६७औँ राष्ट्रिय सहकारी दिवस : पाँचथरमा सहकारी र कर्मचारीलाई सम्मान

पाँचथर । ६७औँ राष्ट्रिय सहकारी दिवस मंगलबार फिदिममा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीमा ‘सुशासन प्रविधि र एकिकरण’ भन्ने मुल नाराका बीच फिदिम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । फिदिम नगरपालिका सहकारी शाखाको आयोजना र पाँचथर जिल्ला सहकारी संघको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा फिदिम नगरपालिकाले कृषि क्षेत्रमा उत्कृष्ट सहकारीको रुपमा कालिका कृषी सहकारी संस्था फिदिम ७ रानीटार र बचत तथा ऋणको कारोबार तर्फ विश्वज्योती बचत तथा ऋण सहकारी संस्था फिदिम १ पाँचथरलाई सम्मान गरेको छ । यसैगरी पाँचथर जिल्ला सहकारी संघले जिल्लामै महिलाद्धारा सञ्चालित उद्यमशील महिला बहुउद्देश्यीय सहकारी संस्था फाल्गुनन्द ५ पाँचथरलाई सम्मान गरिएको छ ।

यसैगरी सफल सञ्चालकको रुपमा विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद ओझा, उत्कृष्ट व्यवस्थापकमा हातेमालो कृषि सहकारी संस्था फिदिम १ का व्यवस्थापक पुनम तामाङ र कर्मचारीमा कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्था फिदिम १ का लेखापाल रोसन प्रकास अर्याललाई पाँचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझाले सम्मान पत्र दिएर सम्मान गरे ।

उक्त कार्यक्रममा संघका अध्यक्ष ओझाले सहकारीको अवस्थामा सहकारीका चुनौती विषयमा कार्य पत्र प्रस्तुत गरेका थिए । सो कार्य पत्रका विषयमा फिदिम नगरपालिकाको सहकारी शाखा प्रमुख सरस्वती शिवाकोटी ओझाले टिप्पणी गरेकी थिइन । सहकारीका पदाधिकारीहरुले सो अवसरमा राज्यमा सहकारीले गरेको योगदानका विषयमा चर्चा गर्दै राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी सहकारीको विकास र समृद्धिका लागि लगानी गर्नु पर्नेमा जोड दिएका थिए ।

वक्ताहरुले सो अवसरमा राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीले ठुलो योगदान गरेको कुरा उल्लेख गर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यस्ता सहकारीहरूको विकासका लागि लगानी गर्नु पर्ने सुझाव राखे । सहकारी संघका जिल्ला अध्यक्ष रेणुप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाका सह–सचिव खड्क बोहोराले सहजीकरण गरेका थिए।

प्रतिक्रिया