त्यो नेपाल र यो नेपाल

सम्झनामा ३५ वर्षअघिको चैत २४

खाना पकाउनका लागि अहिलेकोजस्तो ग्याँसको चलन थिएन । मट्टितेलबाट चल्ने स्टोभको चलन थियो । प्रतिलिटर आठ रुपैयाँमा मट्टितेल पाइन्थ्यो । महिनाको १० लिटर मट्टितेलले तीन जना विद्यार्थी बस्ने कोठाको भान्सा धानिन्थ्यो । बोइलर कुखुराको चलन नआइसकेका कारण अहिलेको जस्तो एक दिन बिराएर मासु खान पाउने अवस्था थिएन । मासुका लागि त चाडपर्व नै पर्खनुपथ्र्यो । बिहान झिसमिसेमै उठेर आधा घण्टा लाइनमा नबस्नेले दूध किनेर खान पाउने अवस्था थिएन । कसैले फलफूल किनेको देखेपछि ‘तपाईंको घरमा को बिरामी छ ?’ भनेर सोध्ने चलन थियो ।

विन्दुकान्त घिमिरे

निरंकुश राजाले सक्रीय नेतृत्व गरेको पञ्चायती शासन ढाल्ने अन्तिम आन्दोलन २०४६ फागुन ७ बाट प्रारम्भ भयो । जनआन्दोलनको साइत फागुन ७ नै किन जुराइयो ? भन्ने कुराको पनि ऐतिहासिक पृष्ठभूमि छ । २०४६ सालको जनआन्दोलनको निर्णायक दिन चैत २४ हो । चैत २४ गते बिहान ११ बजे ललितपुरको पाटन ढोकाबाट हजारौँको जुलुस काठमाडौंतर्फ अघि बढ्यो । कुपण्डोल आइपुग्दा नपुग्दै जुलुसमा सहभागीहरूको संख्या लाखौँ पुग्यो । जनआन्दोलन दबाउन तैनाथ प्रहरीहरूको स्वतः भागाभाग हुन थाल्यो ।

ललितपुरबाट आएको जुलुसलाई थापाथलीको पुलमा रोक्ने प्रयासमा खैरो ड्रेसका प्रहरी ठूलो संख्यामा तैनाथ थिए । तर, कीर्तिपुर, कालिमाटी, टेकु हुँदै त्रिपुरेश्वरबाट थापाथलीतर्फ अर्को हजारौंको जुलस अघि बढेपछि प्रहरीको त्यो जत्था पनि भाग्न थाल्यो । उत्साहित भएका आन्दोलनकारीले प्रहरीलाई लखेट्न थाले । केहीबेर अघिसम्म प्रहरीको कब्जामा रहेको सडक हेर्दाहेर्दै आन्दोलनकारीको कब्जामा पुग्यो । आन्दोलनकारीहरू धेरैजसो १६ देखि २५ वर्ष उमेरसम्मका युवाहरू थिए ।

त्यतिबेला सडकका दुवै किनारामा राजा रानीका अभिव्यक्ति अंकित होडिङ बोर्डहरू टाँगिएका हुन्थे । जसलाई ‘महानवाणी’ भन्ने चलन थियो । युवाहरूले सर्वप्रथम तिनै होडिङबोर्डहरू उखेलेर फाल्ने र देखेसम्म प्रहरीलाई इँटा हान्ने गर्न थाले । सिंहदरबारको सुरक्षामा सेनासमेत तैनाथ गरिएका कारण थापाथलीको जुलुस सिधै माइतीघरतिर लागेन । पश्चिम त्रिपुरेश्वरतर्फ मोडियो । त्रिपुरेश्वर चोकबाट उत्तरतर्फ अर्थात सुन्धारातर्फ जुलस अघि बढ्यो ।

यतिन्जेलसम्म जुलसमा करिब पाँच लाख मान्छेको सहभागिता रहेको अनुमान गरिएको थियो । त्यो जुलस रत्नपार्कमा पुगेर कोणसभा गर्दै फेरि उत्तरतर्फ अघि बढ्यो । जुलुुसको एउटा भंगालो जमलबाट सिधै केशरमहलतर्फ अघि बढ्यो भने अर्को भंगालो पूर्वतर्फ तीनधारा संस्कृत छात्रावास हुँदै दरबारमार्गमा रहेको महेन्द्र शाहको शालिकतर्फ अघि बढ्यो । एकथरी युवाहरू महेन्द्रको शालिकको श्रीपेच निकालेर पार्टीका झण्डा ओढाउनतर्फ लागे । दिउँसो करिब ३ बजेको समय थियो यो । त्यति नै बेला अदृश्य ठाउँबाट गोली चल्न थाल्यो । शालिकमा चढेका युवाहरू गोलीले धमाधम ढल्न थाले । एउटा ढलेपछि अर्को चढ्थ्यो । त्यो पनि ढलेपछि फेरी अर्को चढ्थ्यो । यो क्रम नरोकिए पछि जुलसमा सहभागीहरूमाथि पनि अन्धाधुन्ध गोली प्रहार गर्न थालियो । रगतको खोलो बग्यो । आन्दोलनकारीहरू भागाभाग भयो ।

त्यतिबेला अहिलेको जस्तो सबैले जुत्ता लगाउन सक्ने हैसियत थिएन, धेरै जसोको खुट्टामा चप्पल हुन्थे । भाग्ने क्रममा धेरैका चप्पल सडकमै छाडिए । मान्छे भागेपछिको रित्तो सडक खिइएका पुराना चप्पलैचप्पलले ढाकिएको थियो । यही दिनको आन्दोलनले तत्कालीन राजा वीरेन्द्रलाई संझौताका लागि तयार रहन बाध्य बनायो ।

२०४६ सालको काठमाडौं

अहिले कक्षा ११ र १२ भनिन्छ, त्यतिबेला इन्टरमिडियट भनिन्थ्यो, तर चलनचल्तीको भाषामा ‘आइए’ भन्ने चलन थियो । देशको अधिकांश भूभागबाट आइए पढ्न काठमाडौं आउनुपथ्र्यो । किनकी काठमाडौंमा त्यतिबेलै पनि टोलटोलमा क्याम्पसहरू थिए । एउटै टोलमा चार वटासम्म क्याम्पसहरू थिए काठमाडौंमा । तर, धेरैजसो पहाडमा जिल्लामा एउटा पनि क्याम्पस थिएनन् । तराईमा भने सबैजसो जिल्ला सदरमुकाममा क्याम्पसहरू थिए, तर आफूले रोजेको विषय पढ्न पाउने सुविधा नभएकोले काठमाडौं आउने चलन थियो । त्यसमा पनि जिल्ला सदरमुकाममा डेरा लिएर बस्दा हुने खर्चमा थोरै थपिदियो भने काठमाडौंमै बस्न पुग्थ्यो । काठमाडौंमा पढ्न गएपछि सानोतिनो जागिरको संभावना हुने आशा पनि धेरैलाई हुन्थ्यो ।

त्यतिबेला काठमाडौं सहर भनेको अहिलेको कोर एरिया मात्रै थियो । नयाँ बानेश्वर क्षेत्र भरखर गाउँबाट सहर बन्न खोज्दै थियो । त्यहाँबाट पूर्वतर्फ त एकैचोटी भक्तपुरमा थियो बस्ती । बानेश्वरदेखि भक्तपुुरसम्म लोभलाग्दो हरियो फाँट थियो । घरहरू कताकति थिए । काठमाडौं सहरको उत्तरतर्फ सोह्रखुट्टे क्षेत्र र ठमेल गोल्कुपाखा क्षेत्र गुल्जार थियो । त्यहाँभन्दा उत्तरतर्फ भने पुरै फाँटैफाँट । लैनचौरको कपुरधारा आसपासमा केही पक्की घरहरू थिए । तर गोरेटो बाटो, त्यो पनि हिलाम्य र धुलाम्य ।

अहिलेको तुलनामा त्यतिबेला पनि कोठाभाडा महँगै हो । किनकी एउटा कोठाको भाडा मासिक करिब पाँच सय रुपैयाँ तिर्नुपथ्र्यो । त्यतिबेला एउटा लैनो भैँसीको मूल्य १० हजार रुपैयाँ हराहारी थियो । अहिले डेढ लाख रुपैयाँ पर्छ । त्यतिबेला पहाडका मान्छे काठमाडौंमा आइए पढ्न आउँदा अधिकांशले खर्च जुटाउने भनेको भैँसी बेचेर नै हो । किनकी आम्दानीको अरू स्रोत हुँदैनथ्यो । जागिर खाने ठाउँ अत्यन्त सीमित थियो । जागिरेहरूको तलब पनि थोरै थियो । शाखा अधिकृत स्तरको कर्मचारीको तलब मासिक १३ सय रुपैयाँ थियो । जसमध्ये पाँच सय रुपैयाँ त कोठा भाडामै खर्च हुन्थ्यो । तर कर्मचारीहरूको अनुहार अहिलेकोजस्तो अँधेरो र रिसाहा हुँदैनथ्यो । उनीहरू खुसी नै देखिन्थे । छोराछोरी सरकारी स्कुलमै पढाउने चलन भएका कारण कर्मचारीहरूको खर्च पनि सानो थियो । कोही कोही कर्मचारीले हो त्यतिबेला दुई वटा कोठा लिएर बस्ने तर अधिकांश कर्मचारीहरू एउटै कोठा लिएर परिवारसहित बस्ने गर्थे । विद्यार्थीहरू भने एउटा कोठामा तीन जना बस्ने चलन थियो ।

खाना पकाउनका लागि अहिलेकोजस्तो ग्याँसको चलन थिएन । मट्टितेलबाट चल्ने स्टोभको चलन थियो । प्रतिलिटर आठ रुपैयाँमा मट्टितेल पाइन्थ्यो । महिनाको १० लिटर मट्टितेलले तीन जना विद्यार्थी बस्ने कोठाको भान्सा धानिन्थ्यो । बोइलर कुखुराको चलन नआइसकेका कारण अहिलेको जस्तो एक दिन बिराएर मासु खान पाउने अवस्था थिएन । मासुका लागि त चाडपर्व नै पर्खनुपथ्र्यो । बिहान झिसमिसेमै उठेर आधा घण्टा लाइनमा नबस्नेले दूध किनेर खान पाउने अवस्था थिएन । कसैले फलफूल किनेको देखेपछि ‘तपाईंको घरमा को बिरामी छ ?’ भनेर सोध्ने चलन थियो ।

एक–दुई दिन बिराएर हुलाक कार्यालयमा पुग्ने चलन थियो । लमजुङबाट पठाइएको चिठी साधारण छ भने ११ दिनमा हात पथ्र्यो, रजिस्टर गरिएको छ भने चार दिनमै हात पथ्र्यो । घरमा खबर आदानप्रदान गर्ने अरू माध्यम थिएन । काठमाडौं उपत्यकाभित्र भने धनीमानी, साहुमहाजन, उच्चपदस्थ कर्मचारी तथा रापंससम्मका जनप्रतिनिधिहरूको घरमा टेलिफोन हुन्थ्यो । राजधानी काठमाडौंका हुनेखानेले घरमा भरखर भरखर टेलिभिजन राख्न थालेका थिए । हुनेखानेको घरमा डेरा लिएर बस्न पाउने विद्यार्थी भाग्यमानीमा गनिन्थे, किनकी उनीहरूले बेलुका आठ बजेको समाचार हेर्ने मौका पाउँथे । साताको एक दिन प्रसारण हुने धारावाहिक रामायण हेर्न पनि उनीहरूले पाउँथे ।

बानेश्वका बासिन्दालाई नक्सालका बासिन्दाले काँठे भनेर हेप्थे । धर्मस्थलीका बासिन्दाहरूले भरखर भरखर नयाँ बजार र म्हैपीतिर घडेरी किन्न थालेका थिए । काठमाडौंको चक्रपथमा आधा घण्टा उभिएपछि मात्रै गाडी आएको देखिन्थ्यो । चक्रपथ बाहिरका बासिन्दालाई काँठे र उपत्यका बाहिरकालाई पाखे भनेर हेप्ने चलन थियो ।

२०४६ सालको नेपाल

काठमाडौं बाहिर पनि पोखरा, विराटनर, जनकपुर, नेपालगन्ज लगायतका क्षेत्र सहरीकरण भइसकेका थिए । बिजुली बत्ती तथा घरघरमा खानेपानीको सुविधा यी क्षेत्रमा पनि पुगिसकेको थियो । तर, काठमाडौंमा बसेको ब्यक्ति गाउँ फर्कंदा बेग्ले सान हुन्थ्यो । राजाका गाउँमा बसेको मान्छे भनिन्थ्यो । हुने खानेहरूले मर्नुभन्दा पहिले एकपटक पशुपतिनाथको दर्शन गरी सहर हेर्ने धोको राख्थे । नेपाल भनेकै काठमाडौं भन्ने मानसिकता थियो । विकास पनि यतै रानीपोखरी वरपर अलमलिएको थियोे । हुन पनि अहिले दुई घण्टामै पुगिने रामेछाप जान त्यतिबेला कम्तिमा पनि दुई दिन लाग्थ्यो ।

देशमा यति धेरै विविधता छ भन्नेबारे पढेलेखेकालाई मात्रै थाहा थियो । तर, पढेलेखेका मान्छे अत्यन्त थोरै थिए । किनकी जम्मा ३५ प्रतिशत नेपाली साक्षर थिए । बाँकी सबै नेपाली निरक्षर थिए । प्राथमिकतहका स्कुल प्रायः गाउँगाउँमा पुगिसकेका थिए । तर, कक्षा ५ पास गरेपछि धेरैजसो विद्यार्थी डेरा लिएर पढ्न बस्न बाध्य थिए । पाँच कक्षादेखि माथि पढ्दा शुल्क तिर्नुपथ्र्यो । मासिक शुल्क कक्षा हेरी २० देखि २० रुपैयाँसम्म थियो । त्यतिबेला एउटा खेतालाको एक दिन काम गरेको ज्याला १५ रुपैँया थियो । त्यसैले धेरैजसोले आफ्ना छोराछोरीलाई पाँच कक्षाभन्दा माथि पढाउन सक्दैनथे । ४४ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए । चिठीबाहेक सञ्चारको साधन थिएन, तर अधिकांश गाउँमा चिठी पढ्न र लेख्न जान्नेहरूको अभाव थियो । एउटा चिठी पढिदिए वापत पेटभरी सेलरोटी खुवाउनुपर्ने र एउटा चिठी लेखिदिए वापत पेटभरी सेलरोटीको अलवा दिनभरी उसकहाँ खेताला जानुपर्ने चलन थियो ।

बिजुली बत्ती त कुन चराको नाम हो ? थाहै थिएन । हुने खानेले मट्टीतेल प्रयोग हुने टुकी तथा लालटिन बाल्थे, नहुनेहरू साँझ नपर्दै खाना खान्थे, अनि सुतिहाल्थे । हिउँदका दिनमा साँझ ६ बजेदेखि र वर्षाका दिनमा ८ बजेदेखि गाउँ घर निदाइसकेको हुन्थ्यो । पहाडमा एक गाग्री पानी बोकेर ल्याउन आधा दिनसम्म हिँड्नुपथ्र्यो । कुनै विकट पहाडमा पानी यति बहुमूल्य मानिन्थ्यो कि जसले गाग्री बोकेर ल्याएको हो उनै छोरी या बुहारीको पेवा मानिन्थ्यो, र पानी कसलाई दिने कसलाई नदिनेमा उनकै खटन चल्थ्यो । मधेसमा हातेकल र इनारले अलि सहज बनाएको थियोे ।


पहाडमा गाउँघरतिर त परै जाओस् धेरैजसो जिल्ला सदरकुमामा बस्नेहरूले समेत गाडी देख्न पाएका थिएनन् । धेरैजसो जिल्ला सदरमुकामबाट गाडी चढ्ने ठाउँसम्म पुग्न एकदेखि ११ दिनसम्म पैदल हिँड्नुपथ्र्यो । सबैभन्दा कहालीलाग्दो अवस्था बिरामी हुँदा र दुर्घटनामा पर्दा हुन्थ्यो । अस्पतालको भनेको के हो ? थाहै थिएन । त्यतिबेला नेपालभरी डाक्टरहरूको संख्या करिब तीन सय थियो, तर, सबैजसो काठमाडौंमा केन्द्र्रित थिए । काठमाडौं बाहिरका ठूला सहरहरूमा फाट्टफुट्ट डाक्टर हुन्थे ।

बिरामी हुँदा धामी, झाक्रीको भर पर्नुपर्ने अवस्था थियो । झाडापखाला लाग्दा, रुखबाट वा भिरबाट लडेर घाइते हुँदासमेत झारफुक गरिन्थ्यो । बिरामीलाई अली व्यथाले च्यापे पछि राम–राम, हरि–हरि, कृष्ण–कृष्ण भन्दै मर्ने दिन कुरेर बस्ने चलन थियो । ६० वर्ष कटेका मान्छे देख्न मुस्किल पथ्र्यो । ४० वर्ष कटेपछि बुढा हुन र रोग लागेर मर्न थाल्थे । त्यतिबेला नेपालीको औषत आयु ३९ वर्ष थियो । एक दम्पत्तिले ८–१० जना छोराछोरी जन्माउनु सामान्य थियो । तर, ती मध्ये आधाजसो पाँच वर्ष नपुग्दै मरिसक्थे । सुत्केरी हुने क्रममा मर्ने महिलाहरूको संख्या उल्लेख्य थियो ।


केही सहरियाहरूसमेत दिसापिसाब गर्न सडक छेउमा बस्थे । लजालुहरू (खासगरी चेलीबेटी) कोठाभित्रै गरेर झ्यालबाट सडकमा दिसापिसाब फ्याँक्थे । अलि सौखिन धनाढ्यहरूले आफ्नो कम्पाउन्डमा खनेको खुला खाल्डो प्रयोग गर्थे । पहाड र मधेसका गाउँमा बारी, खेत, जंगलमा खुलारूपमा मलमूत्र त्याग गरिन्थ्यो । यसमा खासगरी स्त्रीजातिलाई ज्यादै सकस हुन्थ्यो । दिसापिसाबपछि हात धुनका लागि माटो र पानी प्रयोग हुन्थ्यो । सफाइको कमीले धेरै रोग लाग्थे ।

करिब पाँच प्रतिशतले मात्रै टालो नहालेका र अलि सुकिला लुगा लाउँथे । सबैजसो गाउँलेहरूका लुगा मैला, झुत्रा, टालेका हुन्थे । सहर र जिल्लाका केन्द्रमा बाहेक साबुन पाइन्नथ्यो । कपडा खरानीमा पकाएर ढुंगामा पछारेर धोइन्थ्यो । पानी मात्र खन्याएर नुहाउने चलन थियो । प्रायः सबै जना खाली खुट्टा हिँड्थे, अलि सौखिनले सार्कीले सिएको छालाको जुत्ता लगाउँथे ।

गाउँमा पसल हुँदैनथे । चिया के हो, चिनी के हो थाहा थिएन । सक्खरबाट मिठाइ बनाउँथे । गाउँमा नुनबाहेक अरू किनेर खाने चलन थिएन, आफूले जे उब्जायो त्यही खाने हो तर सरसापट चल्थ्यो । वर्षको एकपटक नुन किन्न धेरै दिन पैदल हिँडेर मधेसका बजार जाने चलन थियो ।

अहिलेको नेपाल

निरंकुश राजाले सक्रिय नेतृत्व गरेको पञ्चायती शासन ढालिएको पनि ३५ वर्ष नाघेको छ । गणतन्त्र स्थापना भएको पनि १५ वर्ष नाघिसकेको छ । तर, नेपाल र नेपालीको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिड हेर्ने हो भने नेपाल केही वर्षभित्रै रित्तिने पो हो कि ? भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ ।

देशको वैदेशिक तथा आन्तरिक ऋणको बढ्दो आँकडा हेर्ने हो भने नेपाल केही वर्षभित्रै आर्थिक रूपमा टाट पल्टने पो हो कि ? भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । देशको आम्दानीले कर्मचारीको तलब भत्ता पुग्दैन, तर कर्मचारीहरू आफ्नो सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । घरपायक स्थायी सरकारी जागिर छाडेर दलाललाई पौने करोडसम्म बुझाई तल्लोबाटोबाट अमेरिका जाने कर्मचारीहरूको संख्या उल्लेख्य छ । सेना र प्रहरीको जागिर छाडेर युद्धरत रसियन सेनामा भर्ती हुन जानेहरूको ताँती छ ।

कृषिप्रधान भनिने देशमा वर्षको करिब चार खर्ब रुपैयाँ बराबरको कृषि तथा वनजन्य बस्तुको आयात हुन्छ, तर नेपाली किसानहरू आफ्नो कृषिउपज बिक्री नभएर हैरान छन् । निजी क्षेत्रका श्रमिकहरूको कुरा गर्ने हो भने सरकारले तोकेको न्यूनतम ज्याला नै मासिक १५ हजार रुपैयाँ हो ।

यो रकम भनेको गरिबीको रेखामुनि रहेका नेपालीले गर्ने औषत कमाइ हो । त्यसमा पनि न्यूनतम ज्यालामा काम लगाउनसमेत रोजगारदाता तयार छैनन् । व्यापार व्यवसायको कुरा गर्ने हो भने राजधानी काठमाडौंमै करिब २० प्रतिशत सटर खाली भइसकेका छन् । ठगी, लुटपाट तथा महँगीले आकाश छोएको छ । मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडितलगायत पीडितै पीडितको भिड बढेको छ । दण्डहीनता बढेर गएको छ । यी आँकडाहरू विश्लेषण गर्ने हो भने देश तीव्र रूपमा ओरालो गतिमा छ ।

तर, देशले प्रगति नै गरेको छैन भन्न पनि मिल्ने अवस्था छैन । संयुक्त राष्ट्र संघले गर्ने मानव विकासको अध्ययनमा नेपालको प्रगति सन्तोषजनक छैन भन्न मिल्दैन । नेपालीको शैक्षिक स्तरमा व्यापक सुधार भएको छ । औषत आम्दानी बढेको छ । औषत आयु बढेको छ ।

अध्ययन गरिएका १ सय ९३ देशमध्ये नेपाल १४६औँ स्थानमा रहेको छ । तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो । नांगो आँखाले हेर्दा पनि पक्की घरहरूको संख्या वृद्धि भएको छ । खानेपानीको, बिजुलीको, सञ्चारको सुविधा ९० प्रतिशतभन्दा बढी नेपालीको घरमा पुगेको देखिन्छ । वर्षको करिब ३० अर्ब रुपैयाँको त मोबाइल टेलिफोन सेट नै आयात हुने गरेको तथ्यांक छ । भौतिक पूर्वाधार निर्माणको गति तीव्र छैन, तर पछिल्ला १० वर्षमा उल्लेख गर्नलायक केही भौतिक पूर्वाधार निर्माण भएका छन् । चतरादेखि हेटौंडासम्मको ३ सय १८ किलोमिटर सडक सञ्चालनमा आएसँगै, रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै मधेस बन्दको धम्की समाप्त भएको छ ।

सञ्चालनमा अवरोध उत्पन्न हुनु छुट्टै पाटो हो, तर पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनेका छन् । राज्यकै लगानीमा ५० वटाभन्दा बढी सानाठूला जलविद्युत् आयोजना निर्माण भएका छन् । सिमेन्ट, प्लाइउड, बिजुलीलगायत स्वदेशी स्रोतबाट उत्पादित बस्तुहरूको निर्यात बढ्न थालेको छ । विदेशमा गएका कतिपय नेपालीहरू अर्बपति बनेर स्वदेशमा लगानी भित्र्याउन थालेका छन् । विदेशमा सिकेको सीप र प्रवधि स्वदेशमा उपयोग गर्ने उद्देश्यले फर्कनेहरूको संख्या पनि वृद्धि हुन थालेको छ ।

यथार्थता के हो भने निराश हुनुपर्ने अवस्था छैन, तर जनता निराश नै हुनुपर्ने गरी सन्देश प्रवाह गरिएको छ । यो सन्देशले जनताको मन विचिलत भएको छ । देश बन्दै होइन, बिग्रँदै छ भन्ने सन्देश प्रवाह गरिएकै कारण युवाहरू बिदेसिने क्रम बढेको हो । जनतामा निराशा उत्पन्न गराउने काम राजनीतिकदलहरूले आफ्नो स्वार्थका लागि गरेका हुन् । तर, यसको मारमा देश नै परेको छ ।

भोट बटुल्न र सत्तामा जानका लागि जे पनि भन्न र जे पनि गर्न दल तथा राजनीतिकर्मीहरू तयार छन् । जनतामा असीमित महत्वकांक्षा जगाउने काम दल तथा राजनीतिकर्मीहरूले नै गरेका हुन् । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको भूपरिवेष्टित देशका निश्चित वाध्यताहरू छन् । यी वाध्यताका बारेमा जनतालाई सचेत बनाउनुको सट्टा पाँच वर्षभित्र सिंगापुर बनाइदिन्छु भन्दै भाषण गर्ने नेता मुख्य दोषी हुन् । भविष्य असुरक्षित छ भन्ने लाग्यो भने मान्छेलाई जे जसरी भए पनि छिटो सम्पत्ति जम्मा गर्ने भोक जाग्छ । यही भोकले ठगी र भ्रष्टाचार बढाउँछ । अहिले नेपालमा यस्तै भइरहेको छ ।

प्रतिक्रिया