धर्मसम्बन्धी कम्युनिस्टहरूले बुझ्नुपर्ने सही धारणा

धर्म विचारधाराकै एउटा सबैभन्दा प्रभूत्वशाली तत्त्व बनेर आएको छ । यसकारणले शोषक तथा शोषित वर्ग बीचको संघर्षको अभिव्यक्ति पनि धार्मिकरूपमा समेत हुँदै आएको पाइन्छ । त्यसैले समाजमा आज पनि परिरहेको धर्मको प्रभावलाई बुझ्नु माक्र्सवादका लागि त्यत्तिकै प्रासांगिक हुन्छ, जति अन्य विचारधात्मक रूपहरूलाई बुझ्नु प्रासांगिक हुन्छ ।

लोकनारायण सुवेदी

अरू दर्शनहरूले जस्तो संसारलाई बुझ्ने र व्याख्या गर्ने कुरामा मात्र माक्र्सवादले आफूलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रूपान्तरण गर्ने महत्त्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । ठिक यसै कारणले वास्तवमा अरू आफ्ना पूर्ववर्ती दर्शनहरूभन्दा माक्र्सवाद एकदमै भिन्न र विशिष्ट छ ।

वास्तवमा यो एउटा रचनात्मक सामाजिक विज्ञान हो । विश्वको बौद्धिक विकासको समुच्च सम्पदाको सही अर्थमा सदुपयोग गरेर माक्र्सवादले यस्तो वैज्ञानिक सामाजिक सिद्धान्त र पद्धति मानव समाजलाई प्रदान गरेको छ जसले सामाजिक शोषण, भेदभाव, अन्याय, असमानता, अन्धविश्वास र कुरीतिहरूलाई आमूलरूपमा बदलेर नयाँ मानव समाज निर्माणको मार्गदर्शन गर्दछ । यसप्रकार मानव समाजलाई मुक्ति, समानता र समुन्नतिका निमित्त यसले प्रष्ट दिशा निर्देश गर्दछ । अरू दर्शनहरूभन्दा यी नै कुरामा माक्र्सवाद फरक र विशिष्ट रहेको तथा ज्ञान र व्यवहारको सही विवेचना गर्ने विचार हो ।

माक्र्सवाद अर्थात मानव समाजप्रति जिम्मेवार माक्र्स र एंगेल्सका अत्यन्तै गहन र जिम्मेवारीपूर्ण रचनाहरू फ्रान्सेली समाजवाद, जर्मन दर्शन र भौतिकवाद तथा अग्रेजी अर्थशास्त्रको सही किसिमको संश्लेषण र विकास गरेर विकसित भएको हो । रचनात्मक विज्ञानकोरूपमा माक्र्सवादले वास्तवमा समस्त रचनात्मक चिन्तनलाई यसरी समन्वित गर्दछ । अनि यसरी शोषणमा आधारित विश्व सामाजिक ब्यवस्थाको मात्र होइन, बरु त्यसलाई बदल्ने क्रान्तिकारी लक्षलाई साकार तुल्याउने कारबाहीलाई समेत स्पष्टरूपमा पथ प्रदर्शन गर्दछ । आफ्नो स्वभाविक प्रकृतिबाटै यसरी माक्र्सवाद भौतिक, रचनात्मक र द्वन्द्वात्मक स्वभावको सामाजिक सिद्धान्त हो भन्ने कुरा एकदमै प्रष्ट हुन्छ ।

अतः यो जडसूत्रवाद विरोधी छ । यो एउटा बस्तुगत यथार्थमा आधारित विश्व दृष्टिकोण हो जसले सामाजिक मुक्तिको परिकल्पनालाई अंगीकार र मुक्तिकामी आदर्शलाई अभिव्यक्त गर्दछ । ऐतिहासिक स्थितिमा परिवर्तन ल्याउने विभिन्न प्रवृत्तिहरूलाई केलाउने र बुझ्ने यो एउटा प्रभावकारी र ठोस आधारमा खडा भएको सशक्त हतियार हो । यसले जनताका संघर्षहरूका कार्यक्रमगत लक्षहरूको ब्याख्या गर्दछ । अनि बदलिँदा ऐतिहासिक अवस्थाहरूको आवश्यकता अनुरूप यसले आवश्यक कुरालाई स्वीकार गर्ने र आत्मसात गर्ने क्षमता राख्दछ । यही नै यो सामाजिक विज्ञानको निरन्तरताको नियम हो ।

मानव जातिको प्रगतिको आधारमा एउटा रचनात्मक समाजिक विज्ञानका नाताले माक्र्सवादले स्वयंलाई समृद्ध पार्दछ । यस सन्दर्भमा माक्र्स र एंगेल्सले जे भनेका छन् ती कुराहरूलाई उल्लेख र रेखांकित गर्नु आवश्यक र सान्दर्भिक हुन्छ कि आजसम्मको सम्पूर्ण ज्ञानको इतिहासको सिलसिलामा धर्म विचारधाराकै एउटा सबैभन्दा प्रभूत्वशाली तत्त्व बनेर आएको छ । यसकारणले शोषक तथा शोषित वर्ग बीचको संघर्षको अभिव्यक्ति पनि धार्मिकरूपमा समेत हुँदै आएको पाइन्छ । त्यसैले समाजमा आज पनि परिरहेको धर्मको प्रभावलाई बुझ्नु माक्र्सवादका लागि त्यत्तिकै प्रासांगिक हुन्छ, जति अन्य विचारधात्मक रूपहरूलाई बुझ्नु प्रासांगिक हुन्छ । यसका अतिरिक्त धर्मको सधँै नै एउटा मानतावादी अन्तरबस्तु रहने गरेको छ । यो कुरा स्वयं माक्र्सले पनि स्वीकारेका छन् कि मानिसको हित हुने कुनै पनि कुरा उनका निमित्त पराई कुरा होइन र हुँदैन । यी नै महत्त्वपूर्ण कुराहरूलाई राम्ररी ध्यानमा राखेर समाजमा धर्मको भूमिका र यसबारे माक्र्सवादी अवधारणा बुझ्न र ब्याख्या गर्न सरल र सजिलो हुन्छ ।

धर्मसम्बन्धी माक्र्सवादी धारणालाई लिएर निकै ठूलो बहस लामो समयदेखि निरन्तर चल्दै आएको छ । यस क्रममा मूलतः धर्मसम्बन्धी माक्र्सवादी अवधारणालाई जनसाधारणको सामान्य धारणा सन्दर्भबाट अलग गरेर र काटेर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण । यथार्थ कुरा त के हो भने यस उदाहरणलाई माक्र्सवादका विरुद्ध दुरुपयोग गर्नेहरूले जानीबुझिकनै त्यसको पूरा सन्दर्भ नदिई आंशिकरूपमा त्यसलाई प्रस्तुत गर्ने गर्दै आएका छन् ।

वास्तवमा विश्वका महान दार्शनिक एवं सिद्धान्तकार कार्ल माक्र्सले स्पष्टरूपमा के भनेका छन् भने ‘धार्मिक पीडा एकैपटक वास्तविक पीडाको पनि अभिव्यक्ति तथा वास्तविक पीडाको विरुद्ध विरोध प्रदर्शन पनि हो । धर्म उत्पीडित प्राणीको चित्कार(आह) हो । एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मविहीन स्थितिको त्यो आत्मा हो । त्यो जनताको अफिम हो ।’ (धर्म माक्र्स एंगेल्स ः हेगेलको अधिकारसम्बन्धि दर्शनको आलोचनामा योगदान, पृष्ठ ५१)

धर्म यदि अफिमै हो भने पनि त्यो यस कारणले कि त्यसमा एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने अद्भूत क्षमता हुन्छ, जस्तो व्यक्तिलाई लठ्ठ पार्ने क्षमता अफिममा हुन्छ । कुनै पनि उत्पीडनका निमित्त धर्मले एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिममा हुन्छ । कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनिक राहतको रूपमा पलायनको बाटो प्रस्तुत गर्दछ । त्यसको लागि एउटा हृदयहीन संसारमा हृदय, एउटा आत्मविहीन स्थितिमा आत्मा जुटाइदिन्छ । ठीक यही कारणले धर्म त्यो अफिम हो जसको जनतालाई स्वयं आफूलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ जबसम्म जनता यस्तो स्थितिमा फसेका हुन्छन् । जुन कुरा उनीहरूलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ । वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन् भने सम्पूर्ण धर्म मानिसको दैनन्दिन जीन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरूको मानिसहरूको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्बबाहेक अरू केही होइन । (ड्यूहरिंग मत खण्डन)

सारतः धर्मको माक्र्सवादी अवधारणा त्यसको समग्र दार्शनिक आधारसँग जोडिएको छ । मानिसको साँच्चो स्वतन्त्रता तथा मुक्ति के हो, यस सोझो र महत्वपूर्ण प्रश्नको उत्तरको खोजी गर्दै कार्ल माक्र्सले के विचार गरे भने क्रान्तिको हेगेलवादी विचारलाई छोडिदिनुपर्दछ । उनको समयमा त्यस विचारको प्रतिनिधित्व फायरबाखले गर्दथे । माक्र्सले हेगेलको त्यो विचारलाई परित्याग गरे र उनी बहुतै महत्वपूर्ण निष्कर्षमा पुगे । त्यो निष्कर्ष यस्तो थियो ः ‘मानिसको चेतना समाजिक स्थितिवाट निर्धारित हुन्छ, न कि त्यसको उल्टो मानिसको चेनताले सामाजिक स्थिति बनाउँदछ’ भन्ने कुरा । मानिसको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन । त्यसको विपरीत मानिसको सामाजिक अस्तित्व नै उसको चेतनाको निर्धारक हो’ । (राजनीतिक अर्थशास्त्रको आलोचनाबाट)

यसप्रकार आधारभूत महत्वको निष्कर्ष निकाल्दै माक्र्स भन्दछन्ः अधार्मिक आलोचनाको आधार हो ः ‘मानिसले धर्मको निर्माण गर्दछ । धर्मले मानिसलाई बनाउने होइन, अर्को शब्दमा, चिन्तन तथा त्यसबाट निस्कने बौद्धिक ब्यवहारको दृष्टिबाट मानवीय चेतनाका अरू प्रत्येक अभिव्यक्तिहरूझँै नै धर्म पनि मानवीय समाजिक अस्तित्वकै परिणाम हो न कि त्यसको सामाजिक अस्तित्वको कारण ।’ यस अवधारणाले धर्मलाई कुनै स्वयम्भू बस्तुको रूपमा स्वीकार्दैन । धर्मलाई कुनै यस्तो बस्तु मान्दैन जुन इतिहासमा समाजको गति चालक शक्तिबाट स्वतन्त्र रहेको होस् ।
बस्तुतः ठीक यसै कारणले मक्र्सवादले कोपर्निकस तथा एकलब्यको उत्पीडनको दोष धर्ममाथि थोपर्दैन । त्यसले त ती सबै धार्मिक भाषामा अभिव्यक्त सामाजिक शक्तिहरू तथा आन्दोलनहरूको स्वभाविक अभिव्यक्तिकोरूपमा लिन्छ । किनकि सम्पूर्ण ज्ञात इतिहासमा धर्म विचारधाराको एउटा प्रभूत्वशाली तत्वको रूपमा रहेको छ । अनि जबसम्म यो विचारधाराको रूपमा बनिरहन्छ प्रगतिशील तथा प्रतिक्रियावादी विचार शासक वर्गको निहीत स्वार्थ तथा शोषित वर्गका मागहरू सबै कुरा समानरूपले मानिसहरूको मानसपटलमा प्रतिबिम्बित भइरहनेछन् ।

माक्र्सवादले जहाँ सुफी, भक्ति आदि धार्मिक सुधार आन्दोलनहरूको सकारात्मक तथा प्रगतिशील अन्तरबस्तुलाई चिन्दछ त्यही तिनीहरूको सीमालाई पनि रेखांकित गर्दछ कि कसरी कुन प्रकारका आन्दोलनले धर्मका सीमाभित्र सीमित भएर परिवर्तन ल्याउन सक्तैन, जबसम्म त्यो सामजिक परिस्थितिमा परिवर्तन ल्याउन सकिँदैन, जुन कुनै खास विचार धार्मिकरूपमा प्रभूत्वको स्थितिमा अभिव्यक्त भइरहेको हुन्छ, त्यसबेलासम्म त्यस खास धार्मिक रूप तथा त्यससँग जोडिएका उत्पीडनलाई समाप्त पार्न सकिने छैन । यसरी धार्मिक सुधार आन्दोलनको सकारात्मक अन्तरबस्तुलाई पहिचान गर्नुका साथसाथै माक्र्सवाद धर्मको इतिहासलाई पनि मानव सभ्यता तथा त्यसै अनुरूप मानव चिन्तनको विकासको सीमा राख्न सफल र समर्थ भएको छ । प्रष्ट छ, यसरी धर्म कुनै अलौकिक बस्तु रहेको छैन ।

यस सम्बन्धमा एंगेल्सले प्रष्ट के भनेका छन् भने धर्म त्यस्तो प्रतिबिम्ब हो जसमा लौकिक शक्तिहरूले परलौकिक रूप लिन्छन् । अर्थात् परलौकिक शक्ति बन्दछन् । इतिहासको प्रारम्भमा यस्तो प्रतिबिम्ब प्रकृतिका शक्तिशरुको नै हुने गर्दथ्यो । हाम्रो आफ्नै सन्दर्भमा सूर्य, अग्नि, बायु, नाग आदिको मूर्ति पूजाको आदिम रूप देख्न र बुझ्न यसै प्रसंगमा सकिन्छ । वैदिक कर्मकाण्डहरू सारतः यज्ञमा आधारित छन् जुन अग्नि जगाउने एउटा रूप नै हो ।

तर, धेरै समय बित्न नपाउँदै प्रकृतिका ती शक्तिहरूका साथै सामाजिक शक्तिहरू पनि सक्रिय हुन थाल्दछन् । ती सामाजिक शक्तिहरू पनि मानिसका सामु प्राकृतिक शक्तिजस्तै बाहिर तथा प्रारम्भमा अगम्य लाग्ने शक्तिकै रूपमा आउँदछन् । सतही रूपमा ती शक्तिहरूमाथि पनि त्यसरी नै त्यस्तै प्रकारको प्राकृतिक आवश्यकताको रूपमा हावी रहन्छन् जसरी प्रकृतिका शक्तिहरू त्यसमाथि हावी र प्रभावी रहने गर्दै आएका थिए । ती काल्पनिक प्राणीहरूमा जो आरम्भमा केवल प्रकृतिकै रहस्यपूर्ण शक्तिलाई प्रतिबिम्बित गर्दथे, यस बिन्दूमा पुगेपछि सामाजिक गुण पैदा हुन्छ । ती इतिहासको शक्तिको प्रतिनिधि बन्दछन् । समाज विकासको अझ अगाडिको अवस्थामा पुगेर अनेकौँ प्रकारका देवताहरू सम्पूर्ण प्राकृतिक तथा सामाजिक गुणयुक्त एउटा सर्वशक्तिशाली ईश्वरमा स्थानान्तरित हुन जान्छन् । यो ईश्वर निराकार मानवकै प्रतिविम्ब हो । एकेश्वरवादको जन्म यसै प्रकारले भएको थियो ।

ऐतिहासिकरूपमा यो उत्तरकालीन युनानीहरूहरूको भ्रष्ट दर्शनको अन्तिम उपज थियो । फेरि त्यसले यहुदीहरूको विशिष्ट जातीय देवता ‘जेहोवा’ को रूपमा अवतार लियो । यो सुविधाजनक, शुद्ध र सार्वभौमिकरूपले संयोजनीय रूपमा ती बाह्य प्राकृतिक तथा सामाजिक शक्तिहरूकासाथ जसले तिनमाथि शासन गर्दछ, मानिसको तत्कालीन अर्थात भावनात्मक सम्बन्धको रूपमा धर्म त्यतिवेलासम्म कायम रहन सक्छ जबसम्म मानिस ती शक्तिहरूको नियन्त्रणमा बाँधिइरहेको हुन्छ । तर के कुरा बारम्बार देखिसकिएको छ भने वर्तमान बिश्व पुँजीवादी समाजमा एउटा बाह्य शक्तिको रूपमा मानिसमाथि ती आर्थिक परिस्थितिहरूको शासन हुन्छ जसको सृष्टि स्वयं मानिसले नै गरेका छन् । उनीहरूमाथि उत्पादनका ती साधानहरूको शासन हुन्छ जसको निर्माण स्वयं उनीहरूले गरेका हुन्छन् वा गरेका छन् । यसकारण ती प्रतिबिम्बहरू परावर्तक क्रियाको वास्तविक आधार बनिरहन्छन् जसले धर्मलाई जन्म दिन्छ । अनि त्यसको साथसाथै स्वयं धार्मिक प्रतिविम्ब पनि कायम रहन्छ । (ड्यूहरिंग मत खण्डन, फेडरिक एंगेल्स) ।

यसरी माक्र्सवादले इतिहासको वैज्ञानिक ढंगले विश्लेषण गर्दै महान समाजिक संघर्षहरूमा धर्मको जटील भूमिकालाई देख्न र बुझन सक्यो । इसाइ धर्मको मूल ती जनआन्दोलनहरूमा पाइन्छ जुन विद्रोह रोमन साम्राज्यको पतन पछि उठेको थियो । त्यसैगरी इस्लाम धर्मको उदयको सिलसिलामा माक्र्स र एंगेल्स ‘बेदुइहरू’ र ‘नागर’ जनका बीचका आन्तरिक संघर्षहरू र अबिशिनियाबाट अरब प्रायद्वीप मुक्त गराउने तथा लामो समयदेखि निष्क्रिय भएको व्यापारिक बाटो फेरि कब्जा गर्ने बढ्दो अरब जातीय चेतनालाई रेखांकित गरेका छन् । त्यसैगरी ‘प्रोटेस्टान्ट’ धार्मिक सुधार मतको उदयलाई पतनशील सामन्ती व्यवस्था र उदीयमान पुँजीपति वर्गबीच चलिरहेको जटील वर्ग संघर्षको अभिव्यक्तिको रूपमा हेरिएको थियो । प्रोटेस्टान्ट धर्मप्रतिको अमिटता उदीमान पुँजीपति वर्गको अजेयतासँग गाँसिएको छ । (एंगेल्स ः फायरबाख)।

माक्र्स र माक्र्सवादीका लागि धर्म ती समाजिक परिस्थितिहरूको उपज हो जुन सामाजिक परिस्थितिमा मानिस रहेको हुन्छ र अहिले पनि रहिरहेको छ । धर्मको इतिहास एक अर्थमा मानवीय विकासको इतिहासको प्रतिबिम्ब पनि हो । त्यसैले चेतनाका अन्य रूपझैँ धर्म स्वतः सम्पूर्ण बस्तु होइन, वास्तविक संसारको नै प्रतिबिम्ब हो । जबसम्म मानिसले प्रकृतिका शक्ति र सामाजिक शक्तिहरू जसले उनीहरूको दैनिक अस्तित्वलाई निर्धारण गर्दछन्, तथा उनीहरूको भाग्यलाई सञ्चालन गर्दै रहेको देखिन्छ, लाई बुझदैनन् एउटा अलौकिक तथा संसार बाहिरको सत्ताको कल्पनाको आवश्यकता भइरहन्छ ।

प्रतिक्रिया