इलामका पत्रकारद्वय सुन्दास र राराहाङ पुरस्कृत

इलाम । इलामका दुई जना क्रियाशील पत्रकारहरु पुरस्कृत भएका छन् । शनिबार इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको अन्तुमा आयोजित कार्यक्रममा पत्रकार बिक्रम सुन्दास (तिलबिक्रम) र रीता राराहाङ १०–१० हजार राशीको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको आशिष स्मृति पत्रकारिता पुरस्कारबाट सुन्दास र क्रियाशील पत्रकार महिला पुरस्कारबाट राराहाङ पुरस्कृत भएका हुन् । पुरस्कृत पत्रकारद्वयलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराललगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

२०६४ सालमा स्थानीय इलामको रेडियो फिक्कलबाट पत्रकारितामा क्रियाशील राराहाङ सुनसरीको सप्तकोशी एफएम र काठमाडौंको इन्डिनियस टेलिभिनजनमा आवद्ध छिन् । २०७५ सालमा स्थानीय चियाबारी एफएमबाट पत्रकारितामा क्रियाशील सुन्दास भने इलामकै रेडियो बुद्धवाणी एफएममा आवद्ध छन् ।

इलामका स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा महासंघले स्वर्गीय राईको स्मृति दिवसमा नयाँ वर्षमा पुरस्कार वितरण गर्दै आइको छ । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।

सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा जन्मेका राईको निधनपछि २०६० सालमा महासंघ इलामले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ कोष खडा गरी पुरस्कार स्थापना गरेको थियो । यता २०७७ सालमा महासंघ इलामले ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ कोष स्थापना गरी क्रियाशील पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया