अमेरिका कपडा पठाएर डलर भित्र्याउने योजनामा दुई युवा

नेपालजस्तो सानो उत्पादन भएको देशबाट अमेरिकाजस्तो शक्तिशाली देशमा कपडा उत्पादन गरेर पठाउने उनीहरूको योजना सुन्दा सफल होला त ? भनेर जो कोहीले प्रश्न गर्ने अवस्था छ । तर, नेपालमा काम गर्ने वातारण नभएको आरोप लागिरहँदा सुप्रभा र देवराज भने नेपालमै उद्यमी बन्ने सपना देखेर संघर्ष गरिरहेका छन् ।

काठमाडौं । विदेश जाने युवाहरूको लर्को लागिरहेको बेला यी दुई उत्साही युवा भने नेपालबाट अमेरिकामा लुगा पठाएर डलर भित्र्याउने योजनाका साथ लागिरहेका छन् । झट्ट सुन्दा विश्वास नै नलाग्ने खालको यो योजना सफल हुने उनीहरूको विश्वास छ । सिनामंगलमा जन्मिएकी २६ वर्षीया सुप्रभा ओझा र इटहरीमा जन्मिएका २८ वर्षीय देवराज भण्डारी मिलेर नेपाली लुगा उत्पादन गरिरहेका छन् ।

ललितपुरको जावलाखेलमा कार्यालय खोलेर काममा अनवरत खटिरहेका उनीहरूले काठमाडौं नरेफाँटमा गार्मेन्ट चलाइरहेका छन् । सुप्रभा र देवराजले हिजोआज सपनामा समेत लुगा देखिरहेका छन् । कस्तो डिजाइन बनाउने, बजारमा माग कस्तो हो, कसरी आफ्नो यो योजनालाई प्रचारप्रसार गर्ने भन्ने प्रश्नहरूको उत्तर खोज्न उनीहरूको मनैदेखि लागेका छन् । नेपालजस्तो सानो उत्पादन भएको देशबाट अमेरिकाजस्तो शक्तिशाली देशमा कपडा उत्पादन गरेर पठाउने उनीहरूको योजना सुन्दा सफल होला त ? भनेर जो कोहीले प्रश्न गर्ने अवस्था छ । तर, नेपालमा काम गर्ने वातारण नभएको आरोप लागिरहँदा सुप्रभा र देवराज भने नेपालमै उद्यमी बन्ने सपना देखेर संघर्ष गरिरहेका छन् ।

देशमै केही गरौँ भन्ने हुटहुटी मात्रै होइन सूचना प्रविधि (आइटी)मा स्नातक गरेकी सुप्रभाले सानैदेखिको सपना उद्यमी (बिजनेस म्यान) बन्ने रहेको बताइन् । पढेर राम्रो जागिर खान मनले नमानेको उनले बताइन् । घरपरिवारबाट राम्रो साथ पाएकी उनले कपडाको व्यवसाय रोज्नुको कारण देवराज भण्डारी पनि हुन् । ‘मलाईचाहिँ बच्चादेखि नै बिजनेस (उद्यमी) नै हुनु थियो । मलाई मनपर्ने पनि बिजनेस नै हो । मैले पढ्नचाहिँ आइटी पढेँ । मलाई आइटी पढेर जागिर खान मनै लागेन । अनि मेरो पारिवारिक साथी देवराज भण्डारी मेरो घरमा आएको मौकामा लुगाको विषयमा छलफल भएपछि यो कम्पनी सुरु गरियो । सुप्रभाले सुरुआतका दिनको बेलिबिस्तार लगाउँदै भनिन, ‘मेरो बुबा आमाको चाहाना जे गरे पनि राम्रो गर भन्ने थियो । मलाई परिवारले विश्वास गरेकै कारण यो क्षेत्रमा हाम फालेकी हुँ ।’

नयाँ व्यवसायको खोजीमा रहेका देवराजका लागि पनि यो भेटघाट कोसेढुंगा सावित भयो । अरू काम खोज्नुभन्दा यसैक्षेत्रमा मिहिनेत गर्ने दुबै जनाको सहमति भयो । सोही अनुसार उनीहरूले सन् २०२० मा ‘फर अल म्यानुफ्याक्चरिङ कम्पनी’ सुरु गरे । व्यवसाय सुरु गर्दा निकै संघर्ष गर्नुपरेको सुप्रभाले सुनाइन् । ‘सन २०२० मा कम्पनीको सुरुआत गरिएको हो । हामीले सुरुआतमा त एउटा नयाँ डिजाइन दिएर कपडा अरू गार्मेन्टमा उत्पादन गराउने भन्ने सोचेका थियौँ तर त्यो त्यति सहज रहेनछ ।’ सुप्रभाले अनुभव सुनाइन्, ‘नेपालमा दुई प्रकारका गार्मेन्ट रहेछन् । एउटा स्थानीय बजारमा सामग्री पठाउने परम्परागत, जसले हामीजस्ता युवाको भिजन तथा डिजाइन नै नबुझ्ने । अर्को खालको चाहिँ एकदमै महँगो सामान उत्पादन गर्ने, जसले चाहिँ विदेशमा मात्र उत्पादन पठाउने ।’ उनले भनिन्, ‘दुवै प्रकारका गार्मेन्टसँग हाम्रो भिजन नमिलेपछि छुट्टै खालको लुगाको गार्मेन्ट खोल्न पुगेका हौँ । गार्मेन्टको मात्र काम गरेर नहुने भएपछि म्यानुफ्याक्चरर (उत्पादक) नै भएर काम थालेको हौँ ।’

हाल उत्पादकको रूपमा काम गरिरहेका बताउँदै सुप्रभाले भनिन्, ‘नेपालमै बसेर उद्यमी बन्ने चाहाना अनुरूप चार वर्ष अगाडि जसरी हामी गार्मेन्ट खोज्दै हिँडेका थियौँ, त्यसरी नै अहिले युवाहरू आइरहनुभएको छ । जो उद्यम गर्न चाहन्छन् उनीहरूले माग गरेको आधारमा हामीले न्यूनतम पनि २५ थानबाटै उत्पादन गरिदिने गरेका छौँ ।’ सानो लगानी गरेर थोरै थोरै उत्पादन गरेर अगाडि बढ्न चाहने युवाहरूलाई प्रोत्साहन गर्नकै लागि फर अल म्यानुफ्याक्चरिङले थोरै अर्डरमा पनि उत्पादन गर्न लागेको उनले बताइन् । ‘हामीसँग बजारमा चलिरहेका हरेक लुगाको उत्पादन हुन्छ । ग्राहक व्यवसायीले माग गरेको उत्पादन तयार गर्न हामी तयार छौँ’, उनले भनिन्, ‘डिजाइन अनुसारको उत्पादन हामी कहाँ हुन्छ । मात्रा हामीले तोकेर गर्दैनौँ तर मागअनुसार जति पनि हुनसक्छ ।’

यो व्यवसायमा चार वर्षसम्म उनीहरूले संयुक्तरूपमा करिब २० लाख लगानी गरिसकेका छन् । चार वर्ष संघर्षमै बितेको सुप्रभाले बताइन् । उनले भनिन्, ‘हामी आधार बनाउँदै छौँ । यो हाम्रो सुरुआतको सिकाइ हो ।’ कारोबार बढाउन, उत्पादन बढाउन उनीहरू रातदिन नभनी लागिरहेका छन् ।

अमेरिकामा बजार

‘लुगा उत्पादन गरेर डलर भित्र्याउने भन्ने बित्तिकै पत्याउनै नसकिने खालको लागे पनि हामीले बजार विस्तारका लागि पहल थालेका छौँ’, सुप्रभाले भनिन्, ‘हामीले अमेरिकाको कर्लस एन्ड काम भन्ने कम्पनीसँग सम्झौता पनि गरिसकेका छौँ । डिजाइन उनीहरूको हुन्छ, उत्पादन हामी गर्छौं । हामीले उत्पादन गरेको लुगाहरू त्यो कम्पनीले बेच्ने काम गर्छ । नेपालमा उत्पादित लुगाको बजारीकरणको लागि यो सम्झौता भएको हो ।’

वातावरणमैत्री कच्चा पदार्थ

कम्पनीले वतावरणमैत्री कच्चा पदार्थमा जोड दिएको सुप्रभाको भनाइ छ । ‘हामीले उत्पादन गर्ने लुगामा सकेसम्म नेपाली अर्गानिक कच्चा पदार्थ प्रयोग गर्ने गर्दछौँ ।’ उनले भनिन, ‘हामीले यहाँ शतप्रतिशत कटनको लुगा मात्रै होइन पेन्टिङमा पनि रसायन तथा मिसावटरहित विरुवाबाट बनेको मसी खालको रङको प्रयोग गर्छौं ।’ उनले आफ्नोे उत्पादनमा टाँक पनि प्लास्टिकको नभएर लप्सीको गेडा, आरुबखडा र अन्य काठबाट बनेका टाँकहरू प्रयोग गर्ने गरेको बताइन् ।

‘द बटन लेडी’ भनेर चिनिने लक्ष्मी शर्माले उत्पादन गरेका टाँकहरू प्रयोग गर्ने गरेको सुप्रभाले जानकारी दिइन् । विश्वभर बटन बनाएर नेपाली हस्तकला र कलालाई चिनाउने महिला हुन् लक्ष्मी शर्मा । लक्ष्मीको कम्पनीले १५ हजारभन्दा बढी बटनको डिजाइन बनाइसकेको पनि उनले बताइन् । सुप्रभाले भनिन्, ‘कटनको धागो पनि नेपाली नै होस् भन्ने हाम्रो चाहाना हो । हाम्रा उत्पादनमा पुनः प्रयोग गर्न सकिने खालको कच्चापदार्थ प्रयोग गरेका छौँ । जो वातावरणीय हिसाबले एकदमै राम्रो हो ।’ वातावरणीय हिसाबले राम्रो उत्पादनको माग विश्वभर रहेको बताउँदै सुप्रभाले यस्ता बस्तु उत्पादन गर्न मिहिनेत र बढी लागे पनि यस क्षेत्रको भविष्य उज्ज्वल रहेकोे बताइन् । उनले भनिन्, ‘हामीले कच्चा पदार्थ नेपाली नै गर्नुपर्छ भन्ने मान्यताअनुसार काम गरिरहेका छौँ । सकेसम्म सबै कुरा नेपाली नै राख्ने हाम्रो प्रयास छ । नेपालीबाटै कच्चा पदार्थ खरिद गर्ने गरेका छौँ ।’

बजारको प्रतिक्रिया

सञ्चालक सुप्रभाका अनुसार उत्पादन गरेर बजारमा पठाइसकेका लुगाहरूका बारेमा एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । जसको कारण उनीहरूलाई अगाडि बढ्न उत्साह थपेको छ । उनले भनिन्, ‘हामीले नमुना पठाइसकेका छौँ । प्रतिक्रिया राम्रो आएको छ । हामीले अमेरिकामा पठाउने काम पनि थालेका छौँ । अरू मुलुकमा पनि पठाउनका लागि पनि अध्ययन गर्दैछौँ ।’

फर अल म्यानुफ्याक्चरिङले उत्पादन गरेका लुगाको मूल्य तोक्ने अधिकार जसले बजारमा पठाउने मुख्य बिक्रेता हो उसैको हुन्छ । यस विषयमा सुप्रभाले भनिन्, ‘जसले माग गरेको हो बजार मूल्य उसैले तोकेर बजारमा बेच्ने हो । हामीले अर्डर अनुसारको मूल्य लिएर माग गर्ने व्यक्ति वा कम्पनीलाई दिन्छौँ । हामीले व्यापारीलाई दिने हो । उहाँहरू आफैँले त्यसलाई कतिमा बेच्ने भन्ने निर्णय गर्नुहुन्छ ।’ उनले थपिन्, ‘हामी उत्पादक भएको कारण हामीले प्रत्यक्ष आमनागरिकबाट मूल्य लिने होइन । हामीले युवालाई उद्यमी बनाउने काम गररिरहेका छौँ । विदेशिनुभन्दा नेपालमै बिजनेस गर्नुपर्छ भनेर आउने युवाहरूको माग तथा डिजाइनअनुसार हामीले उत्पादन गरिदिने हो । हामीले उत्पादन गरेका लुगाहरू लिने ग्राहक व्यापारी एकभन्दा बढी छन् । बजारमूल्य उहाँहरूले नै तोक्ने हो । त्यो लुगा उहाँहरूको ब्रान्ड नै हो । हामीले अर्डर अनुसारको उत्पादन गरिदिने मात्रै हो ।’

रोजगारी

सामाजिक हिंसामा परेका तथा पीडित युवती महिलाहरूलाई काम दिइरहेको बताउँदै सुप्रभाले भनिन्, ‘उत्पादनमा आधारित काम भएकोले हामीसँग पारिश्रमिकको लागि टाउको दुखाउनुपर्ने अवस्था छैन । हाम्रो फ्याक्ट्रीमा आउने कामदारहरू सामाजिक हिसाबले पीडित पनि हुनुहुन्छ ।’ घरेलु हिंसामा परेका, परिवारबाट उपेक्षामा परेकाहरूलाई प्राथमिक दिने गरेको उनले बताइन् । ‘गाउँघरमा हिंसामा परेका युवतीहरूको उद्धार गरेर एउटा संस्थाले तालिम दिएर हामीसँग काम गरिरहनुभएको छ । हामीले पनि तालिम दिएर थप कुशल बनाएका छौँ ।’ सुप्रभाले भनिन्, ‘सामाजिक हिंसामा परेका ६ जना युवती अहिले पनि कार्यरत हुनुहुन्छ । सीप लिएर आउनुहुन्छ हामीले थप सिकाएर काममा लगाउने गरेका छौँ ।’ कुनै सीप नसिकेकालाई पनि शून्य तहबाट सिकाउने योजना पनि बनाएको सुप्रभाले सुनाइन् ।

फर अल म्यानुफ्याक्चरिङमा उत्पादनको आधारमा काम गर्नेहरू धेरै छन् । हाल उत्पादनमा १२ जना र आइटी लगायतमा चार जनाले नियमित काम गरिरहेका छन् । बजार मागअनुसार उत्पादनको आधारमा पारिश्रमिक दिएर काम गराइरहेको सञ्चालक सुप्रभाले बताइन् ।

उनले भनिन, ‘हामीकहाँ नियमितभन्दा पनि मौसमी रोजगारी हुन्छ । दसैँतिहार तथा चाडपर्वको समयमा धेरै नै माग आउने भएकोले धेरै जना काम गर्ने व्यक्ति राख्छौँ । माग नआएको समयमा उहाँहरू अन्त काम गर्नुहुन्छ । हामीले कामको चापको आधारमा जनशक्ति लिने गर्दैछौँ । कामकै आधारमा पारिश्रमिक पनि दिने गरेका छौँ ।’

सूचना प्रविधि हेर्ने चार जना नियुक्त गर्नुको कारणबारे सुप्रभाले भनिन्, ‘हामीले हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय स्तरमा बढाउनको लागि आइटी क्षेत्रबाट काम गरिरहेका छौँ । अहिले सूचना प्रविधितर्फ पनि बलियो उपस्थिति जनाउन सक्नु समयको माग हो । विदेशमा दिनरात दुःख गर्नुभन्दा नेपालमै उद्यम गरेर डलर भित्र्याउने योजनाका साथ हामी काम गरिरहेका छौँ ।’

भावी योजना

नेपालमा केही गर्न सकिँदैन भनेर विदेश पलायन हुने प्रवृत्ति कम गर्न केही मात्रामा भए पनि प्रभाव पार्नसके आफूहरू सफल भएको मानिने सुप्रभा र देवराजको तर्क छ । उनीहरू भविष्यमा उद्यमसँगै दुःखी पीडितको लागि रचनात्मक हिसबाले सहयोग गर्ने योजनामा छन् । समाजसेवा गर्नेसम्मको सपना देखेका उनीहरू जे जस्तोसुकै परे पनि यो काम छाडेर पलायन नहुने अठोट गरेको बताए । नेपाली उत्पादनलाई अमेरिकामा स्थापित गर्ने योजना रहेको सुप्रभाले सुनाइन् । उनले भनिन्, ‘म सफल उद्यमी बन्न चाहान्छु । नेपाली उत्पादनलाई विदेशमा चिनाउन चाहन्छु ।’

प्रतिक्रिया