सरकार गठनमा कँडेललाई चुनौती

कर्णालीमा भागबण्डा नमिल्दा कँडेल एक्लैले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता यमलाल कँडेलले मूख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा बुधबार कँडेल एक्लैले शपथ लिएका हुन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको मंगलबार सकिएपछि कँडेलले मूख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै सत्ता गठबन्धनको समर्थनमा उनी मूख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदारी दल माओवादीसँग भागबन्डा मिलाउन नसक्दा सरकार गठनमा कँडेललाई चुनौती देखिएको छ ।

पूर्वमूख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएको एक सातापछि मात्रै मूख्यमन्त्री पाएको कर्णाली प्रदेशले सरकार गठनमा भने पूर्णता पाउन सकेको छैन । दलहरूमा स्वार्थ बाझिदा नयाँ सरकार गठन हुन सकेको छैन ।

राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा मुख्यमन्त्री एक्लैले शपथ लिनुपरेको हो । कर्णाली प्रदेशका पूर्वमूख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएको लामो समयपछि मंगलबार मात्रै एमालेका यमलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सरकार गठनले भने अझै गति पाउन सकेको छैन ।

प्रदेश प्रमुख तिलक परियारले बहुमतको सरकार गठनका लागि गत चैत २१ मा दिएको एक हप्ताको समय मंगलबार सकिएको थियो । सोहीअनुसार कँडेलले मंगलबार मूख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सत्ता गठबन्धन केन्द्रमा भएको दलहरूको सहमतिअनुसार कर्णालीमा एमालेलाई मूख्यमन्त्री दिने निर्णय भएको थियो । कँडेल मूख्यमन्त्रीमा नियुक्त भए पनि सत्तारूढ दल एमाले र माओवादीबीच अझै सहमति जुट्न सकेको छैन ।

सरकार आलोपालोसहित मन्त्रालयको भागबन्डा टुंगो लगाएर प्याकेजमै सहमतिमा जानुपर्ने माओवादी आफ्नो अडानबाट पछि हटेपछि मूख्यमन्त्रीमा कँडेल नियुक्त भएका थिए । सरकार गठनका विषयमा माओवादीका प्रमुख सचेतक रनसिंह परियारले भने, ‘निरन्तर छलफल भए पनि मन्त्रालयको भागबन्डामा चित्त नबुझेसम्म सरकार गठनले पूर्णता पाउँदैन ।’

मूख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा माओवादीले चार मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । भने सामाजिक विकास मन्त्रालयमा दुबै दलको दाबी रहेकाले भागबण्डा नमिलेको बताइन्छ । सत्ता गठबन्धनमा केन्द्रको सहमति विपरीत अडिएका मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।

सरकार गठनमा शर्माको अड्को

पार्टीको निर्देशन नमानेर सत्ता गठबन्धनमा दुरी बढाउने प्रयास गरेर कडा निर्देशनपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका राजकुमार शर्माले मन्त्रालयको भागबन्डाको विषयमा अड्को थापेका छन् । शर्माले रोजेरै चार मन्त्रालय माओवादीले पाउनुुपर्ने माग राखेपछि मुख्यमन्त्री एक्लैले सपथ ग्रहण गरेका हुन् । सरकार गठनका विषयमा छलफलका लागि जिम्मा पाएका संसदीय दलका नेतासमेत रहेका शर्माले अडान नछोड्दा सत्तारूढ दल एमालेसँग सहमति भने जुट्न सकेको छैन ।

नेता शर्माले आलोपालो मुख्यमन्त्री, मन्त्रालयको संख्याको टुंगो लगाउनुपर्ने अडान राख्दा सरकार गठनमा अस्तब्यस्त बनेको थियो । केन्द्रको सत्ता गठबन्धन र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको विपक्षमा उभिएका शर्माले प्रचण्डले कारबाही गर्ने चेतावनी दिएपछि अन्तिममा आएर राजीनामा दिएका थिए । सरकार गठनका लागि मन्त्रालयको भागबन्डामा दलका नेता शर्माले हाई डिमान्ड मागसहित अड्को थापेपछि एमालेले असहमति जनाएको बुझिन्छ ।

माओवादीको हाइ डिमान्ड भयो – एमाले

कर्णाली प्रदेश सरकार गठनका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग भागबन्डामा कुरा नमिल्दा एमालेले मूख्यमन्त्रीमा दाबी पेस गर्न नसकेका कँडेलले एमालेसहित माओवादी र नेकपा एसले सर्मथन गरेपछि बुधबार मूख्यमन्त्रीमा शपथ लिएका छन् । तर, सरकार गठनका लागि भने अझै भागबन्डा मिलेको छैन ।
माओवादीले सरकार आलोपालोसहित मूख्य चार मन्त्रालय रोजेरै लिने अडान राखेको एमालेका नेताहरू बताउँछन् । एमालेका अनुसार आधा–आधा सरकारको नेतृत्व लिखित सहमतिमा हुनुपर्ने माओवादीको माग छ ।

यता पदभार ग्रहण गर्दाको पहिलो निर्णयसमेत कार्यान्वयन नगरी कर्णाली प्रदेशका तेस्रो मुख्यमन्त्री शर्माले मुख्यमन्त्री पदबाट बाहिरिएका छन् । शर्माले गत वर्ष पुस २७ गते पदभार ग्रहण गर्दा हरेक वर्ष १० हजार युवालाई रोजगारी दिने भनेका थिए ।

तर, चैत २१ गते राजीनामा दिँदासम्म उनको घोषणा भाषणमै सीमित बन्यो । १० हजार युवालाई रोजगारी दिने प्रतिबद्धता अलपत्र पारेर कार्यान्वयनको चरणमा समेत नहुँदा पछिल्लो समय कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री शर्माप्रति नागरिकको निराशा बढ्दै गएको छ । पहिलो निर्णयसमेत कार्यन्वयन गर्न नसकेका शर्मा मुख्यमन्त्रीको पदबाट बाहिरिएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया