पालिका कपले रौतहटमा क्रिकेटको क्रेज बढायो, फाइनलमा १० हजार दर्शक

फाइनलमा १० हजारको उपस्थिति

रौतहट । मधेस प्रदेशमै पहिलो पटक रौतहट जिल्लामा आयोजना गरिएको पालिका कप टि– २० क्रिकेट प्रतियोगिता शनिबार राति सम्पन्न भएको छ । फ्लड लाइट प्रयोग गरी रात्री खेल गराइएको पालिका कपको फाइनल खेलमा आयोजकले अपेक्षा गरेको भन्दा बढी क्रिकेट समर्थकको उत्साहपूर्वक सहभागिताले रौतहटमा क्रिकेटको क्रेज बढेको छ ।

गौर नगरपालिका र यमुनामाई गाउँपालिकाबीच भएको फाइनल खेलमा क्रिकेटप्रति चासो राख्ने करिब १० हजारभन्दा बढी दर्शकको उपस्थितिले क्रिकेटप्रतिको मोह जागेको महसुस भएको आयोजक रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले बताए ।

उनले भने, ‘यतिको संख्यामा रातिमा दर्शक समर्थक आउँछन् भन्ने लागेको थिएन, तर उपस्थिति देखेर खुशी लागेको छ, विश्वमा क्रिकेट खेलप्रति बढ्दै गएको लोकप्रियताले रौतहटमा पनि पालिका कपको आयोजनाले खेलप्रतिको जागरुकता बढाएको छ ।’ जिल्लामा क्रिकेट खेलाडी धेरै भए पनि ठूलो प्रतियोगितामा आफ्नो खेलको प्रतिभा देखाउन नसकेकाले खेलको प्रतिभा देखाउनको लागि नै पालिका कपको पहिलो संस्करण आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले बताए ।

रौतहट जिल्लाबाट क्रिकेट खेलाडी उत्पादन भएर प्रदेशस्तर, राष्ट्रियस्तरको खेलमा आफ्नो सहभागिता जनाउन सकुन् भन्ने क्रिकेट संघको लक्ष्य रहेको उनले बताए । भौतिक पूर्वाधार नभए पनि रातिमा खेल खेलाएर गर्न चाहे कुनै पनि कार्य असम्भव नहुने पुष्टि गरेर संघीय सरकार र प्रदेश सरकारलाई संघले चुनौती पनि दिएका छन् । फाइनल खेल हेर्नको लागि महिलाहरुको छुट्टै बस्ने व्यवस्था मिलाइएको क्रिकेट संघका प्रेस संयोजक प्रबीन टिब्रेवालले बताए ।

पालिका कपको आयोजनाले दर्शकलाई क्रिकेटप्रति आकर्षक बढेको छ भने प्रतियोगिताभर होटेल व्यवसायिहरुको व्यापार पनि बढेको थियो । फाइनल खेलको राति करिब १२ बजेसम्म पान पसल खुलेको पाइएको थियो । होटेलमा ग्राहकको भीड लागेको स्थानीय सन्जिव सिंहले बताए । विद्युतीय लाइटको व्यवस्थापनले गर्दा स्टेडियममा खेल हेरिरहेको जस्तो अनुभव भएको सिंहको प्रतिक्रिया रहेको छ ।

राइस मिलको मैदान आकर्षक रुपमा सजाइएको थियो । अन्तिम खेल हेर्न मधेस प्रदेश सरकारको मुख्यमन्त्री सरोज यादव, प्रदेश सांसद नागेन्द्र साह, मोहमद जैद आलम, शोभा देवी साह, मधेस प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीका डीआइजी यज्ञ बिनोद पोखरेल, सशस्त्र प्रहरी बल नेपालका डीआइजी दिपेन्द्र साह, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर राजिक आलम, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहलगायतको उपस्थितिले फाइनल खेलको आकर्षक बढेको थियो ।

फाइनल खेल हेर्न आएका दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंहले दर्शकको सहभागिता देखेर आगामी दिनमा गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना समेत गर्ने सार्वजनिक रुपमा घोषणा नै गरेका छन् । नेपाल क्रिकेट संघका प्राविधिक सहयोगले भएको प्रतियोगितामा १८ पालिका क्रिकेट खिलाडीले आफ्नो क्षमताको प्रदर्शन गरेका छन् । निरन्तर रुपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै गए रौतहटबाट राष्ट्रिय टिममा खेलाडी छनोट हुन सकिने विश्वास अम्पाएरहरुको रहेको छ ।

प्रतिक्रिया