथ तथा सो क्षेत्र भित्र कम्तिमा पनि राती १० वजेसम्म सार्वजनिक यातायात संचालन हुने व्यवस्था मिलाउन सकिएन भने २४ सै घण्टा खुल्दैमा ठमेल क्षेत्रले अपेक्षित लाभ लिन सक्दैन ।

चौविसै घण्टा खुला गर्दा यातायात तथा शान्ति सुरक्षाको व्यवस्थापन चुनौतिपूर्ण छ । यातायात तथा सुरक्षा व्यवस्था थप भरपर्दो नबनाउँदासम्म रात्रिकालिन व्यवसाय टिक्न संभव छैन भन्ने कुरा विगतका अनुभवले पुष्टि गरेको छ । त्यसैगरी ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबास छ । रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा उत्पन्न हुने ध्वनिका कारण स्थानीय बासिन्दा क्रमशः विस्थापित भइरहेका छन् । भगवान बहाल क्षेत्र बाहेक ठमेलका स्थानीयहरु बसाँइ सराँई गरी तितर वितर भएका छन् । स्थानीय रैथाने आदीबासी तितरवितर हुनु भनेको लोकसंस्कृतिमा पनि असर पर्नु हो ।

राजधानी काठमाडौं पर्यटकीय नगरी हुनुको मुख्य कारण स्थानीय लोकसंस्कृति हो । यो लोकसंस्कृतिको जर्गेनाका लागि पनि ठमेल क्षेत्रका विस्थापित स्थानीय जनताहरु एकै ठाउँमा बसोबास गर्न मिल्ने गरी पायक पर्ने कुनै स्थानको व्यवस्था गर्ने तर्फ ध्यान दिनु जरुरी छ । ३० वर्ष अघिको ठमेल क्षेत्रको पर्यटकीय बजारको आकार भन्दा अहिलेको पर्यटकीय बजारको आकार १० गुणा फैलिएको छ । यो फैलावट दक्षिणी क्षेत्रतिर भयो भने परम्परागत काठमाडौं समाप्त हुनेछ । त्यसैले पश्चिमतर्फ स्वयम्भू , उत्तरतर्फ बालाजु र पूर्वतर्फ नागपोखरीसम्म बिस्तारका लागि पहल अगाडी बढाउन कत्ति पनि ढिलाई गरिनु हुन्न ।

प्रतिक्रिया