सुडानमा विस्फोटमा परी २० भन्दा बढीको मृत्यु

खार्तुम । सुडानको राजधानी खार्तुमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारकर्मीको समितिले आइतबार दिएको जानकारीअनुसार शनिबार सहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण भएको हो ।

सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्वसहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच गत १५ अप्रिलदेखि युद्ध सुरु भएको थियो । संयुक्त राष्ट्रसंघका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन् । युद्धले ८५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सुडानको पहिलेदेखि नै कमजोर अवस्थामा रहेका पूर्वाधारहरूलाई व्यावहारिक रूपमा ध्वस्त पारेको छ र देशलाई अनिकालको संघारमा धकेलेको छ । शनिबारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भए पनि सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन । आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट ८० किलोमिटर टाढा रहेको मानकिल अस्पतालका एक मेडिकल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार आयतबारको आक्रमणमा २०० जना घाइते भएको र ती मध्ये केही उपचारका लागि निकै ढिलो पुगेका हुन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सुडानका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सेवाविहीन छन् भने बाँकी स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमताभन्दा कैयौँ गुणा बढी र थोरै स्रोत साधन पाएका छन् । द्वन्द्वका दुवै पक्षमाथि सर्वसाधारणलाई लक्षित गर्ने, आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गर्ने, लुटपाट गर्ने र सहायतामा अवरोध पु¥याउनेजस्ता युद्ध अपराधको आरोप लगाइएको छ । गत डिसेम्बरमा खार्तुमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ । बेलायतस्थित युद्ध अनुगमनकारी एक संस्थाका अनुसार मार्चसम्ममा देशभरका कम्तीमा १०८ गाउँ र बस्तीमा आगो लगाइएको र यसबाट ‘आंशिक वा पूर्णरूपमा घरहरू नष्ट’ भएका छन् ।

प्रतिक्रिया