त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबिच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल र बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा. वाङ डिङह्वाबीच यससम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएकोे हो ।

उक्त सम्झौता अनुसार त्रिवि र बेइजिङ फरेन स्टडिजबिच विद्यार्थी, प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारी एक अर्कोमा आदानप्रदान गर्ने छन् । दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धानमा सहकार्य गर्ने तथा शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुवै विश्वविद्यालयबिच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुट्टै सम्झौता गर्न सकिने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुनेछ । सो अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा. डिङह्वाले सम्झौताले दुई विश्वविद्यालयबिच मात्र नभई नेपाल र चीनबिचकै दौत्यसम्बन्धीमा नयाँ आयाम थपेको बताए । विश्वका १८५ देशका प्रमुख विश्वविद्यालयसँग बेइजिङ फरेन स्टडिजले यस प्रकारको सम्झौता गरिसकेको उनले बताए ।

प्राध्यापक डा. डिङह्वाले दुवै विश्वविद्यालयबिच गहन सहकार्यका लागि दुवैका भाषा विभागबिच प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गरिनुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि सुरु गर्नुपर्ने बताए । यसैगरी अनुसन्धानका क्षेत्रमा समेत दुवै विश्वविद्यालयबिच सहकार्य गरिनुपर्ने उनको भनाइ थियो ।

त्रिवि उपकुलपति बरालले दुई विश्वविद्यालयबिच आ–आफ्नो देशका मौलिक र परम्परागत ज्ञानको आदानप्रदान, नेपाल–चीनबीच सीमावर्ती क्षेत्र अर्थात् हिमाली भेगको प्राज्ञिक अध्ययन र हिमाली क्षेत्रमा प्रख्यात उपचार पद्धती आम्चीको थप बिस्तारका लागि प्रयत्न गर्ने पनि सम्झौतामा उल्लेख छ ।

त्रिविको मानविकी संकायका डिन प्राध्यापक डा. कुसुम शाक्यले बेइजिङ फरेन स्टडिज विश्वविद्यालय र त्रिविबिच भएको सम्झौता अक्षरशः लागू हुनुपर्नेमा जोड दिइन् । त्यस अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका तर्फबाट अध्यक्ष डिङह्वा, एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छु ए, निर्देशक हे जेङ्ग र त्रिविस्थित स्कुल अफ एसियन स्टडिजका निर्देशक जिङ्ग युन (इन्दिर) लगायतको उपस्थिति थियो ।– रासस

प्रतिक्रिया