नेपालले भारतको बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपाले आफ्नो दोस्रो खेल भारतको बरोडा क्लवलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएर बरोडालाई १५७ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे । सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रनआउट भए । एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौँ विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिलकुमार साह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

बरोडाका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा आइतबार गुजरातको स्टेट टोलीलाई आठ विकेटले हराएको थियो । त्यसैगरी गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो ।

नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ भने शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया