मलामी हिँड्ने भिरको बाटो पिसिसी गरिँदै

कालिकोट । खाँडाचक्र नगरपालिका–५ मा मलामी हिँड्ने बाटो पिपिसी गरिँदै छ । मुख्यमन्त्री रोजगारबाट १५ लाख, युवा रोजगारबाट १८ लाख र खाँडाचक्र नगरपालिकाको साझेदारीबाट सात लाख गरी ४० लाख लागतमा बाटो पिपिसी गर्न थालिएको हो । खाँडाचक्र नगरपालिकाको ठुलाखोला हुँदै लासी चिहानघाटसम्म घोरेटो बाटो निर्माण भइरहेको छ । भौगोलिक कठिनाइका कारण भिरको बाटोबाट मलामी जानुपर्ने समस्या टरेकोमा स्थानीय दानबहादुर कार्कीले खुसी व्यक्त गर्दै भने, ‘खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका यात्रा गर्नेलाई समस्या थियो, कृषि खेती गर्ने किसानलाई ठूलो सास्ती थियो, अहिले बाटो पिपिसी हुँदा सबैलाई सहज भएको छ ।’

बाटो पिपिसी हुन लागेको बारेमा खुसी हुँदै स्थानीय मनविरे कामीले भने, ‘पहिला भिरको बाटोहुँदै मलामी जाँदा चोटपटक लाग्थ्यो, लास घाटसम्म पु¥याउन कठिन हुन्थ्यो अहिले बाटो बन्दा मलामी जानदेखि लिएर अन्य कामकाजका लागि लासीतिर जानेलाई सहज भएको छ ।’
विकट कालिकोट जिल्लाभित्रका बाटोहरू जोखिमपूर्ण थिए । स्थानीय सरकार आएदेखि सरकारको पहलबाट सडक, खानेपानी, विद्युत्, शिक्षालगायत अन्य सुविधा गाउँमै आउँदा सरकार आएको अनुभूति भएको मनविरे कामीले बताए ।

खाँडाचक्र नगरपालिका रोजगार संयोजक बलबहादुर शाहीका अनुसार ठूलाखोला हँुदै लासी चिहानघाटसम्म २ हजार ३ सय मिटरको बाटो छ । यस क्षेत्रमा बाटो पिपिसी हुँदा यहाँका नागरिकहरूलाई धेरै सहजता भएको रोजगार संयोजक शाहीले बताए ।

खाँडाचक्र नगरपालिका–५ का वडा अध्यक्ष देउराम विश्वकर्माका अनुसार मुख्यमन्त्री रोजगारबाट ७ सय ५० मिटर, युवा रोजगार र खाँडाचक्र नगरपालिका तथा वडाको साझेदारीमा १ हजार ७ सय मिटर बाटो बनाउने भएको छ । थुप्रै चुनौती र पहलको माध्ययमबाट बाटो बन्न सफल भएको अध्यक्ष विश्वकर्माको दावी छ । खाँडाचक्र नगरपालिका–५ का घोडेना, विउरी, कार्कीवाडा, ढाडगाउँ, गारुवा, सालीमवाडाका नागरिकलाई मलामी जान तथा नदी किनारातिर तरकारी खेती गर्ने नागरिकलाई सहज भएको छ । तरकारी उत्पादन गरी बजारीकरण गर्नमा यस बाटोले सहज गराएको विश्वर्माको भनाइ छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया