धार्मिक ज्ञान महायज्ञ गर्दै ज्योति भविश्वर क्याम्पस

अर्घाखाँची । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरका लागि भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका शीतगंगा नगरपालिकामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसले महायज्ञ गर्ने भएको छ । ‘क्याम्पसको गुणस्तर सुधार, स्तरवृद्धि साथै अर्घाखाँचीको शैक्षिक तथा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आगामी २०८१ वैशाख १ देखि ९ गतेसम्म धार्मिक शीतगंगा–३ डमरु दहकै काखमा ज्ञान महायज्ञ गर्ने भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गर्दे महायज्ञ सञ्चालन गर्न लागिएको तथा महायज्ञ तयारीको बारेमा जानकारी दिएको छ ।

ज्योति मिडिल स्कुलको नामबाट २००९ सालमा स्थापना भएको सो विद्यालयले २०५७ सालबाट ११ र १२ कक्षा सुरु गरेको थियो । २०६९ सालवाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहका व्यवस्थापन संकाय र शिक्षा संकाय विभिन्न कक्षा सञ्चालन भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार केशव बेल्बासेले बताए ।

अध्यक्ष बेल्बासेले भने, ‘हाम्रो क्याम्पसको भवन निर्माणलाई प्रयाप्त बजेट नहुँदा क्याम्पस अहिलेसम्म अलपत्र अवस्थामा छ । हामीले विगतमा पनि महायज्ञ गरी उपलब्धी हासिल गरेका थियौँ । क्याम्पसको आर्थिक, शैक्षिक, पर्यटन विकासका साथै समाजमा भएका विभिन्न विकृति विसंगति अन्त्य गर्ने मुख्य उद्देश्यका साथ महायज्ञ गर्न लागेका छौँ ।’

विद्यालयको आर्थिक तथा भौतिक अवस्था कमजोर भएका कारण महायज्ञ गर्न लागिएको भन्दै विकासको मुख्य मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रलाई अगाडि बढाउन क्याम्पसको महत्वपूर्ण भूमिका रहेको वडा–३ का अध्यक्ष चिन्ताराज अधिकारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले क्याम्पसको अवस्था, महत्त्व, आवश्यकताका साथै महायज्ञ सञ्चालनका बारेमा प्रचार गरी सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
क्याम्पसको स्तरवृद्धि र शिक्षाको विकासका लागि सबै एक भई महायज्ञ सञ्चालन गर्न लागेको भन्दै सबै सरोकारवालाहरूको बलियो साथ सहयोग हुनुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काशिराम आचार्यले बताए ।

स्थानस्य समाजसेवी बुद्धिजीवी र नेतृत्वबाट महायज्ञ गर्नुपर्ने माग आएकाले महायज्ञ गर्न लागिएको क्याम्पस प्रमुख पिष्णु भट्टराईले बताए ।
क्याम्पस प्रमुख भट्टराईले भने, ‘यो क्याम्पस जिल्लाको दक्षिण क्षेत्रको शिक्षाको मुख्य धरोधरको रूपमा रहेको छ, क्याम्पसबाट करिब ६ दर्जनभन्दा धेरै विद्यार्थीले स्नातक तह उत्र्तीण गरेका छन्, विकट क्षेत्रका गरिब विपन्न वर्गका विद्यार्थीले अहिले पनि नियमित रूपमा प्रथम वर्षमा करिब ४० जना विद्यार्थीले अध्ययन गरेका छन्, मानव सेवा नेपाल संस्थाको समन्वयमा महायज्ञ गर्ने तयारीमा छौँ ।’ उनका अनुसार विजय कृष्णमूर्ति जी महाराजबाट मुख्य कथावाचन हुँदै छ । महायज्ञका लागि विभिन्न समिति निर्माण गरिएको छ ।

‘अघिल्लो महायज्ञमा ७२ लाख संकलन गरेका थियौँ, यो पटक त्यो भन्दा धेरै संकलन गर्ने लक्ष्य राखेका छौँ, भवन बनाउन लागेको भवन अलपत्र छ, अहिले विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेस गरेका छौँ’, अध्यक्ष भट्टराईले भने, ‘न्यूनतम प्रतिकक्षा बराबर चार हजार तलब दिन्छौँ, त्यही पनि समयमा दिन सक्दैनौँ, वार्षिक तलबमा मात्र २८ लाख खर्च हँुदै आएको छ ।’

व्यवस्था फेरिएसँगै नेतृत्व फेरिए पनि कुनै पनि नेतृत्वले जनताको माग र आवश्यकताको आधारमा काम गर्न नसकेकोले महायज्ञ गर्र्न लागिएको महायज्ञ संयोजक कुलराज पौडेलले बताए । शिक्षाको विकास र पर्यटन प्रवद्र्धनका लागि गर्न लागिएको महायज्ञलाई सफल पार्न पत्रकार महासंघ र सम्पूर्ण मिडियाको तर्फबाट बलियो साथ सहयोग हुने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया