त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रस्ट्रिार नियुक्त भएका छन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार रेक्टरमा प्राध्यापक खड्ग केसी र रजिस्ट्रारमा प्राध्यापक केदार रिजाललाई नियुक्त गरेका हुन् ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले उनीहरूलाई नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । त्रिवि ऐनअनुसार उपकुलपतिको सिफारिसमा कुलपतिले रेक्टर र रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ । उपकुलपति बरालले उनीहरूलाई १५ चैतमा नियुक्ति सिफारिस गरेका थिए । केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

उनीहरूलाई नियुक्ति दिन त्रिवि सहकुलपति रहेकी शिक्षामन्त्री सुमना श्रेष्ठले पनि सिफारिस गरेकी थिइन् । तर, सत्ताको प्रमुख घटक नेकपा एमालेको दबाबका कारण कुलपति प्रचण्डले लामो समयसम्म उनीहरूलाई नियुक्त गर्न सकेका थिएनन् । एमालेले अर्को नाम सिफारिस गर्न दबाब दिँदै उनीहरूलाई नियुक्त गर्न दिएको थिएन । एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले अध्यक्ष प्राडा वेदराज केसीलाई बनाउन दबाब दिँदै आएका थिए ।

तर, बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएपछि अन्ततः प्रचण्ड गलेका हुन् । आफूले सिफारिस गरेका व्यक्तिलाई नियुक्त नगरेपछि उपकुलपति बराल १ साता लामो बिदामा समेत बसेका थिए ।

प्रतिक्रिया