वैशाख १ मा मात्र फूल्ने सलहेश फूल

सिरहाको ऐतिहासिक धरोहर सलहेश फूलबारी

सिरहा । सिरहाको लहान नगरपालिका–१२ को पूर्व–पश्चिम राजमार्गसँगै रहेको धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फूलबारीमा प्रत्येक नयाँ वर्षमा मेला लाग्ने गरेको छ । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिन मात्र फूल्ने फूलको दर्शन गर्न हजारौँको संख्यामा भक्तजनहरूको भिड लागेको हुन्छ । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थीहरू आउने गरेका छन् ।

राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रूपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब पाँच हेक्टर जमिनमा फैलिएको फूलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुई वटा हाँगामा पुस्ताँै पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ । ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरूबाट सर्वसाधारणहरूको घुइँचो लागेको हुन्छ । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरूको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलबारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरू गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र १३औँ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोगब्याधि हरण हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरू खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौँको संख्यामा आउने गर्दछन् ।

हरेक वर्षको १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ ।
फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रूपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ । युवायुवतीहरू उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।

फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरूलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पूरा हुने गरेकोले भारतीय पर्यटक भक्तजनहरू आउने गरेका छन् । मेलामा आउने लाखौँ भक्तजनहरूमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेको पुजारीको भनाइ छ । सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रिस क्रोध शान्त हुने गरेको जानकारहरू बताउँछन् ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाहरूले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् ।

प्रतिक्रिया