इन्द्रावतिको माथ पाँचपोखरीको यात्रा

यात्रा संस्मरण

बिमला अन्टीले ओहो ! स्विट्जरल्यान्ड ! स्विट्जरल्यान्ड !! भन्दै कराउनुभयो । उहाँको आवाज सुन्ने बित्तैके थाकेको शरीरमा पनि ऊर्जा सञ्चार भयो । हत्त न पत्त उठेर हेर्न गएँ । म स्विट्जरल्यान्ड त गएको छैन तर फोटोमा देखिएको स्विट्जरल्यान्डभन्दा यो धेरै मनमोहक थियो । सबै जना एकतमासले उक्त स्वर्गजस्तै देखिने ठाउँलाई नियालिरहनुभएको थियो । हिँड्न गाह्रो भएको मामु पनि यहाँ आएपछि कराउनुभयो, वाऊ ! आहा !!

‘मेरो एक महिना बिदा भयो घुम्न जाने होइन त’ भनेर बाबाले मामुलाई भन्दै हुनुहुन्थ्यो । मामु पनि जाने नि कहाँ लैजाने लैजानु त भन्दै बाबालाई जिस्काउँदै हुनुहुन्थ्यो । बाबाले रारातालको प्रस्ताव राख्नुभयो । मामुले रारातालमा त गाडी गइहाल्छ नि, त्यहाँ त पछि पनि जान सकिन्छ अहिले हिँडेर जाने ठाउँमा जाउँ न, मलाई पाँचपोखरी जान मन लागेको छ भन्नुभयो । बाबाले स्वीकृति दिनुभयो । को को जाने त ? बाबाले सोध्नुभयो । मामुले छोरीलाई पनि बिदा लिन भन्नुपर्ला अनि सबै जाने नि हुँदैन र ? अ साँच्ची भाइले पनि जाने कुरा गरेको छ, उसलाई छुटाउनु हुँदैन नि ? अनि मेरा केही साथीले पनि जाने कुरा गरेका छन् तिनीहरूलाई पनि भन्नुपर्छ नत्र गाली खाइन्छ । यी सबै कुरा मैले पल्लो कोठबाट सुनिरहेको थिएँ । मामुले मलाई पनि लैजाने कुरा सुनेपछि मनमा खुसीको सञ्चार भयो । अफिसमा बिदा जसरी पनि मिलाउनुपर्ला भन्दै भुसुक्क निदाएँ ।

आखिर त्यो दिन आयो २०८० कात्तिक १७ गते शुक्रबार । दसैँ सकिएको तिहार नजिकिँदै गरेको बेला हर्ष र उमंगले भरिएको समय, न जाडो न गर्मी, मौसम जीवन्त भएको यस समयमा हामी निस्कियौँ प्रकृतिमा रमाउन । गन्तव्य थियो सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालस्थित ४ हजार १ सय मिटर उचाइमा रहको पाँचपोखरी । साथमा थियौँ ११ जना (बाबा, मामु, मामा, आयुध (भाइ), सृष्टिना (बहिनी), छिमेकी रमेश अंकल र उहाँकी पत्नी सम्झना, बिमला अन्टी र उहाँको छोरा बिजय र शोभा अन्टी) । गोकर्णेश्वरको नारायणटारबाट सिन्धुपाल्चोकको छिम्तीसम्ममको टिकट बाबाले अघिल्लो दिन नै काटिसकेको हुनाले हामी बिहान ६ः४५ बजे घरबाट निस्कियौँ । करिब ७ः०० बजो दक्षिणढोकाबाट हामी सबैजना गाडीमा चढ्यौँ ।

काठमाडौंदेखि मेलम्चीसम्मको यात्रा यो तेस्रोपटक भए पनि छिम्तीसम्मको भने पहिलो थियो । साँखु, जहरसिंहपौवा, नाङ्लेभारे बाहुनेपाटी हुँदै गाडीले हामीलाई ९ः०० बजे मेलम्ची पुर्यायो । सुरुमा आएको भन्दा अहिले मेलम्ची अर्कै लाग्यो । २०७८ असार १ गते आएको बाढीले मेलम्चीको मुहार नै अर्काे बनाएछ । खोला घरमा पसेको हो कि घरचाहिँ खोलामा त्यो ठम्याउनै नसकिने बनाएको रहेछ । बुढापाकाले आगो र पानीसँग कहिल्यै नखेल्नु भनेको प्रमाण आज आफ्नो आँखै अगाडि प्रत्यक्ष देखियो । जीवनभरको पसिना खर्चिएर बनाएका कंक्रिटका महलहरूलाई एकैछिनमा खण्डहरमा परिणत हुँदा कतिका आँशुका भेल नदीसँगै बगे होलान् भन्दै मेरो मन साह्रै दुःखित् भयो । खोलासँगै बस्ती बसाल्दा नदी नियन्त्रण गरी पूर्वाधारको विकास निर्माण भएको भए पक्कै पनि कम क्षति हुन्थ्यो भन्ने कुरा आफू इन्जिनियर भएको नाताले आँकलन गरेको थिएँ । हामी सबैले बिहानको चियानास्तासँगै निर्दयी प्रकृति र जीवनको कुरा गर्दै ९ः२० मा हामी त्यहाँबाट अगाडि बढ्यौँ ।

मेलम्चीको पानीको सपना बुनेको काठमाडौं र त्यसका लागि निर्मित टनेलको पोर्टल देखेर आशाको किनारहरूले फेरी ऊर्जा थप्ने काम गर्यो । गाडी धापड्याम हुँदै अगाडि बढ्यो । गाडी तेर्साेबाटो छाड्दै उकालो लाग्न थाल्यो । पहाडका बस्ती खाली, गाउँघर शून्य, खेतबारीहरूमा बगाउने पसिना युवाले खाडीमा रमाउने गरेको कुरा सुनेको यो मनले यहाँका खेतबारीमा कलात्मक तथा आकर्षक टेरेस खेती देख्दा मन प्रफुल्ल बनायो । खेतबारीमा सबैतिर कोदो र धानको बाला झुलिरहेका थिए । गाउँ रमणीय थियो । आँगनमा लालाबाला खेलिरहेका देखिन्थे । आमाबाहरू घाम तापिरहेका देखिन्थे । मकैको माचले अझ सुन्दरता थपिरहेको थियो । गाडी रैथाने महादेव हुँदै उकालो लाग्यो । सानो तालले घरेको त्यो स्थानमा महादेव, माता पार्वती, र गणेशको मन्दिर रहेछ । पाँचपोखरीको कान्छी छोरी भन्ने नामले त्यो ठाउँ प्रसिद्ध रहेछ । कालो ढुंगा, पहरा, घुम्ती, कच्ची सडक भिरालो जमिन, त्यहाँ बसेको बस्ती निहाल्दै थिएँ, गाडी रोकियो । गाडीको अन्तिम गन्तव्य, आइपुग्यो ‘छिम्दी’ । यसो घडी हेरको ठ्याक्कै मध्यान्हको १२ः०० बजेको रहेछ ।

सबैजना ओर्लियौँ । छेउमै भित्तो तासेर बनाएको पाँचपोखरी भीम अर्ज्ुन शंकर होटल रहेछ । खाना खाएर बाटो छोट्याउने कुरा भयो र बाबा खानको अर्डर गर्न जानुभयो । मेरो मने भने नजिकै झुलिरहेका कोदोबारीतिर थियो । गएँ र टिकटक बनाएँ, ‘कोदो फुल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा ।’

खाना पाकिसकेको हुनाले खाना खायौँ । भोक मिठो हो कि भोजन ? सायद दुइटै थियो त्यसबखत । हिँड्ने तर्खर गर्दै थियौँ जोरपाटीका प्रख्यात कवि गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ र उनका छोरासँग पनि भेट भयो । उहाँहरू पनि त्यस बसबाटै पाँचपोखरी जान आउनुभएको रहेछ । सबै जना १२ः४० मा खानापश्चात अगाडि लाग्यौँ । सबै जना सबैकुरा बिर्सेर वर्तमानमा रमाउन थालिसकेका थिए । सबैको मुहारमा मुस्कान थियो ।

त्यही बेला हाम्रो ध्यान अगाडि रहेको झरनाले तान्यो । पाइपको माध्यमबाट डाँडाको टुप्पोबाट खसालिएको मानवनिर्मित यो झरनाको नाम रहको ‘ड्रयागन’ । नजिकै थियो प्राकृतिक खोला र ससाना झरना । त्यही खोलामाथि बनेको झोलुंगे पुल पार गर्दै उकालो लाग्यौँ । भर्खर खाना खाएको ज्यान, पारिलो राप, उकालो बाटो, स्याँ स्याँ सुरु हुन थालिहाल्यो । लगाएका लुगा पनि बढी हुन थाल्यो । टोलीका साथी कोही अघि कोही पछि ।

कम बोल्न मन पराउने मान्छेभित्र सायद म पनि पर्छु होला । तर, आज म प्रकृतिसँग जिस्कँदै, ढुंगासँगै मस्किँदै, वरिपरि जो आउँछन् सबलाई साथी बनाउँदै, क्यामरामा कैद गर्दै, हरेक पललाई जीवन्त पार्दै उकालो उक्लन थालेँ । साथीलाई पर्खने निउँमा शीतलमा थकाइ मार्दै गरेका मीठा गफले यात्रालाई ऊर्जा थपिरहेको थियो । अलिकति हिँड्न पनि साधन खोज्ने बानी परेको यो शरीरलाई आज मानौँ प्रकृतिले नै समाएर डोर्याइरहेको भान हुन्थ्यो । हामी पनि प्रकृतिसँगै टाँस्सिएर हात समाउँदै हिँडिरह्यौँ । थकाइ मार्दै, उकालो लाग्दै अगाडिको गन्तव्यको कल्पना गर्दै यात्रा निरन्तर चलिरह्यो । करिब २ः०० बजे हामी देउराली पुग्यौँ ।

देउराली एउटा सानो बस्ती रहेछ । केही खानबस्नका लागि होटल पनि रहेछन् । आफ्ना निजी सवारी पनि यहाँसम्म आउन सक्ने बाटो रहेछ । त्यहाँ केही निजी मोटरसाइकल र केही जिप पनि त्यहाँ थिए । हामीले त्यहाँको चिसो पानी खाएर उकालो लाग्यौँ । आजको हाम्रो गन्तव्य थियो टुप्पी डाँडा । टुप्पीडाँडाको नाम कसले राखेको होला ? किन राखेको होला ? जिज्ञासा राख्दै हामी अघि बढ्यौँ । चञ्चलता भरिएको प्राकृतिक छहराले साँच्चै नै मनलाई प्रफुल्लित गराउँछ । बाटामा भेटिएका ससना छहराले पनि हामी सबैलाई उत्साह बढाएको थियो । छहरासँगै खेल्दै यादहरूलाई कैद गर्दै यात्रालाई निरन्तरता दियौँ । जंगलको बाटो, उकालो, सूर्यास्त हेर्दै हामी ५ः०० बजे टुप्पी डाँडामा पुग्यौँ । केही साथी आउँदै हुुनुहुन्थ्यो । हामी (मामा, आयुध, सृष्टिना र म) पहिला नै पुगेर त्यहाँको टुप्पी होटेलमा बासका लागि बुक गर्यौँ । टुप्पी डाँडामा पुगेपछि थाहा भयो त्यहाँको नाम रहेछ, ‘ब्रोङदोगाङ’ । उचाइ रहेछ २ हजार ७ सय २० मिटर ।

सबै जना आइपुगेपछि होटलमा झोला बिसायौँ । जाडो भएकाले आगो ताप्तै गफमा मस्त भयौँ । होटेल्नी साउनी भर्खरी रहिछिन् । गफ गर्न पोख्त । जिस्किँदै खाना पकाउन थालिन् । गफको सिलसिलमा त्यहाँको बारेमा जानकारी लिन थाल्यौँ । साहुनीले यो क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यहाँ होटेल थापेवापत निकुञ्जलाई वार्षिक रूपमा केही रकम बुझाउनुपर्ने बताइन् । देउरालीसम्म विद्युत् सुविधा भए पनि यहाँ नभकोले सोलार बाल्नुपरेको र यात्रुको सुविधालाई कुनै कुनै होटेलले जेनेरेटर चलाउने कुरा सुनाइन् । उनले सुनाएको कुरा सुन्दा यो संसारमा सुखी कोही पनि छैनन् जस्तै लाग्यो । हुन पनि कसैलाई केही कसैलाई केही भई नै रहेको हुन्छ । गफको तालमा खाना पनि पाकिसकेकोले खाना खान थाल्यौँ । हामीसँगै यात्रामा जोडिनुभएका बेदमणीका बाबुछोरा पनि हामीसँगै त्यहीँ होटलमा बस्नुभयो । त्यहाँ अर्काे दाजुभाइको जोडीसँग पनि भेट भयो । एकैछिनको भेटमा हामी सबै एकै परिवारका सदस्यजस्तै भयौँ । त्यो होटेलमा सोलार मात्र भएकाले मोबाइल जार्चका लागि अर्काे होटलमा जहाँ जेनेरेटेरको सुविधा थियो त्यहाँ गएर जार्च गर्यौँ ।

काठैकाठले बनेको उक्त होटलमा शौचालयका लागि भने बाहिर जानुपर्नेरहेछ । अध्याँरोमा मोबाइलको उज्यालोमा बाहिर जाँदा अलि डर लागेजस्तो भयो । यतिखेर टर्च नल्याएकोमा पछुतो लागिरहेको थियो । सुत्दा, हिँड्दा र कुरा गर्दा सबै थाहा हुने भएकाले निद्रा सबैलाई पातलो नै भयो । तै पनि आँखा भने लोलाइरहे ।

दोस्रो दिन (कात्तिक १८ शनिबार)

बिहान ५ बजे नै उठेर नित्य कर्मतिर लाग्यौँ । ७० वर्षीय बुबा वेदमणीले त हिँड्ने आँट गरेर आउनभएकोले उहाँको आँटले हामीलाई पनि शरीरमा ऊर्जा सञ्चार भइरहेको थियो । सबै तयारी पश्चात खाना र सुताइको गरी प्रतिव्यक्ति ६ सयका दरले बुझाई ५ः३० बजे झिसमिसैमा हामी अगाडि बढ्यौँ । हामीभन्दा राम्रोसँग मौसम खुलेको थियो । खुल्ला आकाश, जुन र ताराको उज्याले हेर्दै कमिलाको ताँतीजस्तै पछिपछि लाग्योँ । हामीसँगै अन्य यात्री पनि हिँडिरहेका थिए ।


कतै सम्म, कतै उकालो, वरिपरि जंगलले हामीलाई स्वागत गरिरहेको थियो । हाँसोमजाकसँगै जीवनमा भोगेका भोगाइहरू एकआपसमा साटासाट गर्दा शरीरमा थकाइ लागे पनि यात्रा रोमाञ्चक भइरहेको थियो । जंगल सकिनै लाग्दा झोलुंगे पुल देखा पर्यो । ताँगु खोला (२।८९३ मि.) मा बनेको उक्त पुल पार गरेर पारी पुग्यौँ । उक्त पुल पार गर्दा घडीले ७ः३० बजाएको थियो । त्यहाँ एउटा सानो चियाघर रहेछ । त्यही बसेर चिया खायौँ । चियासँगै हामीले लगेको चिउरा, बदाम, दालमोठ र तिलको छोपले मुख मीठो बनायौँ । सम्झनाका लागि उक्त झोलुंगे पुलमा बसेर फोटो खिच्यौँ । कलकल बगेको कञ्चन पानी, हरियाली जंगलले हामी सबैको मन तानिरहको थियो । यसो माथितिर हेरेको ठाडो उकालो रहेछ ।

कतै ढुंगा छापेको त कतै खुल्ला बाटो हुँदै लौरो टेक्दै उकालो लाग्यौँ । थाप्लोमा पुग्दा एक हुल भेडा चराउँदै गरेका गोठालो बा देखिुनभयो । भेडासँगै उहाँको फोटो खिचेर देखाउँदा उहाँले साह्रै रमाइलो मान्नुभयो । उहाँको खुसी देख्दा अहिले नै उक्त उक्त फोटो निकालेर फ्रेममा हालेर दिउँजस्तो भएको थियो । एकछिनको रमाइलोसँगै हामी पुनः उकालो लाग्यौँ । करिब ९ बजेतिर हामी चोकर डाँडा भन्ने ठाउँमा पुग्यौँ ।

चोकर डाँडा डाँडाको ट्प्पामा बसेको ठाउँ रहेछ । त्यहाँ बास बस्नको लागि एउटा होटेल पनि रहेछ । टुप्पी डाँडापछि बास वस्नका लागि यात्री यहाँ आउनेरहेछन् । यहाँ हामी सबैले तात्तातो चिया खायौँ । एकैछिनको थकाइलाई मारेपछि पुनः उकालो लाग्यौँ । बाटामा ढुंगा छापिएकाले हिँडन त्यति अफ्ठ्यारो भने भएन तर थकाइ भने लागिरह्यो । उकालोबाटो वरिपरि गुराँसको जंगलले हामीलाई स्वागत गरिरहेका थिए । अकस्मात एकैछिनमा तलतिरबाट हुस्सु आएर हामीलाई ढाक्न थाल्यो । हामी कुहिरोभित्रै हराउन थाल्यौँ । उकालो हिँड््दा शरीरमा पसिनै पसिना भएको शरीर चिसो चिसो भएको महसुस भयो । कतै पानी परेर यात्रालाई नरमाइलो बनाउने पो हो कि भनेर मनले भनिरहेको थियो । कोही अघि कोही पछि थिए । हुस्सुले पनि लुकामारी गर्न थाल्यो । एकैछिनमा खुला हुने एकैछिनमा ढाक्ने गर्दै थियो ।

केही बेरको उकालो हिँडेपछि माथि डाँडमा नीलो जस्ताले छाएको घर देखियो । शरीरले खाना मागिरहेको थियो । अब त्यही खाना खान पाहिने भयो भनेर सबैको अनुहार उज्यालो भएको थियो । हिँड्न सक्ने मामा, आयुध र सृष्टिना अघि लाग्नुभयो । हामी बिस्तारै उकालो लाग्यो । हेर्दा नजिकै देखिएको उक्त ठाउँ नागबेली बाटोले गर्दा पुग्न धेरै समय लाग्यो । बल्ल त्यो ठाउँ आइपुग्यो । त्यो ठाउँ रहेछ नङ्सलपाटी ।

यात्रीलाई परिचय गराउन राखिएको बोर्ड, केही होटल रहेछन् । बास बस्नका लागि चोकरडाँडा पछि यहीँ रहेछ । यहाँ पुग्दा पानी पर्लाजस्तो भएको थियो तर हिउँ नै पर्न थाल्यो । जीवनको पहिलो फुसफुस हिउँ पर्दाको मज्जा रमाइलो भयो । नरमाइलो त यो भएको थियो कि यहाँका सबै होटेल बन्द थिए । चिसोसँगै भोग लागिरहेको थियो । बेदमणी बुबाका बाबुछोरा यही बसिरहनुभएको थियो । पानीसँगै हिउँ परकाले हामीसँग भएका ओतो झिक्दै झोलामा भएका केही खानेकुरा खान थाल्यो । बाबुछोराले ओढ्ने कुरो ल्याउनुभएको रहेनछ । मामाहरू कहाँ पुग्नुभयो थाहा भएन फोन पनि लागेन । हामी ओत लागेर बसिरहेका थियौँ त्यतिकैमा अतिकति माथि भएको होटलको छेउबाट सृष्टिनाले बोलाइ, यहाँ एउटा होटेल खुला छ । हामी यहीँ छौँ आउनुहोस् । उसले बोलाएपछि हामी त्यस होटेलमा पुग्यौँ । होटलमा पाइलो टेक्ने ठाउँ थिएन । सबैजना चिसोले गर्दा अँगेनाको छेउ वरिपरि थिए ।

हाम्रो टोलीलगायत अन्य टोली पनि सबै जनाले गर्दा भिड भएको थियो । कोही कम्मर सेकाउन त कोही घुँडा तताउँदै थिए । पहिला आउने मामालगायत एक टोलीले खाना खाइसकेका रहेछन् । चिसो मौसम एकैछिनमा चिसो भइहाल्ने । खाना पाक्दै थियो । तरकारी पनि पकाउनुपर्ने रहेछ । मामु अघि सरिहाल्नुभयो । सृष्टिना र मैलो आलु काट्न थाल्यौँ । मामु तरकारी आइरिन थाल्नुभयो । जाडो शरीरलाई तातो बनाउन अँगेनाको छेउमा बस्न पनि पाइने आपैmँले पकाएका खान पाउँदा मिठो पनि हुने । हामीलाई पिकनिक आएको जस्तो भान भयो । केहीछिनमा खान पाक्यो । हामी सबैजनाले खायौँ । वेदमणी बा ले मामुको तारिफ पनि गर्नुभयो । ‘नानी न ज्याँदै मजाको हुुनुहुँदो रहेछ । मिठा खाना खुवाउनुभयो धन्यवाद है’, उहाँले भन्नुभयो । खानाको चार सयका दरले तिर्यौँ । बेदमणी बाले ओढ्नका लागि प्लास्टिक पनि किन्नुभयो । यहाँबाट हिँड्दा १ः४५ बजेको थियो ।

हामीले टेकेर ल्याएका लौराहरू पहिला जाने टोलीले साटेछन् । सजिला लगेर बांगा छोडेछन् । एकछिन त रिस पनि उठ्यो । मनले भन्यो, हामी नेपाली यस्तै हो, हामीले पढेको पनि राम्रो ‘म’ नै हो । नजिकै हेलीप्याड रहेछ । त्यहाँबाट उकालो सुरुभयो । फर्किने यात्री माथि हिँउ परेको कुरा सुनाउँदै थिए । केही बेरको उकालोपछि घुमाउरो तेस्रो जस्तो उकालो ओरालो बाटो आयो । पर क्षितिजको डाँडामा एउटा पाटी देखियो ।

घुमाउरो बाटो एउटा काट्यो । अर्काे त्यस्तै घुमाउरो । हँसिमजाक चलिरहेको थियो अकस्मात हिउँ पर्न सुरु गर्यो । मसिना युरिया मलका गेडाजस्ता देखिने हिँउ पर्दा रमाइलो भयो । हिउँसँग खेल्दै अगाडि बढ्यौँ । चिसो नलागोस् भनेर बर्सादी ओढ्यौँ । बर्सादीभरी जमेको हिउँलाई झार्दै करिब चार बजे लौरिबिनाको फेदीमा पुग्यौँ । मामा जाँडै हिँडेर टुप्पाबाट कराउँदै हुनुहुन्थ्यो । घुमाउरो उकालो पार गर्दै हामी ट्ुप्पामा पुग्यौँ । त्यहाँ पुग्न मामु र सम्झना आन्टीलाई धेरै नै गाह्रो भयो । मामुलाई बाबाले र सम्झना अन्टीलाई रमेश अंकलले हौसला दिइरहनुभयो । टुप्पामा एउटा होटेल रहेछ । यहाँ पनि बस्ने सुविधा रहेछ । मामु होटेलमा ओछ्याएको डस्नामा गएर पल्टिनुभयो । अब नजाने यही बस्ने । भोलि मात्र जाने । भन्न थाल्नुभयो । धेरै नै गाह्रो भएर होला । हामी होटेलभित्र पसेर चिया अर्डर गर्यौँ । मामुलाई पनि खुवायौँ । तातो चियाको चुस्कीसँगै मामु र सम्झना अन्टीलाई तागत आएजस्तो भयो । केहीबेरको बसाईंपछि हामी उकालो लाग्यौँ । हिउँ परिरहेको थियो ।

ठाडो उकालो । ढुंगा छापेको । समाउने रेलिङ । त्यो पनि हल्लिएको । बल्लबल्ल पार गर्यौँ । अघि देखिएको पाटी आइपुग्यो । भञ्ज्याङ रहेछ । त्यही रहेछ लौराबिना । नजिकै लौरोको थुप्रो । बिमला अन्टीले ओहो ! स्विट्जरल्यान्ड ! स्विट्जरल्यान्ड !! भन्दै कराउनुभयो । उहाँको आवाज सुन्ने बित्तैके थाकेको शरीरमा पनि ऊर्जा सञ्चार भयो । हत्त न पत्त उठेर हेर्न गएँ । म स्विट्जरल्यान्ड त गएको छैन तर फोटोमा देखिएको स्विट्जरल्यान्डभन्दा यो धेरै मनमोहक थियो । सबै जना एकतमासले उक्त स्वर्गजस्तै देखिने ठाउँलाई नियालिरहनुभएको थियो । हिँड्न गाह्रो भएको मामु पनि यहाँ आएपछि कराउनु भयो, वाऊ ! आहा !!

फुसफुस परिरहेको हिउँ, ढपक्कै हिउँले ढाकेको बाटो, डाँडो, सेता बादल, क्षितिजमा डुब्न लागेको घाम । अति नै सुन्दर । अलकापुरी । दिव्य आनन्द । अन्त कतै नगई हेरिरहुँजस्तो, बसिरहुँजस्तो । तर, यात्रा अझै बाँकी थियो । यहाँ त यदि सुन्दर छ भने पाँचपोखरीमा कस्तो होला ? मनले भनिरहेको थियो । उक्त ठाउँको दृश्य मोबाइलमा कैद गर्दै लौरोका सहायताले अगाडि बढ्यौँ । बादलभन्दा माथि हामी, वरिपरि हिउँ, डुब्नै लागेको घाम, रंगीन आकाश आँखाले छोड्नै मानिरहेको थिएन । मामा र आयुध बासको व्यवस्था गर्न चाँडो लम्किए । हामी बिस्तारै हिँड्यौँ । करिब ६ बजेतिर हाम्रो गन्तव्य आइपुग्यो, पाँचपोखरी ।

वरिपरि सबै सेतो थियो । हामी आएकाले होला हिउँले पनि हामीलाई स्वागत गरेको थियो । हिजो अस्ती आउनेले यो क्षण देख्न पाएका थिएनन् रे ! ४१ सय मिटर अग्लो ठाउँ भएर होला अक्सिजन कमीले गर्दा सम्झना अन्टी र मामुलाई अलि गाह्रो भएको थियो । बिस्तारै बिस्तारै लसुन चपाउँदै शोभा अन्टी पनि आइपुग्नुभयो । मामाले होटेल बुक गरिसक्नुभएछ । हामी सबैजना होटेलमा पुग्यौँ । मामु र सम्झना अन्टीले तातोपानीसँगै औषधि खाएर ओछ्यानमा पल्टिनुभयो । त्यस्तो ठाउँमा पनि तातो कम्मल र ओछ्यान पाउँदा स्वर्ग नै पुगेको अनुभव भएको थियो ।

खाना पकाउने ठाउँमा बालेको आगो ताप्दै गर्दा पाँचपोखरी व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर तामाङ पनि आउनुभयो । उहाँसँग बाबाले यहाँको बारेमा जिज्ञासा राख्नुभयो । त्यसको जवाफमा अध्यक्ष तामाङले यहाँ ११ वटा होटेल भएको र प्रत्येकमा ३० जनासम्मलाई खानेबस्ने व्यवस्था रहेको बताए । एउटा होटेल नभरिएसम्म अर्काको पालो नआउने पनि बताए । पालो नआएका होटेलले मानिस राख्न नपाउने नियम पनि सुनाए तर आकस्मिक रूपमा भने व्यवस्था गर्न सकिने पनि जानकारी गराए । । हामी पुगेका दिन त्यहाँ १८० जना पुगेका र ती सबैजना कसरी बसेका रहेछन् भनी बुझ्नका लागि उनी हातमा टर्च लिएर निस्केका रहेका छन् । कुराकानीको क्रममा उनले जानकारी गराए । एकैछिनमा खाना पाक्यो । सबैजनाले तातो खाना मिठो मानेर खायौँ र महिला र पुरुषको दुई लस्करबनाएर सुत्यौँ । आजको बासमा हामीसँगै काँढाघारीका दुई दाजुभाइ पनि थिए ।

तेस्रो दिन (कात्तिक १९ गते आइतबार)

हिजो आउँदा रात परिसकेकोले वरिपरिको दृश्य राम्रोसँग देख्न पाइएको थिएन । त्यहाँ पनि पाँचपोखरीको रमणीय दृश्य हेर्नका लागि त्यहाँबाट पनि दुई सय मिटरमाथि जानुपर्ने रहेछ । जहाँबाट सूर्याेदयका साथै वरिपरिका हिमशृंखलाको मनोरम पनि दृश्य देखिन्छ भन्दै हामी बिहान ५ बजे नै उठेर हिँड्ने तयारीमा लाग्यौँ । बाबा, मामा, आयुध, सृष्टिना, मामु, बिमला अन्टी, विजय दादा र म झिसेमिसेमै भ्यू प्वाइन्टतिर लाग्यौँ । बाटो नदेखिएकाले एकछिन अल्मलियौँ । त्यहाँकै एक होटलका साहुजीले बताएको बाटो पहल्याउँदै उकालो लाग्यौँ । हिजो हिँड्दा नै थाकेको शरीर मामु र बिमला अन्टीलाई गाह्रो भयो । बिमला अन्टी फर्कनुभयो । मामुलाई पाँचापोखरीको दृश्य देखिने ठाउँसम्म हौसला दिँदै लगेँ । पाँचै वटा पोखरीको दृश्य देखिएपछि केही फोटो खिचेर बिस्तारै जानु भनेर मामुलाई पठाएदिएँ । मामा र आयुध टुप्पामा पुगेसकेर कराउँदै थिए भने बाबा पुग्न लाग्नुभएको थियो । सृष्टिनालाई अलि गाह्रो हुँदै आएका थियो तै पनि हामी बिस्तारै उक्लँदै ४२ सय मिटर उचाइमा भएको भ्यू प्वाइन्टमा पुग्यौँ ।

हामी पुगेका एकैछिनमा पूर्वबाट सूर्यको पहिलो किरण देखा पर्न थाल्यो । त्यही क्षण हेर्नका लागि त हामी आएका थियौँ । यो दृश्यले सबै थकान कहाँ गयो थाहै भएन । त्यो क्षणलाई कैद गर्न सबैका हातमा मोबाइल । डाँडाभरी मानिसको भिड । उत्तरतिर घामको पहिलो किरण पर्दा सुनभैmँ टल्किएका हिमाल । भुइँमा हिउँका थुप्रो । यो अवस्मरणीय क्षण कहिले बिर्सिएला । मोबाइलको ब्याट्री नसकुन्जेल फोटो खिच्यौँ । करिब एक घण्टाको दृष्यावलोकनपश्चात हामी तल झर्यौँ । क्रमशः पाँचै पोखरीको जलले अभिषेक गर्दै परिक्रमापश्चात इन्द्रावतिको शिरमा गएर नुहायौँ । नजिकै रहेको मन्दिरमा पूजाआजा गरी होटेलमा पुगी खाना खाई सामुहिक फोटो खिची स्वर्गको टुक्रा पाँचपोखरीसँग बिदा माग्यौँ ।

प्रतिक्रिया