एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आज भएको समूह ‘ए’ मा नेपालले आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

सुरुमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाउँदै कतारलाई जितका लागि २११ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो ।

कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए । बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई–दुई, अविनास बोहरा र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । योसँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन् ।

ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए । बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराएको थियो ।नेपालले समूहको तेस्रो खेल ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स औयुएईओ छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया