ट्रम्पले पाए राहत

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा केही राहत मिलेको छ । न्युयोर्कमा नागरिक ठगी मुद्दामा उनले १० दिनभित्र १७ करोड ५० लाख डलर मात्रै जरिवाना तिरे पुग्ने भएको हो । यसअघि भने न्यायाधीशले ट्रम्प र उनका छोराहरूलाई ४६ करोड ४० लाख डलर तिर्न आदेश दिएका थिए । फेब्रुअरीमा ट्रम्पले आफ्नो सम्पत्तिको मूल्य जानी जानी बढाइचढाई गरेको पाइएको थियो ।

फेब्रुअरीमा न्युयोर्कको एक अदालतले नागरिक ठगी मामिलामा ट्रम्पलाई ३५ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको थियो । पछि यो रकम बढर ४५ करोड ४० लाख डलरमा पुगेको हो । अदालतले ट्रम्प र उनका छोराहरूलाई सजाय र जरिवाना पनि लगाएको थियो । अदालतले यति ठुलो रकम जरिवाना तिर्न दिएको आदेशविरुद्ध ट्रम्प पुनरावेदन अदालतमा गएका थिए ।

गएको साता न्युयोर्कको पुनरावेदन अदालतले जरिवानाको रकम ४५ करोड ४० लाख डलर घटाएर १७ करोड ५० लाख डलरमा झारिदियो । यो रकम बुझाउन अदालतले ट्रम्पलाई १० दिनको म्याद दिएको छ ।

तथापि ट्रम्पले जरिवाना रकम एकमुष्ठ तिर्नुपर्ने हो कि किस्तामा भन्नेचाहिँ स्पष्ट भइसकेको छैन । अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार ट्रम्पको नेटवर्थ ५ अर्ब ७० करोड डलर आसपास छ । ट्रम्पसँग ४० करोडदेखि ५० करोड डलर बराबरको नगद भएको बताइएको छ ।

प्रतिक्रिया