सांसद गिरीलाई हटाउने पत्र प्रदेशसभा सचिवालयमा दर्ता

फुटको संघारमा नाउपा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिन र नदिन गरी दुईथरी ह्विपपछि नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारकी राज्यमन्त्री रहेकी समानुपातिक प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेशसभालाई पत्राचार गरेकी छिन् । पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जबाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । टीकापुर नगरपालिकाका मेयर रहेका नाउपा केन्द्रीय सदस्य रामलाल डगौरा थारुले सचिवालय पुगेर पत्र दर्ता गराएका हुन् । गिरिलाई निष्कासन गरेर अर्को सदस्य सिफारिसको तयारी रञ्जिताको छ । आफ्नो सरकार जोगाउन सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

यसअघि अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको निर्देशनको काउन्टरमा प्रदेशका प्रमुख सचेतकले विश्वासको मत दिन ह्विप जारी गरेका थिए । अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेशसभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न काउन्टर ह्विप जारी गरेका हुन् ।

सचेतक डगौराले जारी गरेको ह्विपमा विश्वासको मत दिने बैठकमा अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भन्दै विश्वासको मतको पक्षमा मतदान गर्न राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन जारी गरेका थिए । यसअघि अध्यक्ष रञ्जिताले संसदीय दलको विधान बनिनसकेकाले ह्विप जारी गर्ने अधिकार पार्टी अध्यक्षलाई भएको भन्दै विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया