मुगु, हुम्ला र जुम्लाका विद्यार्थीका हातहातमा पुस्तक

सुर्खेत । कर्णालीमा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । कर्णाली प्रदेशका लगभग १० वटै जिल्लामा शैक्षिक सत्र सुरुआतसँगै सबै जिल्लामा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्षभने समयमै पुस्तक पाउने भएका छन् । बर्सेनि परीक्षा हुनै लाग्दासम्म पुस्तक नपाएका कर्णालीका विद्यार्थीले यसपटक भने समयमै पाएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालय प्रमुख भैरव बाबु पन्तले जानकारी दिए । पन्तका अनुसार स्थानीयतह र विद्यालयहरूसँगको समन्वयमा निजी तथा सरकारी विद्यालयमा पुस्तक पठाइएको हो । यस वर्ष आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइएको र नौ हजारभन्दा धेरै पुस्तक जिल्लाजिल्लामा पठाइएको केन्द्रले जनाएको छ ।

आफ्नो कार्यतालिकाअनुुुसार केन्द्रले ९ चैतदेखि नै पुस्तक वितरण सुरु गरेको थियो । प्रदेशमा आवश्यक पर्ने प्रर्याप्त पुस्तक गोदाममा मौजात रहेकाले यस वर्ष पुस्तक अभाव नहुने केन्द्रले जनाएको छ । कर्णालीका दुर्गम जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थीले भर्ना भएसँगै विद्यार्थीले पुस्तक पाउँदा शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । हुम्लाका २१ हजार विद्यार्थीका हातमा पुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय शाखाका भीमराज कार्कीले बताए । त्यस्तै हिमाली जिल्ला जुम्ला, मुगुमा पनि समयमै पुस्तक पुगेको छ ।

विगतमा समयमै पुस्तक नपुग्दा पठनपाठनमा समस्या हुने गरेको थियो । गत वर्षदेखि सरकारले समयमै पुस्तक उपलब्ध गराउने नीति ल्याएको छ । सोहीअनुसार यसपटक देशैभर शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक पुगेका छन् । यसपटक चाँडै छपाइ र ढुवानीका कारण छिटो पाठ्यपुस्तक पुगेको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार आइतबारसम्म ७३ जिल्लामा पुगिसकेको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक पुग्दैनथ्यो ।

रुकुम पश्चिममा पनि पाठ्यपुस्तक पुगेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–९ राडीमा रहेको विन्दु स्टेसनरीमा चैत पहिलो सातादेखि नै पुस्तक वितरण सुरु गरिएको सञ्चालक सरिता कुसारीले जानकारी दिइन् । उनका अनुसार पुस्तक वितरणको काम अन्तिम चरणमा पुगेको छ । करिब तीन हजार थान पुस्तक आठबिसकोट नगरपालिकाभित्र वितरण गरिएको कुसारीले बताइन् । विद्यालयको मागअनुसार पालिकाभर र जाजरकोटका केही स्थानीयतहमा सप्लायर्स गरिएको उनले जानकारी दिइन् ।

यससँगै कर्णाली प्रदेशका हिमाली तथा दुर्गम जिल्लाका विद्यालयहरूमा पुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रले सबै जिल्लामा पुस्तक पु¥याएपछि विद्यालयको माग अनुसार बिक्रेताले स्कुलस्कुलमा पठाउने गरेका छन् । कर्णालीका सबै जिल्लामा ७० प्रतिशत पुस्तक पुगिसकेको छ । हिमाली जिल्ला मुगु, हुम्ला, जुम्ला र कालिकोटका विद्यालयमा पुस्तक पुगेको हो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया