कठोर तालिवान शासनमा महिलामाथिको ज्यादती

गितार या संगीत सिकेकै कारण ज्यान जोखिममा परेको अवस्थाको कल्पना गरौँ । हो, अफगानिस्तानको राष्ट्रिय संगीत प्रतिष्ठान(एनिम)का विद्यार्थीहरूले तालिवान शासनपछि यसै समस्या भोगे । कठोर मानवीय यातना, महिला अधिकारको हनन तथा शिक्षा र संगीतमा प्रतिबन्ध पछिल्लो समयमा तालिवान सत्ताका पयार्य नै बने ।

तालिवान सरकारले महिला शिक्षा कलामाथि ज्यादती नै गरेको छ । संगीत र कला मात्र होइन शिक्षामाथि पनि प्रतिबन्धको दायरा नाघेको छ । साथमा पोसाकमाथि पनि चरणबद्ध प्रतिबन्ध लगाइएका छन् ।

१५ अगस्ट २०२१ मा अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि प्रायः संगीत सिकाइने र बजाउने ठाउँमा ढोका बन्द गरिए । औपचारिक रूपमा नै धेरै प्रशिक्षण स्थल बन्द भए । धेरैले घरमा लुकेर नै अभ्यास गर्ने काम गरे । त्यो पनि बाजा नबजाई कनै गाएर मात्रै ।
हरेक विद्यार्थीहरू आफूहरूले संगीत सिकेको कुरा सार्वजनिक भएमा यसको सजाय कठोर हुन सक्ने कुरामा सबै जना त्यस समयमा त्रसित थिए । तालिवानले कब्जामा लिने बित्तिकै धेरै विद्यार्थीले घरमा रहेको बाजागाजासहित संगीतसँग सम्बन्धित सबै कुरा विद्यालयमा बुझाउन थालेका थिए । सत्ता पक्षका जो कोही पनि घरमा पसेर खानतलासी लिन सक्ने भएका कारण उनीहरूले सबै सामान विद्यालयमा बुझाउन बाध्य भएका हुन् ।

कठोर तालिवान शासनकाबीच संगीत माथिको यो प्रतिबन्धको समय पनि अहिले तीन वर्ष नाघिसकेको छ । राजधानी काबुलमा अवस्थित एनिम डा.समासार्टले सञ्चालन गरेको संगीत विद्यालय बन्द भएको तीन वर्ष भएको छ । यसरी धेरै विद्यालय बन्द भएका छन् । सन् १९९६ देखि २००१ को कठोर तालिवान शासनको समाप्तिसँगै डा.समासार्टले संगीतलाई अफगानिस्तानमा पुनर्ताजगी गर्ने काम गरेका थिए ।

एनिममा छात्र र छात्रा एउटै कक्षामा राखेर पढाइने त्यो संगीत शिक्षालय पनि अहिले कलाकार उत्पादन गर्न असमर्थ छ । त्यहाँ पश्चिमा संगीतकै ज्ञान दिइन्थ्यो । अनाथ र सडक बालबालिकालाई पहिलो प्राथमिकता पाएको त्यहाँबाट ग्र्याजुएट हुने धेरै जना औपचारिक शिक्षा लिने आफ्नो परिवारकै पहिलो व्यक्तिको नयाँ सफलता पाउन सफल भएका थिए ।

सोही विद्यालयमा अफगानिस्तानको पहिलो महिला सांगीतिक ब्यान्ड जोहोरा पनि थियो । जोहोराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हजारौँ दर्शकका सामु प्रस्तुतिहरू दिइसकेको थियो । जोहोरोका प्रस्तुति र सबैका लागि शिक्षाका कुराहरू उल्लेख गरिएका हुन्थे । त्यो लोकप्रिय ब्यान्डका सबै सदस्य तालिवान शासनको सुरुआतसँगै अनिश्चित सांगीतिक भविष्यका कारण चिन्तामा रहेका छन् ।

यसरी मानवअधिकार हननको सवालमा कमजोर बनेको अफगानिस्तान तालिवान सत्ताका कारण बारम्बार आतंक सहन बाध्य भएको थियो । २० वर्षे गृहयुद्धको कारण हजारौँको ज्यान गुमेको अफगानिस्तानमा करिब साढे दुई वर्षअघि तालिवान सत्ता स्थापित भएपछि एकपछि अर्को आतंक मच्चिएको हो ।

दोस्रोपटकको तालिवान सत्तामा पनि महिलाहरू नै बढी प्रताडीत भएका छन् । यसका बाबजुद उनीहरूमा डर हट्न थालेको छ । तमाना जर्यानी पर्यानी यसै मध्यकी एक महिला हुन् । धेरै जनाले सैन्य सत्ताको विरुद्धमा आवाज त नउठाएका होइनन् । पर्यायजस्ता लाखौँ आवाज अफगानिस्तानमा नउठेको होइन, ती सबै आवाज दबाउँदै लगियो ।

तालिवान सत्ताको केही समयपछि नै पर्यानी सहितका दर्जनौँ महिलाले तालिवान सत्ताको विरुद्धमा प्रदर्शन नै गरेका थिए । शिक्षा र काम गर्न पाउने अधिकारका विषयमा उनीहरूले आवाज उठाएका थिए । यसरी आवाज उठाउनेलाई कालो मरिचको स्प्रेसमेत गरियो । कतिलाई इलेक्ट्रिक सक पनि दिइएको थियो । प्रदर्शनपछि सबै प्रदर्शनकारी घर फर्किएका थिए । उनीहरू त्यस समयमा पनि डराइरहेका पनि थिए ।

त्यस प्रदर्शनको केही दिनपछिको राती आठ बजेको कुरा हो । काबुलमा रहेको पर्यानीको अपार्टमेन्टमा सेना पुगेको थियो । उनी दिदीबहिनीसहित घरमा थिइन् । बाहिर ढोकामा लात्तीले हान्न थालेपछि उनी आत्तिएकी थिइन् । ‘कृपया सहयोग गर्नुहोस् मेरी बहिनी मात्र घरमा छन् । ’सामाजिक सञ्जालमा उनले पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ ।
‘तिमीहरू रातको यस समयमा यी केटीहरूसम्म पुग्ने छैनौ । सहयोग गर्नुस् तालिवान हाम्रो घरमा आए ।’ उनले यत्ति भनी सकेपछि भिडियो सकिएको थियो ।

त्यसो त अफगान संस्कार र संस्कृतिअनुसार महिला मात्र भएको घरमा प्रवेश गर्नु नै अपराध मानिन्छ । महिला प्रहरीलाई बर्खास्त गरिसकेपछि अफगानिस्तानमा महिलालाई सोधपुछ गर्नका लागि महिला अधिकारी छैनन् । ‘तमाना पर्यानी हराएपछि सञ्चार माध्यमले उनको खोजी पनि गरेका थिए । उनको घरमा पुग्दा बाहिर बुटले टेकेको हिलोको दाग देखिएको थियो’, विगत सम्झनेहरू भन्छन् ।

छिमेकीहरूका अनुसार बहिनीहरूका साथ उनलाई पनि लिएर गइएको थियो । त्यसपछि कोही पनि फर्केका छैनन् । यसको मतलब प्रस्ट हुन्छ कि उनीहरूलाई नै सेनाले नै लिएर गइसकेका छन् ।

त्यसै रात प्रशासनले अन्य महिलालाई पनि निसानामा पारेको थियो । त्यसै दिन पर्वाना इब्राहिमखेल पनि हराएकी छन् । यद्यपि प्रशासनले उनीहरूलाई लिएर गएको कुरा बारम्बार अस्वीकार गरिरहेको छ ।

यो एउटा उदाहरण हो, तालिवान सत्ताको । यस्ता धेरै उदाहरण छन् । संयुक्त राष्ट्र संघले १२ सेप्टेम्बर २०२३ का दिन एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । राष्ट्र संघको अनुसार महिलाका लागि माध्यमिक तथा उच्च शिक्षा वर्जित भएको संसारको एउटा मात्र देश अफगानिस्तान हो ।
‘अफगानिस्तान एउटा यस्तो देश हो । जहाँ महिलाहरू घरको चार दिवारभित्र नै बन्दी बनाइएका छन्’, राष्ट्र संघका मानवअधिकार प्रमुख भिक्टर टस्कले भने । टस्ककै अनुसार अफगानिस्तानमा महिलालाई संरक्षित गर्ने अधिकार र कानुन मिचेर सरकारले अत्याचार गरिरहेको छ ।

प्रतिक्रिया