सुर्ती खेतीतर्फ आकर्षित हुँदै रौतहटका किसान

मधेस ब्युरो । पछिल्लो समय रौतहटका किसान सुर्ती खेतीतर्फ आकर्षित भएका छन् । उखुको विकल्पमा नगदे बालीको रूपमा यहाँका किसान पछिल्लो दिनमा सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् । यहाँको माटो र वातावरण पनि सुर्ती खेतीका लागि उपयुक्त मानिन्छ । रौतहटको गुजरा नगरपालिका–१ रंगपुर लगायतको क्षेत्रका किसानले सयौँ बिघा जमिनमा सुर्ती खेती गरेका छन् । सुर्ती खेतीले राम्रो आम्दानी दिन थालेपछि किसानहरू आकर्षित भएका हुन् । खेती गर्नका लागि पहिले नै रकम उपलब्ध हुने तथा उत्पादन भएको सुर्ती तुरुन्त बिक्री हुने भएकोले किसानलाई सुर्ती उत्पादनमा सहज भएको हो ।

रंगपुरका सुर्ती किसान अनुप चौधरीले उत्पादन गर्न सजिलो र उत्पादन गरेपछि बिक्री गर्न कुनै झन्झट नभएकोले किसानले सुर्ती खेती बिस्तार गर्दै लगेको बताए । सुर्ती खेतीका लागि बाराको सिमरामा रहेको सूर्य नेपाल कम्पनीले किसानलाई पहिले नै लागत रकम उपलब्ध गराउँदै आएको छ । खेती गर्नकै लागि रकम प्राप्त भएपछि किसानहरूलाई आफ्नो खेतमा सुर्ती रोप्न कुनै लगानी नपर्ने र उत्पादन हुनासाथ आवश्यकताअनुसार कम्पनीले किसानको सुर्ती किनेर लैजाने गरेकोले सुर्ती किसानलाई फाइदा हुने गरेको अनुप चौधरीको भनाइ छ ।

स्थानीय ताराकान्त चौधरीले सुर्ती खेती गरेर किसानलाई राम्रो आम्दानी हुने गरेको बताए । पहिले नै कम्पनीले खेती गर्न पैसा दिने तथा उत्पादन भएको सुर्ती किन्ने बेलामा प्रचलित मूल्यअनुसार कम्पनीले सुर्ती खरिद गरेर पहिले दिएको पैसा काटेर बाँकी रकम तत्काल भुक्तानी दिने गरेको बताउँदै चौधरीले भने, ‘उत्पादन अनुसार सुर्तीबाट राम्रो आम्दानी हुने गरेको छ न खेती लगाउने खर्चको चिन्ता न बजारको ।’

सुर्ती खेतीबाट प्रतिकठ्ठा ७ देखि १२ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किसानहरूको भनाइ छ । सबै उत्पादन खर्च काटेर औसतमा ९–१० हजार रुपैयाँ किसानलाई फाइदा हुने हुँदा जोखिमकै भए पनि किसानले सुर्ती खेती गरिरहेको बताए । सुर्ती खेती गर्दा गन्धबाट बच्न किसानहरूले मुख र नाक छोप्ने गरी मास्क तथा मुखमा गम्छा लगाउने गरेका छन् । सुर्तीको जोखिमबाट सम्भव भएसम्म जोगिँदै किसानहरूले खेतीबाट राम्रो आय आर्जन गरिरहेका छन् ।

स्थानीय तिलाई चौधरीले सुर्ती खेती गर्दा, पात टिपेर सुकाउँदा र भन्डारण गर्दासम्म जति परिश्रम र लागत लाग्छ, बिक्री भएर हातमा रकम पर्दा त्यत्तिकै खुसी लाग्ने गरेको बताए । सुर्ती खेतीमा लागत र मिहिनेतको आधारमा आय आर्जन हुने गरेको बताउँदै चौधरीले भने, ‘कहिलेकाहीँ सुर्ती खेतीमा रोग र किराले आक्रमण गर्ने गर्छ । यसैगरी धेरै सुक्खा हुँदा उत्पादनमा केही कमी आउने गरेको छ’, उनले भने, ‘रोग र किराको उपचार गर्न तथा सिँचाइको सुविधा उपलब्ध हुन सकेकोले हामीले ढुक्कले लगानी गर्ने गरेका छौँ ।’ सुर्ती खेतीबाट भएको आम्दानी देखेर गाउँका सारा किसान सुर्ती खेतीतिर आकर्षित भएका छन् ।

खेतमा सुर्तीको पात लहलहाउँदा कतिपय किसानले व्यंग्य गर्दे भन्ने गर्छन्, ‘सुर्तीको पात होइन, पैसाको पात लहलहाइरहेका छन् ।’ सुर्तीले किसानको सफलता हेर्न रौतहटको रंगपुरका फाँटमा अन्य स्थानका मानिसहरू पुग्ने गरेका छन् । यस क्षेत्रका किसानले लामो समय नगदे बालीका रूपमा उखु खेती गर्दै आएका थिए । तर, पछिल्लो समय चिनी मिल बन्द हुँदै गएका कारण र किसानले उखुको पैसा नपाएपछि उखु खेती छाड्दै सुर्ती खेती गर्न थालेका छन् । सुर्ती खेती यहाँका किसानका लागि यति बेला भरपर्दो नगदे बाली बनेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया