कर्णाली प्रदेशमा भागवण्डा नमिल्दा नयाँ सरकार गठनमा सकस

सरकार गठन गर्ने सीमा आज सकिँदै

सुर्खेत । कर्णाली प्रदेशमा लामो समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान भएको सीमा मंगलबार (आज) साँझ ५ः५० बजे सकिँदै छ । तर दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।

मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

तर माओवादीसँग कुरा नमिल्दा तोकिएको समय सीमाभित्र नयाँ सरकार बन्न सकेको छैन । चार महत्वपूर्ण मन्त्रालयमध्य एकसहित सरकार आलोपालो गर्नुपर्ने माओवादीको अडान छ ।

केन्द्रको गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति अनुसार नेकपा माओवादीबाट मुख्यमन्त्री बनेका राज कुमार शर्माले चैत २१ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुले पनि उनले अझै मुख्यमन्त्रीमा दाबी गर्न भने सकेका छैनन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग भागवण्डामा कुरा नमिल्दा कँडेलले अहिलेसम्म मुख्यमन्त्रीमा दाबी गर्न सकेका छैनन् । मुख्यमन्त्रीमा दाबी गर्न ढिलाई भएको प्रसंगमा नेता कँडेल भन्छन्, ‘माओवादीका कारण ढिलाई भएको छ, संवैधानिक बाटो खुल्ला हुँदाहुदै माओवादीले अड्काएको छ ।’

माओवादीले आलोपालो मुख्यमन्त्री, मन्त्रालयको भागवण्डाको टुंगो लगाएपछि मात्रै एमालेलाई मुख्यमन्त्रीका लागि संसदीय दलले पत्र पेश गर्ने स्रोतले जनाएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी १३, एमाले सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र एक–एक सांसद छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया